सुवास मल्ल
मानव विकास क्रममा मानव समुदाय आज जस्तो कृतघ्न कहिल्यै थिएन । आफूलाई सहयोग गर्नेको गुन बिर्सेर त्यसलाई लत्याउने र आफ्नो स्वार्थ सिद्धताको हिसाब किताब गरेर मात्र हरेक सम्बन्धहरुलाई हेर्ने काम मानिसले गर्न थालेको धेरै भएको छैन । मानव समाजको विकासक्रमको एक समय मानिसहरु आफ्ना सहयोगीहरुलाई देवता मान्थे र पुजा गर्दथे । यही क्रममा अन्य धर्ममा जस्तै हिन्दु धर्ममा पनि आगो, पानी, सूर्य, हावा जस्ता मानव जीवनका अत्यावश्यक तत्वहरुलाई भगवानको अवतारका रुपमा स्विकार गरी पुजा गर्ने संस्कारको थालनी भयो । त्यस्तै मानव स्वास्थ्यका लागि हितकर ठानिएका वर, पिपल, तुलसी जस्ता वनस्पतिहरुलाई पनि पुजा गर्ने चलन हिन्दु संस्कृतिमा छदैँछ । यो आलेख लेखिरहँदा मैले अन्य धर्म तथा संस्कृतिमा यस्तो केही पनि छैन भन्न खोजेको विल्कुल होइन । मेरो अभिप्राय त खाली मानव समुदायमा कृतघ्नताको कालो धब्बा सधैँ थिएन भन्न मात्र खोजेको हो । साँच्चै भन्ने हो भने त मानव समुदायको शुरुवातमा सबै मानिसहरु प्रकृतिपुजक थिए र पछि मात्र विभिन्न धर्मले त्यसैलाई धार्मिक रंग दिएको हो ।
प्रकृतिलाई मात्र होइन मानवले आफ्नो जीवनमा रोशनी छर्नेहरुलाई पनि कहिल्यै बिर्सेन । जन्म दिने आमा, बाबु र शिक्षा दिक्षा दिने गुरुहरुलाई पनि भगवानको समरुपमा मान्ने संस्कारका रुपमा हिन्दु धर्ममा मातातिर्थ तथा कुशे औँशी र गुरु पूर्णिमाको विकास भएको पाइन्छ । त्यति मात्र होइन घरको शोभा बढाइदिने अतिथीलाई देवता समान र आफ्नो जन्मभूमिलाई स्वर्ग समान सम्मान दिने चलन पनि मानव समुदायले विकास गरेकै हो ।
यही कृतज्ञता प्रदर्शनको पर्वका रुपमा हिन्दु धर्ममा तिहारलाई पनि धुमधामका साथ मनाउने चलन छ । सञ्चार बाहकका रुपमा काग, गृह रक्षकको रुपमा कुकुर, दुधको उत्पादकको रुपमा गाई, कृषि पेशाको सहयोगीका रुपमा गोरु तथा भातृत्वको प्रदर्शनका रुपमा दाजुभाइको पुजा गर्ने संस्कारलाई हिन्दुहरुले तिहारको रुपमा मनाउने गर्दछन् ।
तिहारको परिवेश
मानव समुदायमा प्रचलित विभिन्न पर्वहरुजस्तै यो पर्वको पनि सुत्रपात कृषि युगमा नै भएको हो । विज्ञान र प्रविधिको विकासको सुरुवात भइनसकेको बेला मानिसहरुले विभिन्न प्राणीहरुबाट आफ्नो कामका लागि सहयोग लिने गर्थे । त्यस कै कृतज्ञता प्रदर्शन तथा भातृत्व भावना विकासको सन्दर्भमा तिहारको शुरुवात भएको प्रष्ट हुन्छ । भलै तिहारका सन्दर्भमा हिन्दु धर्ममा यमराज र यमुनाको कथा जोडिएको किन नहोस्, त्यो महत्वपूर्ण कुरा होइन । कथा त जे जोड्दा पनि हुन्छ, तर त्यसको पछाडीको कारणहरुलाई भने हामीले भुल्नु हुदैँन । एउटै चाड दशैँ मनाउनुका पछाडी पनि एउटै कथा प्रधान रुपमा आएको छैन ।
तिहारको सन्दर्भसँग यी प्राणी पुजाको मात्र संस्कार जोडिएको छैन, यससँगै भैली र देउसीको पनि चलन अविभाज्य बनेर आउँछ । कृषि पेशाबाट विश्राम लिएर केही क्षण आराम गर्ने यो मेसोमा यस्ता मनोरञ्जनात्मक संस्कृतिहरुले तिहार लगत्तै मंसिरमा बाली भित्राउने बेलाका लागि मानिसहरुलाई तयार राख्न पनि उत्तिकै पुनर्ताजगी (च्भाचभकजmभत)को काम गथ्र्याे । मंसिरको मेलो राम्रोसँग धान्न मानिसहरुलाई उत्साही बनाउन तिहारमा यस्ता संस्कृतिहरु समेटिएको हुनुपर्छ ।
आजको परिवेश र तिहारको रुपान्तरण
आज हामी विज्ञान र प्रविधिको चरम विकासको क्रमबाट गुज्रिरहेका छौँ । नेपालजस्तो गरिब र सुचना प्रविधिमा पछाडी परेको देशको सरकारी बजेटमा समेत ‘हात हातमा मोवाइल, घरघरमा इन्टरनेट’ को नाराले ठाउँ पाउन थालेको यो अवस्थालाई तिहारको उत्पत्ति ताकाको समयसँय तुलना गर्ने मुर्खता गर्न सायदै कोही तयार होला । तर आज पनि हामी उही चलनहरुलाई काँधमा बोकेर हिँडिरेहेका छाँै । ‘हात हातमा मोवाइल, घर घरमा इन्टरनेट’ को नारा बोकेर हिँड्ने अनि सञ्चारका सहयोगीका रुपमा कागको पुजा गर्ने संस्कार अबको युगमा ढोङ्ग शिवाय के हुन सक्छ ? सोही कोणबाट हामी कुकुर, गाई र गोरुलाई पनि हेर्न सक्छौँ ।
तिहारका प्रवर्तकहरुको पालामा यी प्राणीहरु मानवको सबैभन्दा ठूला सेवक थिए र तिनको गुन तिर्ने सन्दर्भमा यिनीहरुको पुजा थालियो । के अहिले पनि हाम्रो जीवनमा यिनीहरुको उस्तै स्थान छ त ? प्रश्न गरौँ र सत्य त्यहीँ प्राप्त हुनेछ । मैले यी प्राणीहरुका सन्दर्भमा यी पंक्तिहरु लेखिरहँदा यिनीहरुको उपयोगिता सकिएकाले अब यिनीहरुलाई कृतज्ञता प्रदर्शन गर्नु पर्दैन भन्ने अर्थ लगाउन खोजेको होइन । त्यो जमानामा मानिसहरुले कृतज्ञता प्रदर्शन गर्ने सबैभन्दा ठूलो माध्ययमका रुपमा पुजालाई प्रयोग गरेका थिए किनकी उनीहरुसँग अर्काे कुनै उपाय नै थिएन । तर आज कृतज्ञता प्रदर्शन गर्ने सयौँ तरिकाहरुको अगाडी उभिँदा तिहार जस्ता चाडहरुमा समयानुकुल रुपान्तरणको आबश्यकता महशुस हुन्छ ।
वर्ष भरि यिनै प्राणीहरुलाई एक रत्ती वास्ता नगर्ने र तिहारमा खोजी खोजी माला र टिका लगाइदिने ढोङ्गको बदलामा बरु यी प्राण्ीहरुको रक्षाका लागि काम गर्न सकिन्छ । हाम्रो वायुमण्डलमा रहेका विकिरणहरुलाई घटाउन तथा वातावरणको प्राकृतिक कुचिकारको भूमिका निर्वाह गर्न सहयोगी सिद्ध भएको काग तथा गिद्धहरुलाई जोगाउन हामीले विशेष अभियान संचालन गर्न सक्छौँ । कुकुरलाई रेविजमुक्त र स्वस्थ बनाउन भुस्याहा कुकुरहरुको समस्यालाई समाप्त गरी रेविज खोप कार्यक्रम चलाउन सक्छाँै । छाडा गाई र गोरुहरुको समस्या समाधान गर्न गाई तथा गोरुहरुको अन्य देश निर्यात गर्न सक्छौँ । कानुनी रुपमा पनि यी जनवारहरुको मासु विक्री खुला गर्नु वर्षमा एक दिन पुजा गर्ने र ३६४ दिन खाना पानी विना छाडा छाड्ने ढोङ्ग भन्दा उत्कृष्ट नै हुन्छ होला । कमसेकम मासु विक्रि कै लागि भए पनि मानिसले यिनीहरुलाई बाँचुञ्जेल राम्रोसँग त पाल्नेछन् ।
साथै सबैको भलो होस् भनेर खेलिनुपर्ने भौलीले गरेको कुभलो र देऊ श्री भनेर खेलिनु पर्ने देउसीले संचालन गर्ने देऊ सम्पत्ति आतंकको समेत हिसाब गर्नुपर्ने बेला सायद आइसकेको छ । खेतीको थकान मेटाउन तथा बाली भित्राउने बेलाका लागि पुनर्ताजगी गर्न मनोरञ्जनको दोस्रो विकल्प नभएको बेला चल्तिमा आएका यि प्रचलनहरुलाई हामी हरेक दिन मनोरञ्जनको अनेक विकल्पका माझ घेरिएर बसेको बेला पनि अझ विकृत रुपमा संचालन गर्नु आवश्यक छैन । बरु भातृत्वको सन्देशलाई अझ फराकिलो तहमा फैलाएर तिहार मनाउन सके मात्र तिहारको औचित्य पुष्टि हुन सक्छ ।
Published @ Vision Nepal 2068, Ashwin
No comments:
Post a Comment