झापडले नपुगेकै हो कामरेड

Monday, June 27, 2011
झापडले नपुगेकै हो कामरेड
सुवास मल्ल
अहिलेको राजनीतिक तरलताको लम्बेतान श्रंखलाले नेपाली जनतामा आक्रोशको स्तर निकै बढेको जो कोहिले महशुश गर्न सक्छन् । नेपाली जनताको त्याग र तपस्याको गठजोडबाट नै नेताहरुलाई अहिलेको पद र प्रतिष्ठा मिलेको हो । तर त्यसको बदलामा नेपाली जनताले शान्ति र संविधान पनि नपाउने खतरा दिनानुदिन बढ्दै गइरहेको छ । नेपाली जनताको सहिष्णुताको फाइदा उठाउँदै राजनीतिक दलका नेताहरु कुर्सीको दौडमा मस्त छन् ।
नेपाली जनताले आजसम्म राजनीतिक दलहरुको भ¥याङ्ग हुन निर्विकल्प स्विकार गरिरहे । जनताको लाश, खुन र आँशुको परिणाम स्वरुप नेताहरुलाई सत्ताको न्यानोपना मिलिनै रह्यो । तर के एक्काइसौँ शताब्दीका नेपाली जनता नेताका दास मात्र हुन् त ? होइनन्, नेताहरुले आफ्नो दिमाग भरि नेपाली जनतालाई दास देख्ने मनोवृत्ति राखे पनि नेपाली जनता आफँै मालिक बन्ने हैसियत राख्ने उच्च राजनीतिक प्राणी हो ।
बरु यो देशका सच्चा दास त यिनै नेताहरु हुन्, जसले जनताको निगाह नपाएसम्म कहिल्यै तलमाथि गर्न सकेका छैनन् । जनताले साथ नदिदाँसम्म न प्रथम न त दोस्रो जनआन्दोलन नै सफल भएको हो । त्यसबेला कोही जंगलमा त कोही भारतको कुन कुनामा लुकेर बसेका आज सत्ताको भागबण्डामा झगडाको बिऊ रोप्नेहरुले एक पटक सोच्नै पर्ने भएको छ, तिनीहरुलाई सत्ताको दाईँ हाल्न पठाउने जनताहरु नभएको भए के तिनीहरुको खुद्रा आन्दोलनहरु सुकेर जाने थिएन ? तिनीहरुको खुद्रा नाङ्लो पसललाई जनताको मण्डीले साथ नदिएको भए आज पनि सायद तिनीहरु पायल चप्पल पड्काउँदै रत्नपार्क कै बरिपरी दुई चार दर्जन कार्यकर्ताहरु सहित नारा लगाउने र फर्कने दिनचर्यामा सिमित रहन्थे होलान् । के तिनीहरुले बिर्से माओवादीले घोषणा गरेको तेस्रो जनआन्दोलन जनताको सख्त अस्विकृतिपछि कसरी तासको पत्तिसरी ढल्न पुग्यो ? अब नेताहरुले बुझ्नु जरुरी छ, साँढेहरुले जतिसुकै मेहेनत गरे पनि बाच्छा जन्माउन सक्दैनन्, बाच्छा जन्माउन त साँढेहरुलाई गाई कै साथ चाहिन्छ ।
नेपाली जनताका हरेक पुस्ताले नेताहरुलाई सत्ताको भ¥याङ्ग बनिदिए बापत केही मागेनन्, शिवाय शान्ति र अमनचयन । ठूला ठूला कुर्सीहरु तिनीहरुलाई भागबण्डा गरेर खाउ भनेर छाडिदिए । प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, राजदुत, उपकुलपति, प्रबन्ध निर्देशक सबै सबै बाँडिचुडी खाउ भनेर जनताहरुले मौन स्विकृति जनाइदिए । तर नेताहरु जंगलको स्यालभन्दा पनि बढि धुर्त निस्किए । यिनीहरुले माथिल्ला कुर्सीहरुको भागबण्डा गर्न जनताको करबाट आएको रकमले नेपालका नाम सुने जति सबै रिसोर्ट र होटलहरुमा वार्ता गरेर सके । यतिले मात्र नपुगेर भारत, हङ्गकङ्ग , बैङ्कक र कम्बोडिया पनि पुगे । अब नाम सुने जति सबै देशहरुमा वार्ता गर्ने सुरमा छन् क्यार । तर जहिल्यै पनि सहमतिका साथ अर्काे वार्तामा बस्ने बाहेकको कुनै सहमति हात लाग्दैन ।
बरु माथिल्ला तहमा भागबण्डा नमिले पछि नेताहरु मझौला कुर्सीहरुमा गिद्धेदृष्टि लगाइरहेकाछन् । कुनै एक पद रिक्त रहे त्यहाँ शैक्षिक योग्यताको प्रमाणपत्रको खात बोकेर सर्याैँ नेपाली शिक्षित बेरोजगारहरुको लाम लाग्छ । तर जागिर पाउने बेला पाँच घण्टा घाममा सेकिँदै लाममा उभिने प्रमाणपत्रहरु होइन नेताहरुको सबैभन्दा बलियो सिफरिसपत्र पेश गर्ने नेताको सालासाली, भतिजा भतिजी वा दासहरु त्यसका लागि योग्य ठहरिन्छन् । यस्ता दासहरुले चलाएको कर्मचारीतन्त्रले कसरी जनताको हित गर्नु ?
जनताले संविधान बनाउन दिएको समयले नपुगेर नेताहरुले थप एक वर्ष समय लिए । तर यो लिएको समयमा पनि संविधान बन्ने कुनै संकेत छैन । बरु उल्टै सत्ताको झिनाझम्टीमा नै यिनीहरु व्यस्त छन् । त्यसैले त देवीप्रसाद रेग्मीहरु झलनाथ खनाललाई झापड हान्न बाध्य हुन्छन् । तर नेताहरुले बुझ्नु पर्छ यो त प्रथम पाइला मात्र हो, जनआक्रोशको । यो क्रमको उत्कर्ष कतिसम्म पुग्छ भन्ने के नेताहरुले विचार गरेका छन् ? झापडले बनेको यो सरकारले पनि यतिका दिनसम्म पूर्णता पाउन सकेको छैन । के अब नेताहरुलाई अझै बढि झापडको आवश्यकता भएको हो ? होस गर्नुहोस् सत्ताधारी कामरेडहरु अब जनताले हान्न प¥यो भने झापड होइन लाठी, भाला वा गोली हान्नेछन् ।
Published @ Himal Pari Ko Aawaj, Weekly, 2067-11-23

No comments:

Post a Comment