यो भ्रम कतिन्जेल सम्म ?
सुवास मल्ल
पोखराको एक प्रतिष्ठित स्कुलमा अध्ययनरत एक बहिनीले मलाई सोधिन्,“दाइ, सरहरुले पनि रक्सी खाँदा रहेछन् है !”
“कहाँ हुनु ! होइन होला ।” मलाई यो प्रश्नले एउटा तरंग उत्पन्न गराइसकेको थियो ।¬
“किन नहुनु हाम्रो ज्एभ् ( स्वास्थ्य तथा शारीरिक शिक्षा ¬¬) पढाउने सरले होटलमा बसेर रक्सी खाएको त हामै्र आँखाले देखेको !”
संयोगले तिनी मेरै साथी परेछन् । मैले पछि भेट्दा उनलाई यो कुरा भनेर जिस्काएँ । उनले त ‘किताबको रक्सी पो खान हुन्न बोतलको त भइ हाल्छ नी’ भन्ने आशयको उत्तर मलाई दिए । त्यसको केही दिन पछि नेपाल भर भव्यताका साथ बाल दिवश मनाइयो ।
साँच्चै हामी बालबालिकालाई कति भ्रमको संसारमा डुलाइरहेका छौँ भन्ने यो त एक उदाहरण मात्र हो । हामीले यस्तो काम दिन दिनै थाहा पाएर वा नपाएर गरिरहेकै छौँ ।
बालबालिकाहरु जसको बाल्यकाल ईश्वरको स्तुति र परिकथाहरुसँगै बित्छ, जसको दिनको शुरुवात सरस्वती वन्दनाबाट हुन्छ र प्रथम पृष्ठमा सरस्वतीको आकर्षक फोटो भएको पुस्तक च्यापेर ऊ पढ्न निस्कन्छ, हामी उसलाई एक साथ विज्ञानका पाठहरुमा पृथ्वी उत्पत्तिका विषयमा विभिन्न खगोलशास्त्रीहरुले खोज गरेको सिद्धान्तहरु घोकाइरहेका हुन्छौँ र सामाजिक शिक्षा वा नैतिक शिक्षाका पानाहरुमा संसारको सृष्टि, पालन र संहारको एक मात्र कारक ईश्वर हुन् भनेर भनिरहेका हुन्छौँ । नेपाली पढाउने गुरुले ‘गाउँछ गीत नेपाली’ वा ‘के नेपाल सानो छ ?’ पढाउँदै नेपालको स्तुती गान गाउनुहुन्छ । तर त्यही दिन सामाजिक शिक्षामा उसलाई सामाजिक शिक्षा पढाउने गुरुले नेपालको क्षेत्रफल बताउँदै नेपाल एक सानो र गरिब राष्ट्र हो भनेर पढाउनु हुन्छ । विचरा उसले कुन कुरालाई सत्य मान्नु ?
शिक्षक र अभिभावकहरु आफ्ना विद्यार्थीहरुलाई आदर्श देख्न चाहन्छन् । त्यसैले त लामो कपाल पालेका दाजु आफ्नो भाइलाई कपाल काट्न अह्राउँछ । लामो नड्डमा थरी थरी पालिस लगाउन मन पराउने शिक्षिका आफ्नो विद्यार्थीलाई नड्ड काट्न लगाउँछिन् । अनि रातमा रक्सीको मातमा मत्त भेटिने शिक्षक विद्यार्थीलाई कुलतबाट हुने बेफाइदाको फेहरिस्त पेश गर्दै गरेको भेटिन्छन्, दिउँसोमा ! अब त्यो बच्चाले आफुँलाई अह्राइएको कुरालाई सत्य मान्ने की आफ्नो आँखाले देखेको कुरालाई अनुशरण गर्ने ?
प्रत्येक अभिभावक आफ्नो बच्चाले गाउँ ठाउँमा हुने कार्यक्रममा कविता बाचन गरोस् भन्ने चाहन्छन् । तर जब उसले आफ्नो जीवनको लक्ष्य कवि बन्नुलाई निर्धारण गर्छ, तब हामी उसको ध्यानलाई डाक्टर वा ईञ्जिनीयर तर्फ मोड्ने प्रयास गर्छाैँ । हामी हाम्रो बच्चाले राम्रो भाषण गरोस्, सबैलाई नेतृत्व गरोस् भन्ने चाहन्छौँ, तर नेता बनोस्, त्यो कोही पनि चाहन्नौँ । आफ्नो छोरीले कुनै पनि कार्यक्रममा राम्रो गीत गाओस्, नृत्य गरोस् भन्ने चाहन्छौँ तर कहिल्यै कलाकार बनेर चर्चित होस् भन्ने चाहन्नौँ । हामी हाम्रो छोराले खेलकुद प्रतियोगितामा पुरस्कार जितेर गाला भरि अविर र छाति भरि मेडल झुण्ड्याओस् भन्ने चाहन्छौँ तर जीवनमा खेलाडी बन्ने उसले चाहना राखे त्यसलाई सख्त अस्विकार गरिदिन्छौँ । अझ बढि हामी आकर्षक ढड्डले तिनै साहित्यकार, नेता, कलाकार वा खेलाडीको जीवनीलाई बच्चाहरुका सामु पेश गरिदिन्छौँ, कुराकानीको क्रममा वा पाठ्यक्रमका पानाहरुमा । त्यस बेला हाम्रो व्यवहारबाट ऊ कति भ्रममा पर्ला ?
हामीहरु जेलाई शिक्षा भनेर घोकाई रहेका छौँ, त्यो त फगत ज्ञानको क्रय विक्रय भन्दा माथि उठ्न सकेको छैन । हामीले सबै विद्यार्थीहरुलाई एउटै खाडलभित्र राख्ने प्रयास गरिरहेका छौँ । हामीले अस्विकार गरिदिएका छौँ की हरेक मानिसको आफ्नो छुट्टै विशेषता हुन्छ । हामीले त सबैलाई एउटै परिधीभित्र राखेर बालबालिकाको जीवनमाथि ठूलो खेलवाड गरिरहेका छौँ ।
हामीले भविष्यका म्यारोडोनाहरुलाई स्कुलको पर्खाल भित्र गणित पढ्न बाध्य बनाइदिएका छौँ । थाहा छैन त्यसको प्रयोगले उसले कुन नयाँ कोणबाट बललाई जाली चुमाउँछ । हामीले भविष्यका लियो नार्दाे दा भिन्चीहरुको दिमागलाई विद्यालयको ढोकाहरु भित्र कैद गरिदिएका छौँ । उसको दिमागमा आउने असंख्य प्रश्नहरुको समाधान गर्नुको साटो हामीले उसलाई अनुशासनमा रहन कडा फर्मान जारी गरिदिन्छौँ । अनि विचरा उनीहरुलाई लुरु लुरु स्कुल आउने र घर फर्कने अनि अह्राएको काम मात्र गर्ने मेसिनमा रुपान्तरण गरिदिएका छौँ । यसरी रुपान्तरण नहोऊन पनि किन ? यति नगरे उनीहरुको हालत जो खराब हुने बाला छ । जस्तो की केही महिना अगाडी एक बालक एक प्रतिष्ठित राष्ट्रिय दैनिकको बाल विशेष पृष्ठमा भन्दै थिए,“स्कुल नगए बाबु आमाले पिट्छन् र गए शिक्षकले !”
हामीले शिक्षाको नाममा बाल दिमागमा सिर्फ अस्वस्थ प्रतिस्पर्धा भरिदिएका छौँ । घनलाई ठोकठाक पारेर बन्चरो बनाउने यो प्रयासमा कति बन्चरोहरु बिचैमा टुक्रिए, त्यसको लेखा जेखा हामी मध्ये कोहीसँग छैन । अझ कति त न घन न बन्चरो पनि भए होलान् । आखिर यो भ्रम कतिन्जेलसम्म जारी रहने हो त ?
Published @ Yuwa Aahawan, Yearly Magazine
No comments:
Post a Comment