सुवास मल्ल
हरेक वर्षजस्तै यस वर्ष पनि नेपालीहरुको घर आँगनका चाडहरुको लस्करले प्रवेश गरिसकेको छ । यो लस्करको शुरुवात सदा झँै दशैँबाट भएको छ, जुन क्रम तिहार, नेपाल संबत हुदैँ छठसम्म जारी नै रहने छ । तर वास्तवमा यो एक महिनाको अबधीले नेपालजस्तो गरिबीको रेखा मुनी एक तिहाई बढि जनसंख्या बाँचिरहेको मुलुकमा थप गरिबी भित्राउनु बाहेक अर्काे कुनै उपलब्धी दिन सकिरहेको छैन । यि चाडवाडलाई विकृति र विसंगतिले भरिपूर्ण बनाउन हाम्रै संस्कार र संस्कृतिहरु त बाधक छन् नै त्यसमा पनि पछिल्लो समय नेपालमा मौलाइरहेको नाफाखोर पुँजीवादी संस्कृतिले पनि मानविय मुल्य र मान्यतालाई नै नामेट गर्ने गरी चाडवाडलाई विकारको झुण्डमा रुपान्तरण गरिरहेको छ । फलस्वरुप नेपाली समाजमा दशैँ सबैभन्दा ठूलो चाडबाट सबैभन्दा बढि विकृतिपूर्ण चाडमा परिवर्तित भइरहेको छ ।
आजको यो भुमण्डलीकरणले तिब्र प्रतिस्पर्धात्मक आर्थिक विकास तर्फ अगाडी बढिरहेको विश्व परिवेशमा दशैँ लगायतका यी चाडहरुको कुनै औचित्य पुष्टि हुन सकेको छैन । यही स्वरुपमा लामो समय थुप्रै चाड पर्व मनाउनु नितान्त अवैज्ञानिक, अव्यवहारिक र अनुत्पादक ठहरिनुको विकल्प छैन । त्यसो त हामीले युगौँ देखि आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई भन्दै रह्यौँ तर त्यसलाई परिवर्तन गर्न एक सिन्कोसम्म पनि भाँचेनौँ । अर्काको आङ्गको जुम्रा देख्ने सामथ्र्य राख्ने नेपाली हामीहरुले आफ्नै नाक अगाडी उभिएको भैसीँ देख्न अस्विकार गरिरह्याँै । नेपालको विकास नहुनुमा राजनीतिक नेतृत्वको कुशासन र कर्मचारीतन्त्रको भ्रष्टिकरणलाई दोष दिने हामीले एक पटक फर्केर हाम्रै यी विकृत संस्कृतिलाई पनि पुुनःर्मुल्यांकन गर्ने कि नगर्ने ?
दशैँलाई विजया दशमीका सट्टा विकृति दशमीका रुपमा मनाउने काममा कतै तपाईं आफैँ पनि सामेल त हुनुहुन्न ? आउनुहोस् दशैँका यि प्रमुख विकृतिहरुको चर्चा गर्दै यसलाई यही दशैँदेखि समाप्त गरी गणतान्त्रिक दशैँ उही पुरानो नेपालको सामन्ती दशैँ भन्दा भिन्न बनाउने प्रण गरौँ ।
बलि प्रथा
धार्मिक नाममा अबोध प्राणीहरुको बलि दिने कर्म दशैँको एक अभिन्न अंगको रुपमा स्थापित छ । यो प्रथा प्राकृतिक न्यायको सिद्धान्तको विरुद्धमा त छ नै, त्यस माथि पनि नेपाली समाजमा आर्थिक भार थप्नमा पनि यसको भूमिका रही आएको छ । बलि प्रथासँग जोडिएको मांसहार पनि स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्न । साथै हरेक घरमा दिइने बलिले नेपाली समाजको मनोविज्ञानमा हिंसात्मक चरित्रको विकास गरेको छ, जुन समस्या बालबालिकामा अझै बढि छ ।
फजुल खर्च
दशैँलाई मिठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्वको रुपमा मनाउने चलन छ । तर यही निहुँमा आफ्नो घाँटी भन्दा ठूलो हाड निल्ने कर्म पनि हाम्रो समाजमा व्याप्त छ । ऋण काढी काढी आफ्नो औकात भन्दा बढि खर्च गर्न मानिसहरु उद्दत हुन्छन र यसमा धेरै हदसम्म अदृष्य सामाजिक दवाव पनि भेट्न सकिन्छ । वास्तवमा यो सामन्ती संस्कृति कै उपज हो, जसलाई हामीले फालेर अगाडी बढ्नु सम्पूर्ण नेपाली नागरिक र नेपाली समाजको स्वास्थ्यका लागि अत्यावश्यक भइसकेकोछ ।
असन्तुलित भोजन
चाडपर्वहरुमा नेपालीहरु माझ अत्यन्त असन्तुलित भोजन गर्ने परम्परा छ र यो क्रम दशैँमा झनै बढेर जान्छ । मानव स्वास्थ्यका लागि निकै प्रत्युत्पादक मानिएको मांशहारसँगै बढि क्यालोरी भएको तैलिय तथा मसलादार खाना पनि दशैँ कै विकृतीका रुपमा संस्थागत भएको छ । आरामको समयका रुपमा मनाइने चाडपर्वमा नै यस्तो भोजन हुनुले पाचन प्रणाली सम्बन्धित रोगहरु बढाएको छ ।
मद्यपान, धुम्रपान तथा लागु औषध प्रयोग
दर्शैँ जस्ता चाडपर्वहरु मांशहारसँगै मद्यपानको समेत पर्याय बनेका छन् । कतिपय समाजमा त मद्यपान आफँै पनि संस्कृतिका रुपमा विकास भएको पाइन्छ । तर सबैभन्दा गलत कुरा त के भने दशँैजस्ता चाडपर्वहरुको विभिन्न उत्कृष्ट पक्षहरुलाई बिर्सदैँ गएको हाम्रो समाजले मद्यपान जस्तो विकृतीलाई संस्कृति कै एक हिस्सा बनाउँदै गएको छ । के हाम्रो स्वास्थ्य र समाजलाई प्रतिकुल असर पार्ने यस्ता तत्वहरुलाई हामीले बोकेर हिँड्नु वैज्ञानिक र व्यवहारिक ठहरिएला र ?
जुवातास
चाडपर्व र उत्सवको बेला शासकहरुले जुवा फुकाउने सामन्ती संस्कार कै अवशेषको रुपमा नेपाली समाजमा आज पनि चाडपर्वहरुमा जुवातासको प्रचलन चलिरहेको छ । समाजमा नकारात्मक असर पार्ने यस्ता चलनहरुलाई सधैँका लागि अन्त्य गर्नुका साटो हामी झनै संस्थागत गरिरहेका छौँ, जसले गर्दा पारिवारिक अशान्ति, सामाजिक विचलन तथा अपराधिक गतिविधीमा वृद्धि भइरहेको छ । आपसी भाइचारा र भातृत्व बढाउनु पर्नेमा भाँडभैलो बढाउने निहुँका रुपमा दशैँ मनाउँदा के यस्ता चाडपर्वको औचित्य पुष्टि हुन्छ ?
दशैँजन्य नारी उत्पीडन
संस्कार र संस्कृतिहरु पीतृसत्ताका उपजका रुपमा विकास भएकाले यसमा नारीहरुको उत्पीडन झनै बढेर गएको भेटिन्छ । दशैँ आउँछ त पुरुषलाई आउँछ, नारीलाई त झनै दशा थपिन्छ । रमाइलो, मिठो र राम्रो सबै पुरुषका नाममा लेखिन्छ भने महिलाहरुको नाममा झनै बढि कामको बोझ मात्र थपिन्छ । दशैँको रमाइलोको सारा व्यवस्था गर्नुपर्ने नारीले आफ्नो लागि भने समय दिनै पाउदैँनन् । बदलामा तिनीहरु नै यही समय विभिन्न कारणले हिंसाको शिकार भएको पाइन्छ । के मुर्तिको देवीलाई पुज्न तँछाड मछाड गर्नेहरुले घरकी देवीलाई चाहीँ सहयोग गरेर चाडपर्वको समान हिस्सेदार बन्न दिनु पर्दैन ?
समयको दुरुपयोग
दशैँको लामो बिदाले समयको व्यर्थै नाश भइरहेको छ । दशैँको मुल उत्सव फुलपातीको दिन शुरु हुन्छ र विजया दशमीको दिन सकिन्छ । यसको हिसाव किताव गर्दा दशैँको बिदा बढिमा पाँच दिनभन्दा बढि दिनु कुनै हालतमा तर्कसंगत लाग्दैन । त्यस माथि पनि नेपाल धर्म निरपेक्ष मुलुक भइसकेको वर्तमान परिवेशमा अन्य धर्मको चाडहरुलाई एक दिन मात्र बिदा दिनु र हिन्दु धर्मको चाडलाई यत्रो बिदा दिनु कुन तर्कले जायज हुन्छ ? खाली दिमाग, भूतको डेरा भनेजस्तै हाम्रो समाजमा दशैँ विकृतिको कारक यही खाली समयको उपज हो । दशैँ विदा कटौती गर्ने हो भने यी विकृतिहरुको पनि ठूलो हिस्साले सदाको लागि विदा लिनेछन् । अहिले कै लागि भने हामी कुनै राम्रो ठाउँको भ्रमण गरेर, राम्रो पुस्तकहरु पढेर वा उत्कृष्ट चलचित्रहरु हेरेर हामी हाम्रो समयको सदुपयोग गर्न सक्छौँ । साथै लामो समय पछि भेट भएका साथीहरु माझ आफ्ना अनुभव वा अनुभूतिहरुको आदनप्रदान वा आफ्नो गाउँठाउँमा कुनै सामाजिक तथा विकास निर्माणको कार्य गरेर पनि हामी बिदा मनाउन सक्छौँ । यसले नयाँ संस्कृतिको उन्नयन गर्न, समयको सदुपयोग गर्न तथा गाउँघरको विकास गर्न समेत सघाउनेछ ।
खसी च्याङ्गग्रा विकृति
सके पनि नसके पनि, आफ्नो परिवार जत्रो भए पनि दशैँमा घोर्ले खसी वा च्याङ्गग्रा ढाल्नै पर्ने विकृत संस्कार हाम्रोमा छ । औँलामा गन्ति सकिने परिवार भए पनि बरु मासु कुहाएर, सडाएर फाल्ने तर खसी नकाटी सन्तोक नमान्ने यो संस्कारले एकातिर हाम्रो खल्ती रित्ताइरहेको छ भने अर्काे तिर स्वास्थ्य सिद्धिरहेको छ । त्यती मात्र होइन अष्टमी वा नवमीको दिन काटिने त्यही मासुको उपभोग पूर्णिमा अर्थात अर्काे एक हप्तसम्म पनि गरिन्छ । एक त निरन्तर मांशाहार नै स्वास्थ्यको दृष्टिमा गलत हो, त्यसमा पनि यसरी बासी मासुको उपयोगले हाम्रो स्वास्थ्यमा पक्कै प्रतिकुल प्रभाव पार्ने नै छ । बरु थोरै परिमाणमा मासु पसलबाट ताजा मासु किनेर खानु नै उत्तम विकल्प हुन सक्छ । त्यसमा पनि पहिले जस्तो मासुु खान दशैँ नै कुर्नु पर्ने अवस्था नभएकोले आजको परिवेशमा दशैँमा मासु कुहाएर फ्याँक्नु ढोंग शिवाय केही ठहर्दैन ।
दक्षिणा आतंक
दशैँको टिकालाई मान्यजनको आशिर्वादसँग भन्दा पनि दक्षिणासँग दाँजेर हेर्ने कुसंस्कारले पनि दशैँलाई विकृत बनाइरहेको छ । त्यसो त दशैँमा दक्षिणा ग्रहण गर्नेले धेरै वा थोरै भनेर त भन्दैनन्, तर सामाजिक सम्बन्धहरुको मनोवैज्ञानिक प्रभाव भने यसमा अवश्य नै रहन्छ । त्यसमा पनि दक्षिणा बाँड्ने अघोषित प्रतिस्पर्धा पनि हाम्रोमा शित युद्ध शैलीमा चलिरहेकै छ । के हामी दक्षिणामुक्त दशैँ मनाउने अभियान चलाउन सक्दैनौँ ?
विकृतिमा प्रतिस्पर्धा÷उक्साहट
जानाजान वा अञ्जानमा दशैँका सन्दर्भमा नेपाली समाजका विकृतीहरुको प्रतिस्पर्धा नै चल्छ र यसमा हाम्रा कथित संस्कार र संस्कृतिहरुको उक्साहटले ठूलो भूमिका खेल्दछ । माथि उल्लिखित विकृतिहरुको तिव्र प्रतिस्पर्धाको फलस्वरुप नेपाली समाज दिनानुदिन भयंकर खाडल तर्फको बाटो तताइरहेको छ । प्रत्यक्ष वा परोक्ष रुपमा यस्ता विकृति फैलाउनमा हाम्रा मिडियाहरुको पनि हात छ, विशेषतः पूँजीवादी बिग मिडिया हाउसहरुको । आफ्नो व्यापारिक फाइदाको लागि दशैँको मौकामा विकृति उन्मुख व्यापारिक नारा विज्ञापनको रुपमा प्रकाशन प्रशारण गराउने उत्पादकहरुको टाउकोमा पनि विकृति फैलाउने दोषको समान हिस्सा जान्छ । साथै अधिकांश निजी तथा सम्पूर्ण सरकारी कार्यालयमा दशैँ कै बेला बाँडिने दशैँ भत्ताले पनि विकृतीको प्रतिस्पर्धा गराइरहेको छ । फलतः सेवा क्षेत्र पनि यो बेला नाफाखोर बनेर जनताको विवशताका फाइदा लुट्छन् ।
के यही नै हामीले खोजेको सत्य माथि असत्यको विजय हो ? विचार गरौँ समयसँग हिड्न नसक्ने बस्तुहरु इतिहासको हरेक कालखण्डमा डाइनोसर भएका छन ।
No comments:
Post a Comment