अखिलप्रतिको अपेक्षा

Wednesday, June 22, 2011
सबैले जस्तै मैले पनि सानैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा सडकमा हुने प्रदर्शनहरु देखेको सुनेको हुँ । जब यो जुलुसमा कलम र तारा अंकित राता झण्डाहरु मिसिन्थे, मेरो बुबा यो दृश्य देखेर आशालाग्दो नजर लिएर भन्नुहुन्थ्यो,“अब साँच्चैँ मट्टितेलको भाऊ घट्ने भयो ।” त्यस बेला हाम्रो घरमा स्टोभमा खाना बन्थ्यो र त्यसैकारण यो झण्डा प्रति एक प्रकारको सद्भाव उत्पन्न भएको थियो । यसरी मैले सर्वप्रथम ति दिनहरुमा जुझारु मान्छेहरुको संगठनको रुपमा अनेरास्ववियुलाई चिनेँ ।

म किशोर कालमा हिँड्दै गर्दा नेकपा एमालेमा फुट थियो र त्यसबेला स्वाभाविक रुपमा अखिल पनि दुई थरि थिए । पोखरा पढ्ने घरतिरकै केही दाजुहरुसँग मलाई समय बिताउन निकै रमाइलो लाग्थ्यो । उनीहरु पृथ्वी नारायण क्याम्पसमा पढ्थे र घर फर्कदाँ विद्यार्थी समाचार, माछापुछ्रे, कोपिला जस्ता पत्रिकाहरु लिएर आउँथे र मलाई पनि दिन्थे । उनीहरुको कुरा सुनेर मैले बुझको थिएँ, नेपालको अवस्था राम्रो छैन तर कोही त छन् जो देशको भाग्य बदल्न लागि परेका छन् । त्यसैबेला मैले उनीहरु मार्फत नै नेपालको थुप्रै सिमानाहरुमा भारतिय हस्तक्षेप भएको थाहा पाएको थिएँ । र स्वाभाविक रुपमा मैले यो पनि थाहा पाएको थिएँ कि भारतिय सेनाले लामो समयदेखि कब्जा जमाइरहेको कालापानीमा त्यही झण्डा बोकेर अखिलले मार्चपास गर्ने आँट गरेको थियो ।

लोकप्रिय गायक प्रविण गुरुङ्गको हत्या हुँदादेखि म गणतन्त्रवादी भएँ । मैले पृथ्वी नारायण क्याम्पस पढ्ने तिनै दाजुहरुबाट सर्वप्रथम थाहा पाएको थिएँ कि नेपालमा एउटा त्यस्तो खलकको शासन छ, जो नेपाली जनताकै रगत पसिना काटेर कर खान्छ तर तिनीहरुले जनतालाई हत्या गरे पनि अदालतमा मुद्दा लाग्दैन । पहिले त मलाई यो कुराको विश्वासै लागेको थिएन, तर उनीहरुले मलाई ‘नेपाल अधिराज्यको संविधान २०४७’ ल्याएर देखाईदिए पछि मेरो मथिङ्गल एक पटक नराम्रोसँग घुम्यो । त्यसै बेला अखिलले हत्यारा पारसलाई अविलम्ब कारबाही गर्न माग गर्दै ५ लाख हस्ताक्षर सहित ज्ञापन पत्र दरबारमा बुझायो । अब राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवालमा प्रश्न चिन्ह उठ्दा हुने प्रदर्शनहरुमा त्यो रातो भण्डा खोज्ने बानी नै पर्न थाल्यो ।

जेठ १९, असोज १८ र माघ १९ ले नेपाली जनतामा एउटा नयाँ झन्कार दिन थालेको पल नेपाली जनतालाई जागरुक बनाउँदै फेरि सडकमा यो झण्डा ओर्लियो । यो झण्डा बोकेर नारा लगाउँदै देश र जनताको भाग्य र भविष्यको फैसला गर्ने हकदार सिर्फ नेपाली जनता मात्र हुन् भन्ने हिम्मत गर्नेहरु थुप्रै गोली, लाठी, अश्रुग्याँस र जेलनेलको शिकार भए । आफ्नै मातृ पार्टी ‘प्रतिगमन आधा सच्चियो’ भन्दै देउवा सरकारमा जाँदा विपरित धारमा सडकमा उभिने आँट यही अखिलले गरेको थियो ।

२०६२÷६३ को अप्रिल क्रान्तिमा म पनि सहभागी भएँ । यो क्रान्तिले नेपाली जनतालाई आफ्नो मालिक आफैँ बन्ने अधिकार दियो । आन्दोलन हाँक्ने दलका कपाल पाकेका बुढा नेताहरुको अत्तो पत्तो नहुँदा सडकमा निस्केर कर्फ्यु तोड्ने र गणतन्त्रका नारा लगाउने सहास पनि यो र यस्तै झण्डाहरुले गरेका थिए ।

आन्दोलनको सफलतासँगै देश नयाँ बाटोमा हिड्ने तरखर गर्दा म मेरो सपनाको क्याम्पस पृथ्वी नारायण क्याम्पसमा भर्ना भएँ । मैले अब सर्वप्रथम अखिललाई नजिकबाट निँयाल्न पाएँ । संयोगवश म यो क्याम्पस आएको दुई वर्ष पछि नै पोखरामा यो संगठनले राष्ट्रिय सम्मेलन सम्पन्न ग¥यो । केही दिन अगाडी जनकपुरमा यसको बिसौँ राष्ट्रिय सम्मेलन पनि सम्पन्न भयो । तर मैले सुनेको र थाहा पाएको अखिल र देखेको अखिलमा ठूलो अन्तर पाएँ । दोस्रो जनआन्दोलनपछिको यो आधा दशकमा अखिलले खास केही उपलब्धी मुलक नयाँ काम गर्न सकेन ।

नेपाली विद्यार्थी आन्दोलनमा एउटा ठूलो समस्या छ । विद्यार्थी आन्दोलन राजनीतिक परिवर्तनको यात्रामा जुन जुझारुपनाका साथ अगाडी बढ्छ, त्यसले शैक्षिक सवाललाई त्यो उचाईंमा पु¥याउनै सक्दैन । त्यसैले राजनीति धेरै अगाडी बढ्छ, तर शैक्षिक सवाल जहाँको त्यहीँ रहन्छ ।

आज नेपाली विद्यार्थीहरु या त पञ्चायति सत्ताले डिजाइन गरेको कोर्स पढिरहेका छन् नत्र विदेशी दातृनिकायले लादेको कोर्स घोकिरहेका छन्, जसबाट नेपालले खास कुनै फाइदा लिनै सक्दैन । नेपाली शिक्षा प्रणाली अवैज्ञानिक, अव्यवहारिक र उपलब्धीहीन छ । यो शिक्षा पढ्ने औसत विद्यार्थीहरुमाझ कर्मचारी, मास्टर, नेता वा बेरोजगार बन्ने बाहेक अर्काे कुनै विकल्पै छैन ।

तर यसको विरुद्ध अन्य विद्यार्थी संगठनहरु जस्तै अखिल पनि मौन छ । राष्ट्रिय सम्मेलनका हलहरु भित्र यी विषयमा राम्रोसँग छलफलै हुँदैन । सम्मेलनका प्रतिनिधीहरु बन्द सत्रको हलमा विभिन्न प्रतिवेदनमाथिको छलफल चलिरहँदा आफ्नो प्यानलको प्रचार वा घुमफिरमा व्यस्त भेटिन्छन् । जसरी पोखरा सम्मेलनमा प्रतिनिधीहरु फेवताल वा डेफिज फल तिर भेटिएका थिए, यो पटक पनि कोही रामजानकी मन्दिर वा जनकपुर जयनगर रेल सेवातिर भेटिए । तर निर्वाचन शुरु हुने दिनमा सबै प्रतिनिधीहरु उपस्थित हुनुले विस्तारै अखिल पनि अरु संगठन जस्तै नीति होइन नेता प्रधान देखिन थालेको भान हुन्छ, जुन उनीहरुले मान्दै आएको लेनिनवादी संगठनात्मक सिद्धान्तको विरुद्धमा छ । जहाँ व्यक्ति संगठनको अधिनमा र नेता नीतिको अधिनमा हुनुपर्छ ।

यो पटकको सम्मेलनले पनि खास केही नयाँ कुरा दिन सकेन । केही वर्ष देखि जोडतोडका साथ उठ्दै आएको महासंघिय ढाँचाको बहस कुनै निश्कर्षमा पुग्न सकेन । तर संगठन भित्र गुटबन्दिको कालो छायाँ भने प्रष्टसँगै देखियो । त्यसो त पार्टी भित्रै त्यसको बोलबला भएको बेला भातृ संगठनमा यसको प्रतिबिम्ब देखिनु कुनै अनौठो भएन तर त्यो गुटबन्दि झडप कै तह सम्म पुग्नु र मत गणना गर्न राजधानी पु¥याउनु पर्ने अवस्था सिर्जना हुनु भने राम्रो संकेत पक्कै होइन । उता संगठनको टिममा माधव ढुङ्गेल पक्षबाट पदाधिकारीहरु सहित बहुमत सदस्यले चुनाव जितेका छन् । तर चुनौती पनि बहुमतमा नै छ भन्नै कुरा उनले बुझ्न जरुरी छ । कारण यो आधा दशकमा स्ववियु निर्वाचनमा देशका अधिकांश क्याम्पसमा विजय प्राप्त गर्नु बाहेक खास केही गर्न नसकेको आरोप खेपिरहेको अखिललाई नयाँ जीवन दिनु र पराजीत पक्षलाई पनि साथ–साथै लिएर जानु कम चुनौतीपूर्ण छैन । चुनावमा पराजीतहरु सबै पचास भन्दा कम मत अन्तरले पछाडि छन् । र यो खेमालाई पार्टीको संस्थापन पक्षको समर्थनप्राप्त छ ।

अहिले पनि अखिलले गरेका उपलब्धी बारे कुरा गर्न थालियो भने मेलै सानोमा सुनेकै कालापानी मार्च, दरवारको ज्यादतिको बिरोध गर्ने आँट गरेको, सार्वजनिक यातायातमा ३३% र ४५% छुटको आन्दोलनको नेतृत्व गरेको, पञ्चायत र ज्ञानेन्द्र शाहको निरङ्कुशता विरुद्ध लडेको जस्ता प्रसङ्गहरु जोड्न थाल्छन् अखिलका नेताहरु ! के इतिहासको व्याज खाएर मात्र अखिल अगाडी बढ्न सक्छ ? वा राजनीतिक आन्दोलनका संवाहक यो संगठन अब बग्रेल्ति शैक्षिक मुद्दाहरुमा पनि त्यस्तै जुझारुपनाका साथ अगाडी बढ्नु पर्छ ? आम विद्यार्थीहरु यही प्रश्नको उत्तर अखिलको नयाँ नेतृत्वको कामबाट हेर्न खोजिरहेका छन् ।

Published @ Vision Nepal Monthly, Ashoj 2067

No comments:

Post a Comment