Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

कमरेड त झनै लाल हुनुभएछ (कविताः सुवास मल्ल)

Saturday, January 14, 2017

कार्टुन स्राेतः नेपाल साप्ताहीक

कमरेड त झनै लाल हुनुभएछ



धेरैले भन्थे—
हाम्रा गाउँले कमरेड अब कमरेड रहेनन्
फिका भइसके, कम—रेड भइसके
आज प्रत्यक्ष देखेर भन्दैछुः
सबै छौंडाहरुको झुठा बात रहेछन्
कमरेड त झनै लाल हुनुभएछ ।


दश वर्ष अगाडि 
सहर पस्ने बेलामा 
चाउरी परिसकेका गालाहरु
हुम्ली स्याउभन्दा राता भएका छन् ।
त्यही स्याउको आधा टुक्रा अंकित
रातो आइफोन छ हातमा कमरेडको ।
रेडक्रसले भुकम्पमा दिएको 
रातो जस्ता र रातो पालको कृपाले
ठडिएको हो कमरेडको रातो महल ।
रातै आइफोनबाट हेर्दे हुनुहुन्छ कमरेड
हिजो मात्र युट्युवमा दिएको 
भिडियो अन्र्तवार्ताको रेस्पोन्स ।
उहाँलाइ टिभीभन्दा युट्युव नै मन पर्छ
किनकी युट्युवको ब्राण्ड कलर पनि त रातो छ ।


रातै सारी ढल्काउँदै आइपुगिन् कमरेडनी 
रातै चोलीमा सजिएकी छिन् माता कमरेड पनि
कमरेडका उत्तराधिकारी पुत्र
पढिसिन्छ रातो बंगलामा ।
अनि मन पर्छ कमरेड पुत्रीलाई पनि 
रातै मिनीस्कर्ट ।


कमरेड रातो चियाबाट 
रेड लेबलमा सर्नुभएको मात्र रहेछ
माता कमरेडले त झन् 
मोहीबाट कोकाकोलामा छलाङ्ग मारिसक्नुभएछ
कमरेडनीको पनि प्रिय रहेछ
रेड स्विट वाइन
कमरेड पुत्रको प्रिय हो रेड बुल
अनि कमरेड पुत्रीको पनि पहिलो रोजाइ हो
रातै बोर्डमा नेपाल छिरेका
केएफसी र म्याकडोनाल्ड्स ।


कमरेडको दराजबाट रातो किताब हराएर के भो
टन्नै छन् कमरेडको दराज भरि
रातै खोल भएको अलि दुब्लो खालको
लालपुर्जा भन्ने पुस्तक
रातो सुटमा ठाँटिएर
रातो नम्बर प्लेट झुण्डिएको
रातै गाडिमा सबार भई
रातै साइरन बजाउँदै
रातो कार्पेटमा पाइला चाल्दै
जब स्टेजमा भाषण गर्न थाल्छन् कमरेड
बिर्सन्नन् कहिँकतै 'रेड लाइट एरिया' को बारेमा बोल्न ।


बिर्सेका छैनन् कमरेडले हाम्रो घरको रातो माटो 
अफसोच उनीसँग भएको रातो पासपोर्टमा
अहिले गाउँको भिसा अटाएन र मात्रै ।
चुनाव घोषण भए पछि अवश्यै आउनेछन् कमरेड
निधार भरी रातै अबिर पोतेर
रातै हेलिकप्टरमा सवार भएर
उही रातो झण्डा बोकेर
हाम्रो रक्तिम इतिहासको बयान गाउन ।


हतार छ कमरेडलाई आज 
निधार भरिकाे ठाडाे
रातो धर्से टिका लगाएर
रातो अक्षता र रातै फूल अर्पेर
गर्नुछ केही बेरमा भैंसीकाे पुजा ।
पार्टीको नयाँ भवन
 'राताे घर' काे समुद्घाटनमा
रातो पिर्कामा उभिएर
खानै बाँकी छ
कार्यकर्ता कमरेडहरूकाे लाल सलाम ।
कमरेड कहाँ फिका भएका छन् र ?
अझै रातो भइरहेका छन् दिन प्रति दिन ।
उनी मात्रै हैन,
पुरै परिवारै लाल भइरहेछ रकेट गतिमा।


तर कमरेड सोधुँ कि नसोधुँ
हिजोदेखि नै एउटा प्रश्न
खेलिरहेको छ यो मनमा
यहाँलाई राताे मार्सी भातकाे स्वाद 
मीठो लाग्यो कि
हाम्रो रातो रगतको स्वाद ?

कार्टुनः बासु क्षितिज (अन्नपूर्ण पाेष्ट)
Read more ...

भारतिय कवि अवतार सिंह पाशका ३ कविताहरूकाे नेपाली अनुवाद

Friday, July 19, 2013

कवि अवतार सिंह पाश भारत लगायत दक्षिणा एसियाका प्रगतिशिल कविहरूका लागि नैालो नाम होइन । उनका कविताहरूले प्रगतिशिल साहित्यलाइ धेरै माथि उठाउन सहयोग गरेको छ । मैले उनका केही कविताहरूलाइ नेपाली भाषामा रूपान्तर गरिरहेको छु । केही कविताहरू यहाँहरूका लागि पेश गरेको छु ।

संविधान


यो पुस्तक मरिसकेको छ
यसलाई नपढ
यसको हरेक शब्दहरु
मृत्युको चिसोपनाले भरिएको छ
एकएक पानाहरु
जिन्दगीको अन्तिम पलहरुजस्तै भयानक छ
यो पुस्तक जब बनेको थियो
त्यसबेला म एक पशु थिएँ
निदाइरहेको पशु ...
र जब म ब्यूझेँ
म मानिस बनुञ्जेल
यो पुस्तक मरिसकेको थियो
अब यदी यो पुस्तकलाई पढ्यौ भने
तिमी पनि पशु बन्नेछौ
निदाइरहेको पशु ... !


*************************

लोकतन्त्र


मैले टिकट किनेरै
तिम्रो लोकतन्त्रको नाटक हेरेको हुँ
अब मैले हक पाएको छु
प्रेक्षालयमा बसेर
हाई हाई गर्ने र चिच्याउने
तिमीले टिकट बेच्ने बेला
एक पैसा पनि छुट दिएनौ
अब म आफूलाई मन पर्ने कुर्सी तोड्नेछु
गद्दा च्यात्नेछु
र पर्दा जलाउनेछु ।



****************************************

सबैभन्दा खतरनाक

(यो कविता सम्भवतः उनको जीवनको अन्तिम तथा सबैभन्दा चर्चित कविता हो –अनुवादक)


श्रमको लुट सबैभन्दा खतरनाक हुँदैन
पुलिसको पिटाई सबैभन्दा खतरनाक हुँदैन
गद्दारी लोभको मुठ्ठी सबैभन्दा खतरनाक हुँदैन
सुतिरहँदा पक्राउ पर्नु नराम्रो त हो
सधै मौनतामा जकडिनु नराम्रो त हो
जुनकिरीको उज्यालोमा पढ्ढै
केवल हात बाँधेर समय गुजार्नु नराम्रो त हो
सबैभन्दा खतरनाक हुँदैन
सबैभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिले भरिनु
कुनै छटपटि नहुनु
सबै सहनु
घरबाट काममा निस्कनु
र कामबाट सरासर घर फर्कनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरुको मृत्यु हुनु !

सबैभन्दा खतरनाक त्यो समय हुन्छ
जो आफ्नो नाडीमा चल्दा चल्दै पनि
आफ्नो हेराईमा रोकिन पुग्छ ।
सबैभन्दा खतरनाक त्यो आँखा हुन्छ
जो सबै कुरा देखेर पनि चिसो बरफ हुन्छ
जुन नजरले दुनियाँलाई प्रेमले चुम्बन गर्न भुलिदिन्छ
भौतिक बस्तुको तुँबालोको अन्धोपनमा जो मुग्ध हुन्छ
र एउटै लक्ष्यहिन पुनरावृत्तिको दुष्चक्रमा बिलाएर जान्छ ।
सबैभन्दा खतरनाक त्यो गित हुन्छ
जो तिम्रो कानसम्म पुग्न शैतानी स्वरमा पढिन्छ
आतंकित मानिसहरुको ढोकामा जो गुण्डाहरुले जसरी हुँकार गर्दछ ।

सबैभन्दा खतरनाक त्यो चन्द्रमा हुन्छ
जो हरेक हत्याकाण्ड पछि
बिरानो भएको तिम्रो आँगनमाथि झुल्कन्छ
तर त्यसले तिम्रा आँखाहरुमा खुर्सानीले जसरी बिझाउँदैन ।
सबैभन्दा खतरनाक त्यो रात हुन्छ
जो जिउँदा आत्माहरुको आकाशमा ढल्दछ
जसमा केवल उल्लु बोल्छ र गिद्द कराउँछ
र कालो अन्धकारले झ्याल ढोकाहरु पोतिएको हुन्छ ।
सबैभन्दा खतरनाक त्यो दिशा हुन्छ
जसमा आत्माको सूर्य अस्ताउँछ
र मुर्दा सूर्यको केही टुक्राहरुले
तिम्रो शरिरको पूर्वलाई भेदन गर्दछ ।
Read more ...

स्वार्थ (लघुकथा) सुवास मल्ल

Thursday, July 28, 2011
सभ्यताको भाषामा भन्नुपर्दा त्यो केटी पोइला गई । अझ यो सभ्यताले ‘तल्लो जात’ भनी ठहराएको परिवारको केटासँग । सभ्यताले जनै लगाउन सिकाएको घरमा यो समाचारले ५÷७ रेक्टरको भुकम्प र सुनामी एकै पटक ल्याईदियो । घरको स्थायी समितिको आकस्मिक बैठक बस्यो ।

“छोरीले हाम्रो कुलको बेइज्जत गरी । मलाई यो विवाह कुनै हालतमा मञ्जुर छैन ।...” बाबुको आवाजमा सभ्यताको स्वार्थ बोल्यो ।

आमाले पनि यो विवाहलाई खारेज गरिदिई । सायद जवानीको प्रेमलाई टुक्राएर बाबुआमाले खोजी दिएको केटासँग विवाह गर्नुपर्दा देखि विकास भएको प्रेम प्रतिको वितृष्णाको प्रतिविम्व थियो त्यो !

अघिल्लो महिना जसको हातबाट एक हप्ता हस्पिटल बस्ने गरी धुलाई खाइयो, विपक्षी ग्याङ्गको नाइके त्यसैलाई ज्वाईं भन्नुपर्ने सोच्दै कहालिलाग्दो क्षण टार्न दाजुले पनि यो विवाहको विपक्षमा मतदान ग¥यो ।

आफूले मनमनै सपनाको राजकुमार बनाएको केटाले बहिनीलाई लिएर हिँडेपछिको पीडास्वरुप दिदीले त्यो केटालाई अपहरणको आरोपमा प्रहरीमा उजुरी गर्नुपर्ने प्रस्ताव राखी ।

यो विवाहलाई बहुमतले अस्विकार गरिसकेपछि अन्तिम वक्ता अविवाहित कान्छी फुपुले आजको युगमा जातभातको पछि लाग्नुलाई असान्दर्भिक भन्दै त्यसमा फरक मत दर्ज गराई । वास्तवमा विगत दुई वर्षदेखि कान्छा सुनारको छोरासँग उनको प्रेम यात्रा चलिरहेको थियो ।
Read more ...

राजनीति (लघुकथा) सुवास मल्ल

Friday, July 1, 2011
गाउँमा रमेश, हिरा र श्याम एउटै कक्षामा पढ्ने साथीहरु थिए । रमेश मेहेनती र गाउँको सान बनेको थियो । हिरालाई सबैले उत्ताउली भन्थे र श्याम सानैदेखि गुण्डागर्दी र फट्याईंमा नामुद थियो । समयक्रममा उनीहरु तिनै जना एसएलसी पास गरेर सहर पसे । यो बिस वर्षपछि अहिले रमेश कलेजको ठूलो प्राध्यापक भइसकेको छ र सहरमा उसको इज्जत पनि धेरै छ । तर आर्थिक समस्या भने उसको लागि स्थायी पीडाको विषय बनेर रहेको छ । हिराले पढ्न छाडिदिई र नामूद नगरबधु बनी । उनीसँग धेरै सम्पत्ति र बैंक व्यालेन्स छ तर इज्जतको सवालमा उनी स्थायी रुपमा पीडित छिन् । उता श्यामले पनि पढ्न सकेन र उसको स्वाभाव अनुसार ऊ खुंखार डन तथा तस्कर बन्यो । भर्खर पुनर्गठित मन्त्रीमण्डलमा ऊ गृहमन्त्री नियुक्त भयो । अहिले उसँग सम्पत्ति पनि छ र इज्जत पनि ।

(प्रकाशितः प्रगति, वर्ष १, अंक १, प्रगतिशिल वाङ्मय प्रतिष्ठान, पोखरा)
Read more ...

उपचार (लघु कथा) सुवास मल्ल

Wednesday, June 22, 2011
सरकारले निःशुल्क स्वास्थ्य शिविरको आयोजना ग¥यो । गाउँका सबै जनताहरु त्यसमा तछाँड मछाँड गर्दै पुगे । रामबहादुर पनि आज कामै छाडेर लाममा उभियो । दुई घण्टा लामो लाममा उभिए पछि उसको पालो आयो । डाक्टर सा’बले उसलाई जाँच्नु भयो । उसलाई नेपालको राष्ट्रिय रोग ग्याष्ट्रिकले छोएको रहेछ । डाक्टर सा’बले केही निःशुल्क औषधिहरु दिनुभयो । “यो खाना पछि खानु, यो खाना अगाडि, यो बेलुका, यो बिहान..........!” रामबहादुर किंकर्तव्यविमूढ उभियो र केही क्षण पश्चात् सुस्तरी बोल्यो “डाक्टर सा’ब खानासँग सम्बन्धै नभएको कुनै औषधि दिनुहोस् न मसँग घरमा खाना खान एक गेडा अन्न छैन ।"

(पोखराथोक साहित्य संगम, माडी पोखराथोक, पाल्पाको वार्षिक प्रकाशन वाटिकाको लघुकथा विशेषांकमा प्रकाशित)
Read more ...

गजल सुवास मल्ल

Wednesday, June 22, 2011

ऊ सयाँै अपराधको कसुरदार थियो
र त जिन्दगी बडो सानदार थियो

हत्यारा उम्कियो र निर्दाेष पक्राउ प¥यो
गृहमन्त्री जो हत्याराको नातेदार थियो

एमए पास हुँदैमा कहाँ पियन भइन्छ ?
आफ्नो त आफन्त त्यहाँको खरिदार थियो

प्रेमिकाले प्रेम प्रस्ताव अस्विकार गरी
कारण प्रेमी गरिब र इमानदार थियो

उसको आयु यसकारण छिट्टै सकियो
किनकी ऊ देश प्रति बफादार थियो
Read more ...

गजल सुवास मल्ल

Wednesday, June 22, 2011

आज ईश्वरसँग मेरो साक्षात्कार भयो
अपसोच उसैबाट मेरो बलात्कार भयो

घटना लगत्तै उजुरी गरेथेँ मन्दिरमा
ईश्वर विरुद्धको आरोप अस्विकार भयो

आक्रोशित भिडले ईश्वरको हत्या गरेछ
पुजारी कुर्लियो, यो त महा अत्याचार भयो

मान्छेहरु सबै ईश्वरको दास भएछन्
र त मुकदर्शक पुलिस अनि सरकार भयो

स्वाभिमान बेच्ने होड चलेछ सहरमा
प्रथम भयो नेता अनि दोस्रो पत्रकार भयो
Read more ...