आजको मानिसलाई जंगली युगबाट सभ्यताको युगमा बदल्न धेरै आविष्कारहरुको हात छ । आगोको अविष्कारले मानव सभ्यताबाट जंगली ढुङ्गे युगको अन्त्य गरिदियो । कृषिका तौर तरिकाको सिकाइले मानिसलाई प्रकृतिको परनिर्भताबाट माथि ल्याइदियो । पाङ्ग्राको आविष्कारले मानिसलाई यन्त्रसँगको नाता साइनो जोडिदियो । क्यालेण्डर (पात्रो), क्लक (घडि) र कम्पास (दिशासुचक यन्त्र) को आविष्कारले त झन् मानिसहरुको सभ्यताको दिशा अब कहिल्यै पछाडि नहट्ने गरी अगाडि बढाइदियो । त्यही सुचिमा जब क्यालकुलेटरदेखि कम्प्युटरसम्म जोडिन्छ, तब मानव मस्तिष्कको जय जयकार गर्न मन लाग्छ ।
जन्मैदेखि मानिस असन्तोषी छ, त्यही भएर आजको दिनको उपलब्धीसँग त्यसले कहिल्यै चित्त बुझाउँदैन । अर्काे तिर मानिस आफ्नो सिकाइलाई चिरस्थायी राखेर अर्काे पुस्तालाई पनि त्यसको फल चखाउन चाहन्छ । यही उपक्रममा सभ्यताको दौडमा मानिसले आफूँलाई सदैव सक्षम सावित गर्दै आइरहेको छ । होइन भने जीव विकासको चक्रमा केही लाख वर्षको इतिहास मात्र भएको मानिसले आज संसारमा आफ्नो भन्दा करोडौं वर्ष अगाडिदेखि अस्तित्वमा रहेका जीवहरुलाइ आफ्नो स्वार्थ अनुकुल चलाउने क्षमता राख्न सक्नेवाला थिएन ।
विभिन्न राजा, महाराजा वा तिनका राजगुरुहरुले आफ्नो शासनकालका विवरणहरु सिकाइहरुलाई सदैव दिगो बनाउन अनेक कर्महरु गर्ने गरेको इतिहासमा प्रष्ट देखिन्छ । ढुङ्गा, तामा, फलाम, काठ आदि विभिन्न चिजबिजमा यस्ता ज्ञानगुन वा आफ्नो बारेमा जानकारी लेखेर अर्काे पुस्तालाई हस्तान्तरण गर्ने क्रमले सयौं वर्ष निरन्तरता पाइ नै रह्यो । कालान्तरमा कागजको आविष्कार पछि मानव सभ्यताले त्यसको केही दशकहरु भित्रै हस्तलिखित पुस्तकहरु प्राप्त गर्न थाल्यो । जसलाई छिट्टै छापाखानाले निरन्तरता दिँदै पुस्तकहरुको आलय (घर) अर्थात पुस्तकालयको युगका लागि मार्ग प्रशस्त गरिदियो ।
माथिल्लो पंक्तिहरुमा उल्लेख गरिए जस्तै पुस्तकालयको शाब्दिक अर्थ नेपाली भाषाको जननी संस्कृत भाषाका दुई शब्दहरुको समासबाट निर्माण भएको हो । यसमा प्रयुक्त ‘पुस्तक’ ले नेपाली तत्सम शब्द किताब जनाउँछ भने ‘आलय’ ले घर जनाउँछ । अर्थात पुस्तकालय भन्नाले पुस्तकहरु रहेको घर भन्ने बुझ्न सकिन्छ । यसको शब्दोकोषिय अर्थ खोजी गर्दा वसन्तकुमार शर्मा (नेपाल) सम्पादीत ‘नेपाली शब्दसागर’ ले पुस्तकालयलाई ‘सार्वजनिक रुपले पढ्न पाइने गरी राखिएका पुस्तकहरु भएको घर वा खण्ड वा कोठा’ भनेर उल्लेख गरेको पाइन्छ ।
हामी यो युगमा जन्मेका भाग्यमानी पुस्ताले यतिका ज्ञानसागरमा शयर गर्ने यो सुनौलो मौका पाउनुमा पुस्तक र अझ पुस्तकालयको सदैव योगदान रहिआएको छ । धेरैले आजको विकासको पूर्वाधार शिक्षालाई मान्ने गरेका छन्, जसको मेरुदण्ड हजारौं वर्षदेखिको शिक्षालाई अर्काे पुस्तामा हस्तान्तरण गर्ने यिनै पुस्तकहरु नै हुन् । त्यसैले त बेलायती लेखक थोमस कार्ले पुस्तकको विशाल संग्रहलाई मात्र सहि अर्थको विश्वविद्यालय मान्दछन् ।
मानव जीवनमा आज पुस्तकालय अपरिहार्य आवश्यकता भइदिएको छ । जन्मेपछि शिक्षा आर्जन गर्न, सुचना प्राप्त गर्न, क्षमता अभिवृद्धि गर्न, मनोरञ्जन प्राप्त गर्न अनि चित्त शुद्धिका लागि समेत आज पुस्तकको अपरिहार्यता भइसकेको छ । त्यसैले त हिजो ठूला ठूला शैक्षिक संस्थाहरु वा विश्वविद्यालय केन्द्रीत पुस्तकालय आज सभ्य समाज र अझ सभ्य घरको समेत अंग बनिसकेको छ । यसैको महत्व बुझेका प्राचिन रोमका विद्वान सिसेरोले पुस्तकालयलाई घरको आत्मा मानेका छन् भने बेलायती दार्शनिक बेकोनले यसलाई सबैभन्दा पवित्रस्थलको रुपमा परिभाषित गरेका छन् ।
![]() |
| प्राचिन पुस्तकालयका रूपमा मानिएकाे मेसाेपाेटामियाकाे Clay Tablet काे एउटा नमुना |
यस्तो पवित्रस्थलको शुरुवात विश्व इतिहासमा आजभन्दा झण्डै ५ हजार वर्ष पहिले मेसोपोटामियाबाट भएको मानिन्छ । लिपीको विकास नहुँदै कालो वा त्यस्तै गिलो माटोका खबटाहरुमा उनीहरुले आफ्ना विचारहरु चित्रात्मक स्वरुपमा बनाएर घाममा सुकाएर राख्ने गर्थे । पछि उनीहरुले क्युनिफर्म लिपि विकास गरेर त्यही लिपिमा माटाका खबटाहरुमा लेखेर संग्रह गर्न थाले । यसरी लेखिएका ३० हजारभन्दा बढि विभिन्न खबटाहरुको संग्रह (‘क्ले ट्याब्लेट्स’) लाई नै मानव सभ्यताको पहिलो पुस्तकालयको दर्जा दिइएको छ ।
पश्चिमी सभ्यताका आदिदार्शनिक मध्येका एक सुकरातका चेला प्लेटोका सबैभन्दा बफदार अनुयायी अरस्तुले जनस्तरमा पुस्तकहरुको संग्रहलाई श्री गणेश गरेको इतिहासकारहरु मान्दछन् । उनी नै त्यस्ता व्यक्तित्व थिए, जसले दरबारबाट पुस्तक तथा ग्रन्थहरुको संग्रहलाई जनसमुदायका माझमा उभ्याएर ज्ञानको बहसको औपचारिक सुत्रपात गरिदिए । यति मात्र हैन उनले ग्रीक दरबारलाई पुस्तकालय व्यवस्थापनको शिक्षा समेत दिएको इतिहासका पानाहरुमा पढ्न पाइन्छ । जसको परिणाम स्वरुप तत्कालिन अवस्थामा ७ लाख भन्दा बढि अध्ययन सामाग्रीहरु सहितको संकलन ‘अलेक्जेण्ड्रीयाको महान पुस्तकालय’ को स्थापना सम्भव हुन सक्यो । यही जगमा ग्रीक सभ्यता तत्कालिन अवस्थामा सारा पश्चिमी सभ्यतालाई अन्धकार युगबाट उज्यालो तर्फको बाटो देखाउने प्रकाशस्तम्भ बन्न पुग्यो ।
![]() |
| ग्रीक सभ्यताकाे अमुल्य निधि अलेक्जेण्ड्रीया पुस्तकालय, जसकाे धेरै महत्वपूर्ण संकलनहरू जलेर नष्ट भयाे । |
यही क्रमको निरन्तरतामा संसारभर १८ औँ शताब्दिको पुनर्जागरण कालपछि भने पुस्तकालयहरुको स्थापनामा तिब्रता आउन थाल्यो । राज्यस्तर, शैक्षिक प्रतिष्ठानहरु र समुदायस्तरबाट समेत यसको विकासका लागि पहलकदमी हुन थाल्यो । जसको परिणाम स्वरुप आज पनि संसारभर ज्ञानको स्रोतका रुपमा विभिन्न राष्ट्रिय, शहर स्तरिय वा विश्वविद्यालयका पुस्तकालयहरु नै अग्र्रस्थानमा छन् ।
नेपालको पुस्तकालयको इतिहास भने त्यति पुरानो छैन । राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा संग्रह गरेका विविध हस्तलिखित सामाग्रीहरुलाई व्यवस्थित गर्न वि. सं. १८६९ भदौ १५ मा उनका पनाति राजा गीर्वाणयुद्धविक्रम शाहले काठमाडौंको वसन्तपुर दरबारमा स्थापना गरेको ‘पुस्तक चिताई तहविल’ लाई नै नेपालको पहिलो पुस्तकालयको रूपमा लिइन्छ । त्यही मानक दिनको सम्झनामा नेपालभर हरेक भदौ १५ गते लाई राष्ट्रिय पुस्तकालय दिवसका रुपमा मनाउने प्रचलन विगत एक दशकदेखि जारी छ ।
पुस्तकसँगको प्रेमले नै मानिसलाई आजको युगसम्म औंला समाएर ल्याएको थाहा पाउने शासकहरुले यसलाई लामो समयसम्म जनताको पहुँचबाट टाढा नै राखेको इतिहास हामी यस्तै पुस्तकका पानाहरुमा पढ्न पाउँछौं । जनस्तरमा प्रजातन्त्र, शिक्षा र चेतनाको बिउ रोपिए आफ्नो निरङ्कुश राजको अन्त्य हुने त्रासमा रहेको तत्कालिन जहाँनिया राणा शासकहरु पुस्तकहरुप्रति अत्यन्त अनुदार देखिन्थे । तर समयक्रमले नेपालमा स्वतन्त्रताको बिउ रोप्न पुस्तकहरुले नै ठूलो भूमिका खेलेको देख्न सकिन्छ ।
राणाकालमा पुस्तक लेखेबापत तथा पुस्तकालय स्थापना गरेबापत पुरस्कार स्वरुप जेलको चिसो छिँठी, जरिवानादेखि मृत्युसमेत प्राप्त गरेको उदाहरणहरु देख्न सकिन्छ । वि. सं. १९८३ मा पाल्पाका केही युवाहरूले तानसेनमा ‘पुस्तक पढ्ने दलान’ नामाकरण गरी एउटा पुस्तकालयको स्थापना गरेका थिए । तर यसले दोस्रो वर्ष देख्न नपाउँदै तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरले यसको अध्याय इति श्री गराइदिए ।

लेखक कृष्णलाल अधिकारीले ‘मकै खेति’ पुस्तक लेखेवापत वि.सं. १९८६ मा जेल चलान भए र वि. सं. १९९० मा जेलमा नै सहिद भए । उनलाई नेपाली इतिहासले ‘प्रथम साहित्यिक सहिद’ का नामले सम्मान प्रदान गरिरहेको छ ।
जनस्तरमा ज्ञानको ज्योति फैलाउनका लागि काठमाडौंमा ‘सरस्वति सार्वजनिक पुस्तकालय’ स्थापना गर्ने तयारी गरे वापत वि. सं. १९८७ मा महाकवि लक्ष्मीप्रसाद देवकोटा, तुलसीमेहर श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ, जोगवीर सिंह, हरिकृष्ण श्रेष्ठ, कृष्णप्रसाद थपलिया लगायतका ४५/४६ जना बुद्धिजीवी तथा समाजसेवीहरु पक्राउ परे । यही सत्कर्मको पुरस्कार स्वरुप प्रधानमन्त्री भीम शम्शेरका आदेशमा जनही रु सय÷सय जरिवाना तिरेपश्चात अब उप्रान्त त्यस्ता गतिविधीहरुमा संलग्न नहुने शर्तमा उनीहरुलाई रिहा गरियो । यही काण्डलाई नेपालको इतिहासले ‘लाइब्रेरी (पुस्तकालय) पर्व’ को रुपमा सम्झन्छ । तर अन्ततः यिनै विद्वानहरुको अक्षरको बलमा बनारसबाट प्रकाशन हुने पर्चा, पत्रिका र पुस्तकहरुले नै नेपाललाई वि. सं. २००७ सालमा प्रजातन्त्रको बिहानी देखाइदियो ।
हाल नेपालमा विभिन्न खालका गरी चार हजारभन्दा बढि पुस्तकालयहरु सञ्चालनमा रहेका छन्, जस मध्ये एक तिहाई शैक्षिक संघ संस्थाहरुले स्थापना गरेका छन् । नेपालमा हाल सरकारीदेखि समुदायिकसम्मका विभिन्न खालका पुस्तकालयहरु सञ्चालीत छन् । यस्ता पुस्तकालयहरु नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, स्थानिय तह र सामाजीक संस्थाहरुले सञ्चालन गरिरहेका छन् । उता विद्यालय, कलेज तथा विश्वविद्यालयका पुस्तकालयहरुले नेपालका पुस्तकालयहरुको साँख धानिरहेको मान्न सकिन्छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय नेपालको सबैभन्दा ठूलो पुस्तकालयका रुपमा सञ्चालनमा रहेको आजको दिनमा देशभरका सबै जसो प्रदेशहरुमा पनि यही विश्वविद्यालयका आंगिक कलेजका पुस्तकालयहरु नै सम्बन्धीत प्रदेशको सबैभन्दा ठूलो पुस्तकालयहरुका रुपमा दर्ज छन् । त्यसै गरी नेपालका कार्यरत विभिन्न कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका पुस्तकालयहरुले पनि नेपालका विभिन्न सहरहरुमा सेवा गरिरहेका छन् ।
| नेपालकाे सबैभन्दा ठूलाे पुस्तकालयः त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय |
पुस्तकहरुको विराट संग्रह पुस्तकालयलाई श्मशान जस्तो उजाड मान्नेहरुको पनि कुनै कमि छैन यो दुनियाँँमा । पुस्तकहरु आवाज निकाल्दैनन् पुस्तकालयका टाँसीहरुमा, न त बोल्दछन् बाकस, दराज, झोला अनि टेबलहरुमा । तर यसो नियालेर हेरौं संसारमा सबैभन्दा बुलन्द आवाजहरुको सिर्जना यिनै पुस्तकहरुका मद्धतबाट भएका छन् । पुस्तकहरु मौन छन् तर संसारका अनेकौं गहन प्रश्नहरुको जवाफ या त यिनीहरुसँगै छन्, नत्र त्यो जवाफसम्म पुग्ने बाटो यिनीहरुसँग छन् ।
संसार हल्लाउने महान क्रान्ति योद्धाहरु र स्वतन्त्र सेनानीहरुको जीवनलाई नियाल्दा पुस्तक र पुस्तकालयसँगको अत्यन्त निकटता सहजै देख्न पाइन्छ । दासप्रथा उन्मुलन गराउने अमेरिकी १६ औं राष्ट्रपति अब्राहम लिंकन हुन् या अश्वेत आन्दोलनका नायक मार्टिन लुथर किङ्ग, तिनै मौन पुस्तकहरुको आवाज बोल्दा नै उनीहरुलाई आज मानव इतिहासले सलाम गरेको छ । दक्षिण अफ्रिकाको शान्तीपूर्ण क्रान्तिका नायक नेल्सन मण्डेला हुन् वा छापामार आन्दोलन मार्फत जनसत्ता स्थापना गर्ने संकल्प गरेका छापामार योद्धा चे ग्वेभारा, उनीहरुको नेतृत्वमा भएको उलटपुलटमा पुस्तकालयका तखतामा रहेका तिनै स्थिर पुस्तकहरुको हात छ ।
नेपालकै राजनैतिक आन्दोलनका अगुवाहरुको इतिहास पनि पुस्तकभन्दा परको छैन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको पुस्तक प्रेमका अनेक किस्साहरु सुन्न पढ्न पाइन्छ । नेपाली कांग्रेसले अंगिकार गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्तका व्याख्यता नेता विपी कोइराला त आफैंमा साहित्यकार नै थिए । उनले जेल जीवनमा समेत पुस्तकको साथ कहिल्यै छाडेनन् भनेर उनको प्रशंसा गर्ने गरिन्छ । तत्कालिन नेकपा (एमाले) को सिद्धान्त जनताको बहुदलिय जनवादका प्रतिपादक मदन भण्डारी समेत अध्ययन र लेखनलाई अत्यन्त महत्व दिने नेताका रुपमा परिचित छन् । वर्तमान प्रधानमन्त्री केपी ओलीको कुनै पनि क्षेत्रमा विषद बहसमा उत्रन सक्ने खुबीमा पनि स्वअध्ययनको भूमिका देख्नेहरु धेरै छन् । औपचारिक शिक्षा धेरै नभएका यी सम्माननियले एक दर्जनभन्दा बढि वर्षहरु पञ्चायति जेलमा कटाउदा मोदनाथ प्रश्रीत, प्रदिप नेपाल लगायतका अध्येताहरुसँगको संगतले जेलमा नै मिनी पुस्तकालय बनाउन सफल भएका थिए ।
मानिस प्रश्न गर्न सबैभन्दा बढि मन पराउँछ । यहि प्रश्नप्रियताले नै मानिसलाई यो पृथ्वीलोकको सबैभन्दा विवेकी प्राणी बनाइदिएको पनि हो । मानव समाज पाङग्रादेखि पुस्तकसम्म यिनै प्रश्नहरुमा गुड्दै गुड्दै आएको हो । कृषिदेखि कम्प्युटरसम्मको यात्रा पनि मानिसहरुले यिनै प्रश्नहरुको चाङमा चल्दै अनि जवाफहरु खोज्दै गर्दा पुगेको हो । वास्तवमा यिनै प्रश्नहरुलाई हामीले आजको युगमा व्यवस्थीत रुपमा अनुसन्धानका रुपमा विकास गरिदिएका हौं ।
हिजोका प्रश्नहरुको उत्तरलाई लिपिबद्ध गर्दै नयाँ प्रश्नहरुको समाधानमा समाहित भएको मानव समाजमा अनुसन्धानको लागि पुस्तकालय मेरुदण्ड सावित भइदिएको छ भन्दा अत्युक्ति नहोला । आजको जगमा मात्र नयाँ बाटो छिटो भेटिने भएकाले अनुसन्धानमा पुस्तकालय अत्यन्त आवश्यक ठानिएको छ ।
विश्वप्रसिद्ध साहित्यकार शेक्सपेयरले संसारका लागि पोषण पुस्तक, कला र बौद्धिकतामा मात्र पाइन्छ भनेर आजभन्दा तीन शताब्दी अगाडि भनेका थिए । उनको पालामा पुस्तक पढ्न पुस्तकालय, कला हेर्नका लागि प्रदर्शनी केन्द्र (थ्रेटर) र बौद्धिकहरुको भेटका लागि विद्वत परिषद्मा जानु पर्दाे हो । आजको यो विकशित स्वरुपको पुस्तकालयको अवधारणा त्यतिबेला विकास भइसकेको हुन्थ्यो भने सायद उनी कम्ती खुसी हुँदैनथिए होलान् । कारण आज यी सबै क्रियाकलाप पुस्तकालयको विषद रुपमा अटाइसकेको छ । आज पुस्तकालय भनेको पुस्तकको चाङमात्र नभइ बौद्धिक बहसको थलो, विभिन्न शैक्षिक र वाङ्गमयीक क्रियाकलाप आयोजना गर्ने स्थल, नविन खोज वा अनुसन्धानको बारेमा सुन्ने सुनाउने मञ्च अनि संसारका विभिन्न कुनामा चलिरहेका विभिन्न लहरहरुको बारेमा अनुभव आदन प्रदान गर्ने सेतु समेत बन्न पुगेको छ ।
संसारका महानतम दार्शनिकहरुले पुस्तक र पुस्तकालयसँगको नाता साइनोले नै नयाँ खोज तथा अनुसन्धान गरेर संसारलाई नविनतम् विचारबाट सिञ्चीत गरेको प्रसंग कसैबाट छिपेको छैन । अघिल्लो सहस्राब्दीको अन्त्यतिर सन् १९९९ मा विश्व प्रसिद्ध मिडिया हाउस बिबिसीले सकिँदै गरेको सहस्राब्दीको महानतम् दश चिन्तकहरु चयन गर्न संसार भर सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणले कम्युनिष्ट दर्शनका प्रवर्तक कार्ल माक्र्सलाई सर्वाधिक महानतम् चिन्तकका रुपमा प्रस्तुत गरेको थियो । उनै माक्र्सको दर्शनमा, अझ भन्नुपर्दा उनको राजनैतिक अर्थशास्त्रका सिद्धान्तहरुमा बेलायतको निर्वासनमा रहँदा ब्रिटिस लाइब्रेरीमा गरेको अध्ययनको विशिष्ट भूमिका थियो भन्दा अत्युक्ती नहोला । उनी सो पुस्तकालयमा बिहान सबैभन्दा सबेरै आइपुग्ने र साँझ सबैभन्दा ढिलासम्म रहने नियमित अध्येता थिए । कतिसम्म भने, कयौं दिन यस्ता पनि थिए कि बेलुका पुस्तकालयका कर्मचारीहरुले उनलाई जवर्जस्ती पुस्तकालयबाट निकालेर घर पठाउनु पथ्र्याे । गरिबीका कारण उनी आफ्नो निजी पुस्तकालय बनाउन सक्ने क्षमतामा थिएनन्, फलतः यही उनको नियती थियो । पुस्तकालयसँगको यही प्रसंगले नै अन्ततः उनलाई सहस्राब्दीकै सर्वाधिक महानतम् चिन्तक बनाइदियो ।
![]() |
| ब्रिटिस पुस्तकालयमा गहन अध्ययन गर्दै कार्ल मार्क्स |
यही सर्वेक्षणमा दोस्रो स्थानमा रहेका अर्का महानतम् वैज्ञानिक अल्र्वट आइन्टाइनलाई पनि पुस्तकालयले नै त्यो सफलता दिलाएको थियो । होइन भने विद्यालयबाट गणितमा मन्द बुद्धि ठह¥याएर निकालिएको त्यही केटोले संसारको भौतिकशास्त्रलाई नयाँ दिशा दिन सम्भव थिएन । उनको मृत्युपछि उनीसँग रहेका पुस्तकहरुलाई संरक्षणका खातिर इजरायलको हिब्रु युनिभर्सिटी अफ जेरुसलेममा ‘आइन्स्टाइन आर्काइभ’ को नाममा आज पनि सुरक्षित गरिएको छ । विश्वविद्यालयको आधिकारीक वेभसाइट अनुसार त्यहाँ उनले आफ्नो जीवनकालमा संग्रह गरेर राखेको ८१ हजार ५०० पुस्तक तथा सामाग्रीहरु सुरक्षित राखिएका छन् ।
![]() |
| निजि पुस्तकालयमा अध्ययनरत वैज्ञानिक अल्वर्ट आइन्टाइन |
हाम्रै छिमेकी देश भारतमा रहेका अर्का विश्वप्रसिद्ध आध्यात्मीक गुरु तथा दार्शनिक आचार्य रजनिश ओशोको जीवनमा पनि पुस्तकालयले विशिष्ट भूमिका खेलेको पाइन्छ । सानैदेखि पुस्तक संकलन र अध्ययन गर्ने लत लागेका ओशोले एउटा प्रवचनमा मजाक गरेका छन, “बाल्यकालमा मेरो घरमा पुस्तकालय थियो तर युवा कालसम्म त्यो अवस्था परिवर्तन भएर मेरो पुस्तकालयमा घर भएजस्तो भइसकेको थियो ।” उनको जीवनकालमा उनले संग्रह गरेको करिब डेढ लाख पुस्तकहरु आज पनि ओशो पुस्तकालयका रुपमा आशो अन्तर्राष्ट्रिय ध्यान रिसोर्ट, पुणे, भारतमा सुरक्षित राखिएको छ ।
![]() |
| निजि पुस्तकालयमा अध्ययनरत दार्शनिक आचार्य रजनिश ओशो |
माथिका केही दृष्टान्तहरुले प्रष्ट भाषामा बोलेको एउटै कुरा भनेको के हो भने पुस्तकालयले मानिसको अध्ययन र अनुसन्धानमा विशिष्ट भूमिका खेलिरहेको छ । विगतको जगमा नै वर्तमान र वर्तमानको जगमा नै भविष्यको भाष्य निर्माण हुने हो । अर्थात आजको खोज र अनुसन्धानमा विगतको अनुभव र भविष्यको आवश्यकता नै केन्द्रभागमा रहेको हुन्छ । चाहे राजनैतिक क्षेत्रका अनुसन्धान मार्फत नयाँ सिद्धान्तको प्रतिपादन गर्ने कार्य होस् वा वैज्ञानिक क्षेत्रको अनि धार्मिक क्षेत्र कै किन नहोस् हरेक नयाँ ज्ञानको प्राप्तीमा पुस्तकालयको विशेष भूमिका रहेको पाइन्छ ।
मानव जीवनमा पुस्तकको अपरिहार्यतामा अझै शब्द खर्चनु पक्कै मनाविस नठहर्ला । तर विभिन्न खोजहरुलाई आधार मान्ने हो भने आज प्रत्येक वर्ष २२ लाख भन्दा बढि नयाँ पुस्तकहरु प्रकाशित भइरहेका छन् । जसलाई दिनमा गणना गर्दा दैनिक ६ हजार भन्दा बढि हुन जान्छ । अर्थात मानव सभ्यताले हरेक १४ सेकेण्डमा एउटा नयाँ पुस्तक प्राप्त गरिरहेको छ ।
तर सबै पुस्तक सबै खाले पाठकहरुका लागि पक्कै पनि महत्वका छैनन् । यहाँ नेर ब्रिटिस दार्शनिक फ्रान्सीस बेकोनलाई सम्झनु अत्यन्त मनासिव हुन जान्छः “केही पुस्तकहरु चाख्नु पर्ने खालमा हुन्छन्, अरु निल्नु पर्ने खालका अनि केही चाँही चपाएरै पचाउनु समेत पर्ने खालका हुन्छन् ।” अर्थात पुस्तकका प्रकार र उद्देश्यहरु अनुसार नै पाठकले आफ्नो उद्देश्य तयार पारेको हुन्छन् । अध्ययन र अनुसन्धानमा बेकोनले परिभाषीत गरेका अन्तिम श्रेणीका पुस्तकहरु मात्र काम लाग्छन् । अर्थात अध्ययन र अनुसन्धानले विशिष्ट पुस्तकहरुको माग गर्दछ । तर के सबै पुस्तकहरु खोल र समीक्षाका आधारमा पचाउनु पर्ने श्रेणीका हुन् कि हैनन् पत्ता लगाउन सकिन्छ त ? पक्कै सकिन्न । यस्तो बेलामा पुस्तकमा गरेको समय र पैसाको लगानी बालुवामा पानी खन्याए जत्तिकै हुन जान्छ । यस्तो समस्याको समाधानको लागि पनि अध्येता वा अनुसन्धानकर्ताहरुले पुस्तकालयको सहयोग लिन सक्छन् । ता कि पुस्तकालयमा ति पुस्तक अध्ययन गरेर चाख्ने कि पचाउने निर्णय गर्न सकियोस् । यस्तो अवस्थामा समयको त खर्च होला तर पैसाको भने क्षति हुनबाट पाठक बच्छ । पचाउनुपर्ने पुस्तक भए त्यसलाई आफ्नो निजी पुस्तकालयमा सुरक्षित गर्ने बाटो त सदैव खुला छदैँ नै छ ।
बदलिँदो जमानामा पुस्तकालयले पनि आफ्नो स्वरुपलाई निःसन्देह समय सापेक्ष परिवर्तन गरिरहेको छ । आज कार्ल माक्र्सले जसरी पुस्तकालय समय सकिए पछि पुस्तकालयबाट मन अमिल्याउँदै घर जानु पर्दैन । न त जर्मन शासन हिटलरको डरमा निर्वासित हुने क्रममा अर्का जर्मन दार्शनिक फ्रेडिक नित्सेले जस्तो आफ्नो कुल पुस्तकको दुई तिहाई बाँडेर नयाँ यात्रा शुरु नै गर्नुपर्छ । आज संसार सुचना ग्रामका रुपमा तिब्र गतिमा रुपान्तर भइरहँदा त्यसको स्वाभाविक प्रभाव पुस्तकालय क्षेत्रमा पनि परिरहेको छ । आज पुस्तकालय पनि डिजिटल, भर्चुअल तथा ई—पुस्तकालय (विद्युतिय पुस्तकालय) मा रुपान्तरण भइरहेको छ ।
अब पुस्तकालयमा प्रत्यक्ष रुपमा उपस्थित नभइकनै पनि अथाह ज्ञानको ढोका खोल्न सकिने भएको छ । पुस्तकालयको अनलाइन सदस्यता लिएर आज संसारका जुन सुकै कुनाबाट पनि उक्त पुस्तकालयको डिजिटल पहुँचमा पुग्न सकिने भएको छ । यसले त झनै संसार भरका अनुसन्धानमा विशिष्ट भूमिका खेल्ने निश्चित छ । संसारको अर्काे कुनामा भइरहेको अनुसन्धानका बारेमा पुस्तकालयबाट क्षणभरमा नै एउटा क्लिकको भरमा थाहा पाएर आफ्नो अनुसन्धानको दायरालाई फराकिलो बनाउन वा सहकार्य गर्नका लागि यसले ढोका खोलिदिएको छ ।
यसरी हेर्दा पुस्तकालयलाई हामी आजको दुनियाँमा अध्ययन र अनुसन्धानको प्रयोगशालाको रुपमा लिन सक्छौं । आज हरेक अनुसन्धानमा अपरिहार्य पूर्व साहित्य समिक्षाका लागि मात्र हैन सिंगो अध्ययन पुस्तकालयका सामाग्रीहरुबाट गर्न सकिने अध्ययन विधिहरु पनि प्रचलित नै छन् । विभिन्न अनुसन्धान वा सुचनाहरुको विश्लेषणका आधारमा नयाँ निश्कर्षहरु निर्माण गर्ने डेस्क समिक्षा विधि पनि आज प्रचलित नै छन्, जसका लागि पुस्तकालय अपरिहार्य तत्व हो । यही विधि मार्फत हाल सतहमा आएका सुचना, धारणा वा दृष्टिकोणहरुको परीक्षण र परिमार्जनको मार्ग पनि खुल्ने गरेको छ ।

यसरी हेर्दा पुस्तकालयको विकास मानव सभ्यताको परिचायक समेत बन्न पुगेको छ । ‘घर कति सभ्य छ शौचालयले बताउँछ, देश कति सभ्य छ पुस्तकालयले बताउँछ’ भन्ने त कहावत नै बन्न पुगेको छ । यसरी माटोको खबटाबाट सुरु भएको पुस्तकालयको परम्परा ढुङ्गा, काठ, सामुद्री विरुवाको बोक्रा, जनावरको छाला, धातु, ताडपत्र, भोजपत्र, कागज हुँदै आज श्रव्य एवम् श्रव्यदृश्य जस्ता विद्युतीय सामग्रीसम्म आइपुगेको छ । अब अध्ययन अनुसन्धान पढेर मात्र होइन, हेरेर, देखेर, सुनेर र स्पर्श गरेर पनि सम्भव भएको छ । आज देशै भरि स्मार्ट सिटी र स्मार्ट गाउँको बहस चलिरहेको बेला त्यहाँका विद्यालय कलेजहरुमा वा पालिकाहरुमा सुविधा सम्पन्न पुस्तकालय छैन भने तिनीहरुलाई स्मार्ट भन्ने कि नभन्ने भन्ने पनि नयाँ बहस गर्नु जरुरी छ ।

यस प्रकार पुस्तकालयले हाम्रो ज्ञानको क्षितिजलाई उघारेर मानिसलाई अन्तस्करणदेखि नै उज्यालो बनाइदिन्छ । त्यसैले त महात्मा गान्धीले भनेका छन्, “पुस्तकहरु कुनै पनि रत्नहरुभन्दा अधिक मूल्यवान छन् किनकी रत्न आभुषणले बाहिर मात्र चमक देखाउँछ भने पुस्तकले मानिसलाई भित्रैदेखि चम्कीलो बनाइदिन्छ” । यसरी पुस्तकका अनेकौं आयामहरु जस्तै अध्ययन अनुसन्धानमा पनि यसको विशिष्ट भूमिका रहिआएको कुरा माथि उल्लेखित विषय र प्रसंगहरुबाट प्रष्ट हुन सकिन्छ । को दृष्टिविहिन, को दृष्टि सहितको, को धनी, को गरिब, को नेपालको, को अमेरिकाको ? आजको आधुनिक पुस्तकालय प्रणालीले सबै अनुसन्धान कर्ममा लाग्ने अध्येताहरु तथा अनुसन्धानकर्मीहरु माझ अत्यन्त सकारात्मक भूमिका खेलिरहेको छ र आगामी दिनहरुमा अझ विस्तारित रुपमा खेलिरहने छ ।

(शिक्षा मन्त्रालय, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयद्वारा आयोजित राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा दृतिय स्थान प्राप्त गर्न सफल निबन्ध।)









आजको चीनको ढोका सन् १९७८ मा सत्ता सम्हालेका देङ्ग स्याओ पिङ्गले खोलेको मानिन्छ । देङ्गको सत्ता रहँदा चीनले युवाहरुलाई विद्रोह, राजनीति वा युद्धमा होम्ने होइन कि रचनात्मक कार्यमा अग्रसर गराउने नीति लियो । फलतः उनले चीनको अर्थतन्त्र र राजनीतिलाई क्रमशः खुल्ला गर्दै गए । १९८० को दशकमा चिनियाँ युवाहरुलाई उनले युरोप, अमेरिका लगायतका विभिन्न देशहरुमा अध्ययन, अनुसन्धान तथा श्रम गर्न पठाउने नीति लिए । चीनको सरकारी बजेटबाटै त्यसकालमा हरेक वर्ष करिब ३ हजार विद्यार्थीहरुले प्राविधिक शिक्षा हासिल गर्ने अवसर प्राप्त गरे । 











