को हुन् चे ग्वेभारा ?

Wednesday, June 22, 2011





चे ग्वेभाराको पुरा नाम अर्नेस्टो ग्वेभारा डे ला सेर्ना हो । तर क्युवाली क्रान्तिको क्रममा राखिएको चे (जसको अर्थ अर्जेन्टिनी भाषामा मित्र भन्ने हुन्छ) नामले नै उनी विश्व प्रसिद्ध भए । उनको जन्म सन् १९२८ जुन १४ का दिन अर्जेन्टिनाको दोस्रो ठूलो शहर रोसारियोमा भएको थियो । उनी सानैदेखि अध्ययनशिल, दृढ, आत्मविश्वासी तथा दमका रोगी थिए । उनको मध्यम वर्गिय परिवार सानैमा रोसारियो छाडेर अल्ट्रा ग्रेसिया पुगेको थियो ।

जहाँ उनले आफ्नो स्कुल तथा कलेजको शिक्षा ग्रहण गरेका थिए । उनले किशोर अवस्थामा इतिहास, दर्शनशास्त्र र समाजशास्त्रका पुस्तकहरु छिचोलिसकेका थिए । चिलीका प्रगतिवादी कवि पाब्लो नेरुदाको साहित्य पढ्दा पढ्दै उनी माक्र्सवाद तर्फ आकर्षित भए ।


 सन् १९५० मा उनी राजधानी व्युनर्स आयर्स विश्वविद्यालयको चिकित्सा विभागमा भर्ना भए । सन् १९५२ मा आफ्नै विश्वविद्यालयका एकजना सिनियर विद्यार्थी अल्वर्टाेसँग उनले लेटिन अमेरीकाको भ्रमण मोटरसाइकलमा गरे । जहाँ उनले चरम शोषण, रोग, भोक, अशिक्षा तथा असमानताहरुको दृष्य आफ्नै आँखाको अगाडि देखे र डाक्टर बनेर रोग निको पार्ने इरादा बदले । बरु उनी क्रान्तिपथमा हिँडेर समाज कै रोग निर्मूल पार्ने अभियानमा जुटे ।

Related image
चे ग्वेभाराले माेटरसाइकलमा गरेकाे भ्रमणकाे डायरीमा अाधारित चलचित्र द माेटरसाइकल डायरिजकाे एक दृश्य

 सन १९५३ मा उनले सोही विश्वविद्यालयबाट मेडिकल डाक्टरको प्रमाणपत्र लिए । तर उनी पुनः लेटिन अमेरीकाको स्वयंसेवी भ्रमणमा निस्के । त्यसै क्रममा ग्वाटेमालामा पुग्दा सन् १९५४ मा अमेरीकी साम्राज्यवादको प्रत्यक्ष समर्थनमा त्यहाँको सुधारवादी सरकार पतन गराइयो । त्यसले उनलाई संघर्षको पाठ सिकायो । यो हर्कतको विरोधमा उत्रेका जनसमुदायसँगै उनी पनि लागे । तर यो आन्दोलनलाई सत्ताले निर्मम दमन ग¥यो । उनी त्यसपछि मेक्सिकोतर्फ लागे । जहाँ उनले क्युवामा क्रान्ती गर्ने तयारी गरिरहेका फिडेल क्यास्ट्रोलाई भेटे । 


क्युवाली क्रान्तिमा सहभागी हुन चे तयार भए । १९५६ मा त्यही टोलीसँगै उनी डाक्टरको रुपमा क्रान्तिमा सहभागी भए । तर प्रथम मोर्चा मै उनी बन्दुक समाउन बाध्य भए र विस्तारै डाक्टर कम कमाण्डर बढि बन्न पुगे । सन् १९५८ मा उनकै नेतृत्वमा क्युवाको ठूलो मध्येको शहर शान्ता क्लारामा धुँवादार आक्रमण भयो । यो देखेर क्युवाली तानाशाही बातिस्ता सत्ता ढल्यो र १९५९ जनवरीमा क्युवाको राजधानी कब्जा गरियो । 

Image result for che guevara cuban revolution

क्युवाली नयाँ सत्तामा उनले उद्योगमन्त्री र राष्ट्रिय बैंकको अध्यक्ष लगायत थुप्रै जिम्मेवारी सम्हाले । क्युवामा रहँदा समेत विभिन्न देशहरुमा भ्रमण गर्दै उनले विश्वक्रान्तिको माहोल बनाउदै रहे । अन्ततः १९६५ मा उनी आफ्नो सम्पूर्ण पद त्यागेर अफ्रिकी मुलुक कङ्गोको क्रान्तिलाई सहयोग गर्न पुगे ।


त्यसपछि उनी पुनः बोलिभियामा छापामार संघर्ष चलाउन तर्फ लागे । त्यसै क्रममा सन १९६७ अक्टोबर ८ का दिन बोलिभियामा उनी पक्राउ परे र भोलिपल्ट आफ्ना केही सहयोगी सहित अक्टोबर ९ का दिन उनको निर्मम हत्या भयो । अक्टोबर १० मा उनको लास सार्वजनिक प्रदर्शनमा राखियो र त्यसपछि त्यसलाई गायब बनाइयो ।

Related image 

अन्ततः सन् १९९७ मा ३० वर्षे लामो खोजी पछि उनको अस्थिपञ्जर पत्ता लगाएर शान्ता क्लारा क्युवामा समाधिस्थ गरियो । 



आज उनी क्रान्ति, संघर्ष र परिवर्तनका प्रतिमूर्तिको रुपमा स्थापित छन् ।

(साभारः पोखरा पाक्षिक, वर्ष ३, अंक २, असार प्रथम पक्ष, २०६७, चे ग्वेभारा विषेशांक)
Republished @ Himal Pari Ko Aawaj

No comments:

Post a Comment