NO HANDS, NO LEGS, NO WORRIES (नेपालीमा पुनः उत्पादन गरिएकाे भिडियाे)

Saturday, August 30, 2014

Read more ...

सुदर्शन गाैतमकाे प्रेरणादायी कथा (नेपालीमा रेकर्ड गरिएकाे भिडियाे)

Saturday, August 30, 2014

Read more ...

नेइमुलरको प्रायश्चित : सुवास मल्ल

Monday, June 16, 2014
This is an article that tells the story of the origin of the famous poem ''First they came...'' written by Martin Miemoller (1892-1984). This strong poem in one hand reflects the cruelness of Hitler reign and along with this also slaps on the role of the then German Scholars. Although there is controversy on the original writings of the poem, usually the poem goes this way: 
First they came for the communists,
and I didn't speak out because I wasn't a communist.

Then they came for the trade unionists,
and I didn't speak out because I wasn't a trade unionist.

Then they came for the Jews,
and I didn't speak out because I wasn't a Jew.

Then they came for me
and there was no one left to speak out for me.



पहिले तिनीहरु कम्युनिष्टलाई लिन आए
म केही बोलिन किनकी म कम्युनिष्ट थिइन ।
त्यसपछि तिनीहरु टे«ड युनियनवादीहरुलाई लिन आए
म केही पनि बोलिन किनकी म ट्रेड युनियनवादी थिइन ।
त्यसपछि तिनीहरु यहुदीलाई लिन आए
म फेरि पनि केही बोलिन किनकी म यहुदी थिइन ।
अन्ततः तिनीहरु मलाई लिन आए
....र त्यहाँ मेरो लागि बोलिदिने कोही बाँकी थिएनन् ।

    विश्वभर दोस्रो विश्वयुद्धको आगो दन्किरहेको बेला मार्टिन नेइमुलरले लेखेको यो कवितालाई आज पनि विश्वभर सम्झना गर्ने गरिन्छ । जर्मन शासक हिटलरको शासनको वर्णन गर्ने शक्तिशाली यो कविताले एकातिर हिटलरको क्रुरताको झलक दिन्छ भने अर्काे तिर तत्कालिन जर्मन बुद्धिजीवी वर्गलाई गतिलो झापड हिर्काउँछ ।
    यो कविताको वास्तविक स्वरुपको बारेमा अद्यपि विवाद कायमै छ तर सामान्यतया माथि यसले हिटलरले योजनावद्ध हिसावले शासन सत्तालाई आफ्नो अनुकुल बनाएको बुझ्न यो कविताका पंक्तिहरु काफि छन् । सन् १८९२ जनवरी १४ मा जर्मनीको लिप्सटाडमा जन्मेका नेइमुलर पादरी पीताका पुत्र थिए । १८ वर्षको उमेरमा उनी जर्मन जलसेनामा भर्ति भई प्रथम विश्वयुद्धमा कमाण्डरको रुपमा सामेल भएका थिए । सन् १९१८ मा विश्वयुद्धकै क्रममा सैनिक सेवाबाट बहिगर्मन पछि सन् १९२० देखि उनी आफ्नै पीताको बाटो लाग्न थाले ।
प्रथम विश्वयुद्धमा जर्मनीको सर्मानक हार पछि उनी लगायत थुप्रै बुद्धिजीविहरु जर्मनीको उद्धार गर्न सक्ने तथा राष्ट्रिय एकता कायम गर्न सक्ने सशक्त नेताको खोजीमा थिए । यही पृष्ठभूमिमा राजनैतिक अस्तव्यस्तताले जर्जर भएको जर्मनीमा उग्रराष्ट्रवादी नारा लिएर उदाएका हिटलरलाई उनीजस्ता थुप्रै बुद्धिजीवीहरुको समर्थन प्राप्त भयो । कम्युनिष्ट विरोधी नेइमुलरले पनि सन् १९२४ र सन् १९३३ मा हिटलरकै नाजी पार्टीलाई मत दिएर सत्तामा पु¥याउन सहयोग गरे । 
 
तर जब हिटलरले शासन सत्ताको बागडोर सम्हाल्ने मौका पाए छिट्टै नेइमुलरहरुले आफ्नो गल्तीको प्रायश्चित गर्नुप¥यो । जर्मन बुद्धिजीविहरुले नाजी शासनको विरोध गर्न शुरु गर्दासम्म धेरै ढिला भइसकेको थियो । सन् १९३४ देखि १९३७ को बीचमा उनी पटक पटक पक्राउ परे । पछिल्लो पटक अदालतले रिहा गरे लगत्तै नाजी आन्दोलन प्रति बफादार नभएको आरोपमा नेइमुलरलाई १९३८ मा पुनः पक्राउ गरियो र लामो जेल जीवन शुरुवात भयो । उनलाई यसपटक साच्शेनहाउसेन र पछि सन् १९४१ मा दाचाउ कन्सन्ट्रेसन क्याम्पसमा बन्दी बनाइयो । यातना र हत्यामा बदमान दाचाउ कन्सन्ट्रेसन क्याम्प थुनिएका २ लाख बन्दी मध्ये ३० हजारको त हत्या नै भएबाट पनि यो क्याम्पको भयावह रुप थाहा पाउन सकिन्छ । हत्या गरिएका मध्ये दुई तिहाई राजनैतिक बन्दी थिए भने बाँकी यहुदीहरु थिए । हत्या गरिएका राजनैतिक बन्दीहरुमा नाजी सत्ताको विरोधी कम्युनिष्टहरुको वाहुल्यता थियो । विश्वयुद्धको समाप्ती नहुँदा सम्म सन् १९४५ सम्म उनी जेल जीवन नै दिन बिताउन विवश भए ।

जेल जीवनको समाप्ती पछि उनको बाँकी जीवन विश्व शान्तीका पक्षमा वकालत तथा हिटलरको शासनको समर्थन गरेकोमा उनी जीवनभर प्रायश्चित गर्दै बिताए । आम नरसंहारकारी शासकहरुको मात्र होइन आणविक हतियारहरुको उत्पादनको पनि उनी विरोधीका रुपमा उनलाई चिन्न थालियो । अमेरिकाले भियतनाम माथि गरेको आक्रमणको विरोध गर्दै उनले हो चि मिन्हलाई समेत भेट्न पुगे । युद्धको विरोधमा सारा जीवन नै समर्पण गरेकोमा उनलाई सन् १९६६ मा लेनिन शान्ति पुरस्कार प्रदान गरिएको थियो । सन् १९८४ मा उनको देहावसन भयो ।
नेपाल पनि अत्यन्त गहिरो राजनैतिक अस्तव्यस्ताको बीचमा गुज्रिरहेको छ र यसलाई अन्त्य गर्न हिटलर वा जंगबहादुरको उदयको पर्खाइमा केही बुद्धिजीविहरु छन् । आशा गरौं कुनै दिन साँच्चै हिटलरकै उदय भयो भने तिनीहरुको जीवनको बाँकी आधा समय नेइमुलरले जस्तै गल्ती प्रायश्चित गरेर नबितोस् ।

Published on Sunakhari, Bimonthly, Pokhara, 2071 Baishak edition.
Read more ...

नेपाली माटोका हो चि मिन्ह - एकदेव आले | Subash Malla

Tuesday, May 20, 2014
भियतनामी क्रान्तिका पिता साधु नेता हो चि मिन्हले क्रान्तिकारी नैतिकताको बारेमा लेखेका थिए,“.....(क्रान्तिकारीहरुले) अरुले भन्दा पहिले कामको चिन्ता गर्नु र अरुले भन्दा पछि आनन्दको पर्वाह गर्नु ।” यो कुरा उनले कोरा सिद्धान्तको रुपमा मात्र लेखेनन्, बरु साम्राज्यवादीहरुको क्रुर पञ्जाबाट भियतनामी जनतालाई मुक्ति दिनका खातिर आफ्नो लामो जीवन क्रान्तिमा बिताउने क्रममा व्यवहारमा उतारेरै देखाए । त्यसैले त भियतनाम एक पछि अर्काे गर्दै फ्रान्सेली, जापानी र अमेरिकी साम्राज्यवादको चिहान खन्न सक्षम भयो । आफूलाई विश्व महाशक्ति ठान्ने अमेरिकाको निधारमा भियतनामी युद्ध लज्जास्पद पराजयको कालो टिका बनेर आजपर्यन्त रहिरहेको छ । अमेरिकी साम्राज्यवादले खर्च गरेको २०० अर्ब डलर र ६७ लाख टन बमको बदलामा उसले आफ्नो ७५ हजार Dirty Yankees (डर्टी यांकिज, अमेरिकी सेनालाई घृणाको भाषामा गरिने सम्बोधन) लाई चिहान बनाएर भियतनाम छाड्न बाध्य भयो, जबकी उसले दोस्रो विश्वयुद्धमा जर्मनीको भूमिमा गरिएको बमवर्षाको तुलनामा (२७ टन) त्यो करिब तिन गुणा बढि थियो । त्यसैले त स्वतन्त्र भियतनामको मुहार देख्न नपाई कमरेड हो चि मिन्हको निधन भए पनि आजपर्यन्त उनी भियतनामी जनताको बिच मायालु काका होको रुपमा जीवित छन् । 

काका हो कै समाकालिन कालमा नेपालले साम्राज्यवादी पराधिनता त स्विकार गर्नु परेन, यद्दपी नेपालीहरुले एक पछि अर्काे सामन्ती पराधिनता र उत्पीडनको लामो श्रृङ्खला सामना गरे, जसको अवशेषहरु हाम्रो भूमीमा आजपर्यन्त बाँकी छन् । यो सामन्ती तथा अर्ध औपनिवेशिक जालोलाई च्यात्ने अविरल मुक्ति संघर्षमा आफु बाँचुञ्जेलको समय लगानी गर्ने नेपाली क्रान्तीका अथक योद्धाको नाम हो कमरेड एकदेव आले ।

एकदेव आले नेपाली क्रान्तिका संघर्षमय दिनहरुमा पातलो ज्यान र बाक्लो साहस लिएर जीवनभर लडेको योद्धाको नाम हो । त्यस्तै एकदेव आले चमात्कारिक उपन्यासको पात्रले जस्तै असम्भवलाई सम्भव बनाउने नायकको नाम पनि हो । तर सँगसँगै यो विडम्बनालाई पनि भुल्न सकिन्न कि एकदेव आले नेपाली राजनैतिक इतिहासको त्यो पात्रको नाम पनि हो, जो आफ्नो संघर्षका कथाहरुलाई सत्ता र भत्ताको एटिएम कार्डको रुपमा प्रयोग गर्ने उनका समाकालिन तथा अनुज नेताहरुको सम्झनाबाट हराइरहेका छन् । 

तर इतिहास एकादुई मान्छेले बिर्सेर कहाँ मेटिन्छ ? कमरेड एकदेव आले आज पनि जिउँदै छन् गण्डकी प्रदेशका जनताहरुको मुटुमा, जहाँ उनले सामन्ती कालरात्रीमा स्वतन्त्रताको सलाई कोरेका थिए । न त बिर्सेका छन्, उनका समाकालिन भारतका प्रवासी नेपालीहरुले, जसलाई उनले बाँच्नुको साँचो अर्थ र औचित्य सिकाएका थिए । आज अन्धकार कालरात्रीमा कोरिएको त्यही सलाई नेपाली जनक्रान्तिको मशाल बनेर उभिएको छ, जसको जगमा लोकतान्त्रिक गणतन्त्र नेपालको दीपावली गर्न सम्भव भएको छ ।

जन्म र प्रारम्भिक जीवन
कमरेड एकदेव आलेको जन्म तनहुँ जिल्लाको मानौँको डाँडामा वि. सं. १९८० मा एक गरिब किसान परिवारमा भएको थियो । उनको बाल्यकाल गाईबस्तु चराउँदै र खेतबारीमा काम गर्दैमा बित्यो । मगर परिवारको पुरुष हुनुका नाताले किशोरकालमा उनी पनि अंग्रेज गोर्खा भौजमा भर्ति भएर भारत गोरखपुर पुगे । त्यसबेला दोस्रो विश्वयुद्धको कालो बादलले विश्व ढाकेको थियो, जहाँ आफ्नो कलिलो उमेरलाई होम्न उनी बाध्य भए । यद्दपी उनी नेताजी सुभाषचन्द्र बोसको हिन्द आजाद फौजबाट प्रभावित भई अंग्रेज साम्राज्यवादको खिलाफ जागिर र ज्यानको पर्वाह नगरी मोर्चा कस्न थाले । दास्रो विश्वयुद्ध सकियो र भारत पनि स्वतन्त्र भयो । भारतमा स्वतन्त्रताको पाठ पढेर आएका उनी नेपाल आमालाई पनि राणा शासनको निरङ्कुशताको जञ्जिरबाट मुक्त गर्ने अभियानमा आफुलाई होम्ने प्रण सहित नेपाल फर्के ।

राणाविरोधी मोर्चाको अग्रपंक्तिमा
नेपाल फर्केर उनी नेपाली कांग्रेसको मुक्ति सेनामा सामेल भए र विरगञ्ज मोर्चा सम्हाले । विरगञ्ज आक्रमणको सफलता पछि उनी तुरुन्तै आफ्नो जन्मभूमिलाई स्वतन्त्रता दिलाउन तनहुँ आए र तत्कालिन सदरमुकाम बन्दिपुरमा आफ्नै नेतृत्वमा धुवाँदार आक्रमण गरे । तनहुँ कब्जा गरिसके पछि उनी राजधानी केन्द्रित मोर्चा सम्हाल्न काठमाडौँ हान्निए तर नेपाली काँग्रेसका नेताहरुले राणा र राजासँग दिल्लीमा जनघाती दिल्ली सम्झौता गरे । मुक्ति सेनालाई निशस्त्र बनाउने र कथित प्रजातन्त्रको घोषणा गर्ने निरस नाटक मञ्चन गरियो । देशभरका मुक्ति सेना र जनताका पक्षपातीहरुले यसलाई अस्विकार गर्दै जनक्रान्ति जारी राखे । कथित प्रजातन्त्रको विरुद्ध डा. के. आई. सिंहले नेतृत्व गरेको रक्षादलमा उनी सामेल भए । तर सिंह पक्राउ परेकाले रक्षा दलको संयोजन गर्दै उनले संघर्ष जारी राखे । सिंहदरबारमा बन्दी बनाइएका रक्षा दलका नेता डा. सिंह लगायतलाई आलेले २००८ माघमा देशको शासन सत्ताको मुकाम सिंहदरबारमा नै आक्रमण गरी मुक्त गराए । तर डा. सिंह यो आन्दोलनलाई थप अगाडी बढाउनुका साटो संघर्षको मैदान छाडेर त्यही रात तिब्बत भागे । यसरी जनताको विद्रोहको एउटा अध्यायको दुःखद अन्त्य भयो । 

प्रथम जेल जीवन 
आन्दोलनको नेताले संघर्षको मैदान छाडे पछि रक्षा दल तथा तत्कालिन सरकार विरोधीहरु माथि व्यापक दमन शुरु भयो । त्यसको शुरुवात एकदेव आले लगायतका नेताहरुको गिरफ्तारीबाट भयो । एकदेव आले आफ्ना ५० जना कार्यकर्ताहरु सहित धादिङ्गबाट पक्राउ परे र केन्द्रिय कारागार काठमाडौँमा कैद गरिए । केन्द्रिय कारागारमा नै उनी सर्वप्रथम कम्युनिष्टहरुको सम्पर्कमा आए र गरिखाने वर्गको दर्शनबाट आकर्षित भई आफ्नो बाँकी जीवन कम्युनिष्ट विचारधाराबाट अगाडी बढाउने प्रण गरे । 

किसान आन्दोलनहरुको नेतृत्व गर्दै
जेलबाट रिहा भए पछि उनले नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा गई सदस्यता लिए । पार्टीले उनलाई गण्डकी अञ्चलमा किसान आन्दोलनलाई संगठित गर्ने अभिभारा सुम्पेर गृह जिल्ला पठायो । २००९ मा तनहुँकै मानौँ फाँटबाट सर्वप्रथम किसान आन्दोलनको उठान गर्ने उद्देश्य सहित त्यहाँको सामन्तहरुले घोडा चराउन प्रयोग गरिरहेको १५०० रोपनी बाँझो जग्गा उनको नेतृत्वमा अखिल नेपाल किसान संघले कब्जा गरेर किसानहरुलाई बाँड्ने काम ग¥यो । त्यो जग्गामा मकै छर्ने क्रममा २०१० मा किसान र सामन्तहरु बिच भिषण झडप भयो र किसानहरुले सामन्तका गुण्डाहरुलाई परास्त गरेर आफ्नो भूमि रक्षा गरे । त्यस पछि प्रहरीले त्यहाँ व्यापक धरपकड ग¥यो र आले सहित ११ जना किसान नेताहरुलाई तिन महिना निर्मम यातना सहित जेल हालियो । जेलभित्र पनि भूमिहिन किसानहरुको भूमि माथिको अधिकारलाई सुनिश्चित गर्नु पर्ने सहितको १६ सुत्रिय मागहरु राखेर उनले आमरण अनशन शुरु गरे । यही आन्दोलनबाट तर्सिएर सरकार मानौँ बेनी पाटनको जग्गा किसानको नाममा गर्न र उनलाई बिना शर्त रिहा गर्न राजी भयो ।

यो आन्दोलनको सफलतासँगै देशभर किसान आन्दोलनले उचाईं प्राप्त ग¥यो । तनहुँको बन्दीपुर, चोक चिसापनी, बैरेनी, डडुवा लगायतका स्थानहरुमा किसानहरुले सामन्तको जग्गा कब्जा गर्ने, जाली तम्सुक पोल्ने तथा किसानहरुलाई मुक्त गर्ने अभियान नै थाले । यो अभियानका क्रममा आलेले कास्की र पाल्पामा समेत किसान आन्दोलनहरुको नेतृत्व गरे ।

किसान आन्दोलनकै क्रममा सरकारले २०१५ सालमा संविधान सभाको निर्वाचन गर्नुको साटो आमनिर्वाचन घोषणा ग¥यो । उनी नेकपाको तर्फबाट तनहुँ क्षेत्र नं. १ को उमेद्वार भए तर नेपाली काँग्रेसका श्रीभद्र शर्मासँग झिनो मतको अन्तरले पराजीत भए ।

पोखरा जेलमा तहल्का
आन्दोलनकै मोर्चामा अग्रपंक्तिमा रहने क्रममा २०१७ सालमा राजा महेन्द्रले निर्दलिय पञ्चायती शासनको सुत्रपात गरे र राजनैतिक दलका नेताहरुलाई पक्राउ गरी जेल हाल्न थाले । कमरेड आले पनि २०१८ वैशाखमा पक्राउ परे र पोखरा जेलमा नजरबन्दमा राखिए । पोखरा जेलमा पनि त्यहाँको अमानविय अवस्थाबाट असन्तुष्ट आलेले जेलका कैदिहरुलाई सरकारका विरुद्ध संगठित गर्न थाले । त्यही समय जेल भित्र एक कम्युनिष्ट क्रान्तिकारी बन्दी कमरेड कृष्णलाल प्रधानको विरामी अवस्थामा उपचार गर्ने तर्फ जेल प्रशासन बेखवर देखियो । जेलको खराब अवस्थामा मृत्युसँग अन्तिम लडाईं लडिरहेको प्रधानको जीवन रक्षाको माग गर्दै जेलभित्र आन्दोलन शुरु भयो । पहिले त जेल प्रशासनले यसलाई पनि खासै वास्ता गरेन तर जब विरामीको अवस्था दिनानुदिन नराम्रो हुन थाल्यो र आन्दोलनले बिस्तारै सरकार विरोधी रुप लिन थाल्यो, तब स्थानिय प्रशासन समेत तात्न थाल्यो । यो आन्दोलनको खबर जब बाहिरसम्म आयो र पत्रपत्रिकासम्म समाचार छापिन थाल्यो, त्यसले पोखरामा एक प्रकारको असन्तोषको परिस्थिती सिर्जना गर्न थाल्यो । जेलभित्रको यही आन्दोलनले गर्दा प्रधानले अन्तिम अवस्थामा उपचार पाए र सम्भावित भिषण आन्दोलनबाट तत्कालिन सत्ताले तत्कालका लागि राहत पायो । 

पाल्पा जेल ब्रेक
पोखरा जेल विद्रोहको नाईके कमरेड एकदेव आले नै भएको ठहर गर्दै प्रशासन उनलाई त्यहाँबाट जेल सरुवा गर्नु पर्ने निश्कर्षमा पुग्यो । कमरेड आलेलाई त्यसको केही महिना पछि पाल्पा जेल सारियो । पाल्पा जेलमा भने उनले नयाँ रणनीति अख्तियार गरे । उनी जेल प्रशासनको माझ छिट्टै लोकप्रिय भई तिनीहरुको विश्वास जित्दै जेलमा आफ्नो प्रभुत्व निर्माण गर्न थाले । यही विश्वासलाई प्रयोग गरी उनी जेल ब्रेकको योजनामा गुप्त रुपमा लागे । २०१८ माघमा आठ ग्रह एक ठाउँ भई ब्रह्मण्ड ध्वस्त हने व्यापक हल्ला भएको मौका पारी उनले भोजको आयोजना गरे र दिउँसो ४ बजे तिर पाल्पा जेल ब्रेक गरी आफ्ना कार्यकर्ताहरुको साथ जंगल पसे । 

नेकपाको तेस्रो महाधिवेशन र विभाजनको श्रृङ्खलाको सुत्रपात
उनी सरासर पार्टीको आधार ईलाकामा गए र पार्टीसँग एकाकार भए । त्यसबेला नेपाल कम्युनिष्ट पार्टी आफ्नो तेस्रो महाधिवेशनको तयारी गर्दै थियो र देश भित्र राजनैतिक गतिबिधीमा प्रतिबन्ध लगाइएकाले सबै नेताहरु बनारसमा जुट्दै थिए । उनी पनि २ महिना पछि बनारस पुगे र महाधिवेशनलाई सम्पन्न गराउन अहोरात्र खटिए । यही महाधिवेशनले कमरेड आलेलाई पार्टीको केन्द्रिय कार्यसमितीमा सर्वसम्मत निर्वाचित ग¥यो । तर विडम्बना यही महाधिवेशन देखिका असन्तुष्टिहरुले गर्दा बिस्तारै पार्टीमा विभाजनका रेखाहरु कोरिन थाले । त्यसको शुरुवात मोहन विक्रम सिंहहरुले पार्टी विभाजन गराएर गरे । विस्तारै पुष्पलाल खेमा र मोहन विक्रम खेमामा पनि एक पछि अर्काे गर्दै विभाजनको अटुट श्रृङ्खला प्रारम्भ भयो, जुन आज उप्रान्त रोकिएको छैन ।

प्रवासी नेपालीहरुको आवाज
टुटफुटको यो क्रममा एकदेव आले पुष्पलालको नेकपामा अडिग भएर बसिरहे र तल्लो तप्काका सुकुम्बासी, मजदुर तथा किसानहरुलाई समेट्दै उनीहरुको सुख दुःखमा हातेमालो गर्दै अगाडी बढिरहे । तेस्रो महाधिवेशन पछि एकदेव आलेले किसान फाँटबाट बिदा लिई गोरखपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर प्रवासी नेपालीहरु माझ पार्टीलाई पु¥याउन थाले । गोरखपुर बसाईको क्रममा उनी प्रवासी नेपालीहरुको पीडालाई समाधानको बाटो दिन तत्पर थिए । उनी कहिले बिरामी प्रवासीको उपचार गराउदैँ हुन्थे त कहिले आफन्त नभएका मृतकहरुको दाहसंस्कार ! सिमानामा लुटिएका नेपालीहरुलाई बाटो खर्च दिएर घर फिर्ता गराउनु वा विद्यार्थीहरुको समस्यालाई समाधान गर्नु, यही उनको दिनचर्या भएको थियो । सँगसँगै ति समयहरुमा पार्टीको आर्थिक स्रोत व्यवस्थापन गर्न गोरखपुरको विशेष भूमिका रहिआएको थियो । यसै बिच २०२५ मा सम्पन्न पार्टीको तेस्रो राष्ट्रिय सम्मेलनले पुनः उनलाई केन्द्रिय समितीमा निर्वाचित ग¥यो ।

प्रेरक व्यक्तित्व
कमरेड एकदेव आलेलाई नजिकबाट चिन्ने र संगत गर्नेहरु उनीबाट अत्यन्त प्रभावित भएको पाइन्छ । काममा अथक क्रियाशिलता, विचारमा अडिग निष्ठा तथा सिद्धान्तमा अविचल आस्था उनको व्यक्तित्वका पर्यायवाची गुणहरु थिए । उनी बिहान सबेरै उठ्थे र श्रमको सम्मान गर्थे । अध्ययन प्रतिको उनको लगावले गर्दा नै एक सामान्य परिवारको अनपढ ठिटो माक्र्सवादको कुशल प्रचारक बन्न सकेका थिए । उनी कम्युनिष्ट भएदेखि बल्ल अध्ययनको महत्व थाहा पाएर कखरा सिक्न थालेका थिए । तर छिटै नेपाली, हिन्दी तथा अंग्रेजी लेख्न र पढ्न सक्षम भइसकेका थिए । उनी माक्र्सवादको सिद्धान्तका ज्ञाता मात्र नभई समाजको खुला पुस्तकको समेत ज्ञाता भएका नाताले उनले दिएको प्रशिक्षणलाई हरेक पुस्ता र तप्काका मानिसहरुले सहजै बुझ्न सक्थे ।

अन्तिम दिनहरु
निरन्तर क्रियाशिलता, असन्तुलित खानपान र अत्यन्त व्यस्त जीवनशैलीका कारण आलेको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रँदै जान थाल्यो । अन्ततः पेटको क्यान्सरका कारण ४५ बर्षको अल्पायु मै भारतको दरभंगा मेडिकल कलेजमा २०२५ माघ १२ गते उपचारको क्रममा उनको दुःखद निधन भयो । क्यान्सरले थलिएर अस्पतालको बेडमा छटपटाइरहेका आलेलाई भेट्न पुगेका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाललाई उनले ‘आफु विदेशी अस्पतालमा होइन स्वदेशी माटोमा लड्दै मर्न चाहेको’ बताएको पुष्पलालले आफ्नो लेखमा उल्लेख गरेका छन् । उनको निधन भएको दिन माघ १२ (जनवरी २६) लाई क. एकदेव आले स्मृति दिवसको रुपमा हरेक वर्ष मनाउने निर्णय नेकपाले गरेको थियो ।

उपसंहार
कमरेड आलेको मृत्युमा नेकपाको केन्द्रिय कार्यालयले विज्ञप्ती प्रकाशित गरी लेखेको थियो, “क. आलेको निधन त्यस समय भयो, जब उहाँको सबैभन्दा बढि आवश्यकता थियो ।” पञ्चायती कालरात्रीको विरुद्ध अथक योद्धाको निधनले पक्कै पनि नेपाली जनताको मुक्तिसंघर्षको अभियानमा गम्भिर क्षति पुगेको थियो । अनौठो संयोग नै मान्नु पर्छ, नेपालमा कमरेड आलेको मृत्युको अर्काे वर्ष भियतनामी जनताले पनि आफ्नो प्रिय काका होलाई गुमाए । यो दुवै क्षणहरु तत् तत् देशका जनताहरुलाई छातिमा विशाल पहाडले किचे जत्तिकै पीडादायक थियो । यद्दपी “हामी साम्राज्यवादको विरुद्ध हजार वर्षसम्म लड्यौँ र आवश्यक परे अझै हजार वर्षसम्म लड्न तयार छौँ” भन्ने काका होको शिक्षालाई ग्रहण गर्दै, शोकलाई शक्तिमा बदलेर भियतनाम काका होको मृत्युको करिब १५ वर्ष पछि सन् १९७५ मा अमेरिकालाई आफ्नो भूमिबाट धपाउन सक्षम भयो । नेपाली जनताहरुले पनि कमरेड आलेको निधनको करिब २१ वर्ष पछि पञ्चायती जनविरोधी सत्तालाई निर्मुल पार्ने उनको ‘जुनुन’ पुरा गरी छाडे । तर उनको समतामुलक समृद्ध समाज निर्माणको सपना हामीले अझै पुरा गर्न सकेका छैनौँ, जुन जिम्मेवारी पुरा गर्ने अभिभारा हाम्रो काँधमा आजसम्म कायम छ ।

राजनैतिक नेतृत्वलाई मात्र दोष दिनुको कुनै अर्थ छैन, कमरेड आलेलाई आजको हाम्रो पुस्ताले समेत बिर्सिरहेको छ र यो उनको योगदान प्रति सबैभन्दा ठूलो अपमान हो । पुष्पलाल स्मृति प्रतिष्ठानले हरेक वर्ष उनको स्मृति दिवश मनाइरहेको छ र उनको तिसौँ स्मृति दिवशमा उनको जीवनी र सम्झनाहरु समेटेर एउटा ग्रन्थ समेत प्रकाशित गरेको छ । ‘जनवादी आन्दोलनका महान सेनानी’ नामक यो ग्रन्थमा आलेको जीवनीबारे संक्षिप्त चर्चा पाउन सकिए पनि एउटा लेख अर्काेसँग बाँझिने खालको भएकाले पाठकहरुमा झनै दुविधा हुन सक्छ । उनको गृह जिल्ला तनहुँको सदरमुकाम दमौलीमा अखिल नेपाल किसान संघले उनको अर्धकदको शालिक सहितको पार्क निर्माण गरेको छ । सरकारले हालै उनको तस्विर अंकित हुलाक टिकट समेत प्रकाशित गरेको छ भने तनहुँमा नै स्थानिय स्तरमा उनको नाममा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान स्थापना गरिएको छ । यद्दपी आर्थिक अभावमा यसको आफ्नै भविष्यका बारेमा कसले चिन्तन गरिदिनु पर्ने हो भन्ने अवस्थामा प्रतिष्ठान पुगेको छ । तनहुँ जिविसको नाममा रहेको सरकारी जग्गा कब्जा गरेर कार्यालय भवन बनाउन थाले पछि प्रतिष्ठान झनै विवादित बनेको छ । कमरेड आलेको नाममा सरकारी स्तरबाटै प्रतिष्ठान स्थापना गरी उनको जीवनी र दर्शनको खोजी गरेर जनसमक्ष पु¥याउनु पर्ने आवश्यकता महशुस गरिएको छ । त्यो भन्दा बढि उनले देखाएको दृढ आस्थाको बाटोमा अडिग भएर समतामुलक समृद्ध समाज निर्माणमा लाग्नु नै उनी प्रतिको सच्चा श्रृद्धाञ्जली हुनेछ ।

subash.malla@gmail.com
Published on 12th Magh, 2071, Bhangyang(भञ्ज्याङ) National Daily, Damaulai.
Read more ...

रावण : ओझेल पारिएको पाटो | सुवास मल्ल

Monday, May 19, 2014
यहाँ जित्नेहरु कै इतिहास लेखिन्छ
र हार्नेहरुको योगदान मेटिन्छ

प्रायः संसार भर सत्य र असत्यको फैसला जीत र हारमा अडेको विडम्बनापूर्ण इतिहास हाम्रो सामु देख्न पाइन्छ । जित्नेहरुको कार्यको प्रसंसा गर्दा गर्दै मान्छेहरु हार्नेहरुको योगदानको चर्चा गर्ने समय पाउँदैनन् वा जानी जानी बिर्सिदिन्छन्÷बिर्सेको अभिनय गरिदिन्छन् । धेरै अवस्थामा त जित्नेहरुले नै हार्नेहरुको इतिहासलाई नामेट पारिदिन्छन् र आफूँलाई देवत्वकरण गर्न कै लागि हार्नेहरुलाई दानविकरण गरिदिन्छन् । पूर्विय मिथकमा रावण एउटा त्यस्तै पात्र हो, जो हारेको हुनाले उनको योगदानलाई जित्नेहरुले मेटिदिएका छन् ।
हामीले पढेको÷सुनेको रामायणमा रावणलाई यसरी वर्णन गरिएको छ मानौं उनी बुद्धि र विकेक विहिन क्रुर शासक थिए । तर पछिल्ला खोज तथा अनुसन्धानहरुलाई आधार मान्ने हो भने रावण बल, बुद्धि र शौर्यशाली राजा थिए भन्ने कुरा मान्न खास गाह्रो छैन । यसको मतलव रावण असल थिए बरु राम पो बदमास थिए भन्ने मेरो तर्क होइन । मैले त यहाँ केवल रावणको पनि ओझेल पारिएको पाटो थियो भनेर त्यसको पर्दा उतार्न मात्र खोजेको हो ।

रावणको परिवार
रामायणमा रावणलाई लंकाको राजाको रुपमा चित्रण गरिएको छ । राक्षस गणका भयंकर योद्धा सुमालीकी छोरी कैेकसी र महान ऋषि विश्वश्रवाको कोखबाट जन्मेकाले रावणमा बौद्धिकता र लडाकुपन दुवै थियो । उनका कुम्भकर्ण नामक अजंगको ज्यान भएको भाइ, राजकाजमा निपूर्ण अभिरावण नामक भाइ, शुर्पणखा नाम गरेकी कुरुप बहिनी र विभीषण नाम गरेका अर्का भाइ थिए । यस बाहेक रावणका खारा र धुशाना नाम गरेका भाइहरु र खुम्बिणी नामकी बहिनी पनि थिइन् । उनको विवाह मन्दोदरीसँग भएको थियो, जसको गर्भबाट मेघनाथको जन्म भयो । इन्द्रलाई समेत परास्त गरेका हुनाले यी पराक्रमी युवराजलाई इन्द्रजीत पनि भनिन्थ्यो ।




दश टाउकाको अर्थ
रावणलाई उनको योगदानको बलस्वरुप दशमुखा अर्थात दशवटा टाउको भएको भनेर पनि चिन्ने गरिन्छ । तर वास्तवमै उनको दशवटा टाउको नभएको र दशवटा पण्डीत बराबरको बौद्धिकता भएकाले उनलाई दशमुखा भनिएको भनेर सम्बोधन गरिएको मान्ने पण्डीतहरु पनि छन् । ४ वटै वेद र ६ वटै उपनिषदको ज्ञाता भएकाले उनलाई दश टाउको बराबरको मानेर दशानन (दश+आनन(मुख)) रुप दिइएको तर्क तिनीहरुको छ । अरु केही व्याख्याताहरु भने उनको असली टाउको बौद्धिकताको प्रतिक भएको र बाँकी ९ टाउकोले उनी सम्पूर्ण नवरस (श्रृंगार, वीर, करुण, हाँस्य, रौद्र, भयानक, विभत्स, अद्भुत र शान्त) ले युक्त पूर्ण मान्छे भएको जनाउने पनि बताउने गरेका छन् । माया अवतार जानेका कारण दश वटा टाउको देखाउन सक्षम भएको भन्नेहरुको पनि कुनै कमि भने छैन ।


बौद्धिकताा
माथिका प्रसंगहरुबाट रावण बौद्धिक मान्छे हो भन्नेमा त कुनै शंका नै भएन । बरु उनको बौद्धिकतालाई वर्णन गर्ने थप प्रमाणहरुका रुपमा उनको अध्ययन तथा अनुसन्धानलाई लिन सकिन्छ । रावणलाई आयुर्वेद, ज्योतिर्विद्या र कुटनीतिको विज्ञको रुपमा रामायणमा स्विकार गरिएको छ । हिन्दु ज्योतिषविद्या को महत्वपूर्ण पुस्तक ‘अरुण संहिता’ र ‘रावण संहिता’का रचनाकार रावण नै थिए । यी दुवै पुस्तकलाई आज पनि ज्योतिष विज्ञानमा महत्वका साथ लिने गरिन्छ । उनले शिव भक्तिको पुस्तक ‘शिव ताण्डव स्तोत्र’ पनि रचना गरेका थिए । साथै विणा बजाउने कलामा पनि उनी ज्यादै पारंगत थिए भनेर उल्लेख गरिएको पाइन्छ ।

शिवभक्ति
रावण हिन्दु धर्मका आरध्य देव शिवका भक्तको रुपमा रामायणले चित्रण गरेको छ । तिब्बत स्थित हिमालय क्षेत्रको मानसरोवर (राक्षसताल ?) मा उनले कडा तपस्या गरेर शिवलाई प्रशन्न बनाएर ‘चन्द्रहाँस’ नामक खड्ग पनि उपहार पाएका थिए । रावण नाम पनि उनलाई शिवबाट नै मिलेको थियो, जसको अर्थ हुन्छ ‘भयंकर गर्जन !’ शिवलाई खुसी पार्नका लागि ‘शिव ताण्डव स्तोत्र’ आफैंले रचना गरेबाट पनि उनको विद्वता र शिवभक्ति प्रष्ट हुन्छ । भारतको आन्द्र प्रदेशमा रावणले स्थापना गरेको शिवलिंगको पुजा आज पनि हुने गरेको छ ।

अमरत्व
शिवबाट बरदान पाउनु अघि नै उनले यस्तै तपस्या गरेर ब्रम्हाबाट गरुड, नाग, यक्ष, दैत्य, दानव, राक्षस र देवता कसैबाट पनि बध नहुने अमरत्वको बरदान पनि पाएका थिए । तर यो पूर्ण अमरत्व थिएन, बरु आफ्नो प्राण नाइटोमा केन्द्रीत गरेर राखेका थिए भनेर वर्णन गर्ने पनि गरिएको छ । नाभीमा जम्मा गरेर राखिएको यही अमृतलाई रामले वाण हानेर ध्वंश गराए पछि रावणको मृत्यु भएको रामायणमा उल्लेख छ ।

रावण राज्य
लंका राज्यको निर्माण विश्वकर्माले ऋषि विश्वश्रवाका पुत्र कुवेर (रावणको सौतेनी दाजु) को लागि गरिदिएका थिए । विश्वकर्माले यो राज्यलाई निकै सुन्दर बनाएर कुवेरलाई दिए पनि जनता त्यती सन्तुष्ट थिएनन् । समृद्धिबिनाको सुन्दरताको अर्थ खास रहने कुरा पनि भएन । तपस्याहरुबाट फर्के पछि कुवेर र रावण बीच मनमुटावको अवस्था सिर्जना भयो र विश्वश्रवाले कुवेरलाई राज्य सञ्चालनबाट पछि हटेर लंकाको राजकाज रावणलाई सुम्पन आदेश दिए । यसरी लंकाको राजा भएका रावणले राज्यलाई समृद्ध बनाउन अनेक पहल गरेका थिए । लंकामा सबैभन्दा गरिबहरुको घरमा पनि खान पिउन स्वणपात्र (सुनबाट बनेको भाँडा) को प्रयोग हुन्थ्यो भनेर रामायणमा नै उल्लेख छ । अनेक अन्य राज्यहरुमाथि विजय प्राप्त गर्दै रावणले लंकालाई ठूलो साम्राज्य बनाएका थिए । त्यसपछि लंका राज्यको राजकाज उनले भाइ अभिरावणलाई सुम्पेर आफु सम्पूर्ण साम्राज्यको बादशाह बनेर रहेका थिए ।

सीता अपहरण
मैले यहाँ कुनै नारीलाई अपहरण गरिनुलाई ठिक ठह¥याउन खोजेको होइन केवल तत्कालिन घटनाक्रमको कम चर्चा गरिएको पाटो मात्र खोतल्ने प्रयास गरेको हुँ । बनबासको जीवन बिताइरहेका राम, उनकी पत्नी सीता र भाइ लक्ष्मणसँगको सम्बन्धका कारण नै रावण सबैभन्दा आलोचित भएका थिए । रावणकी बहिनी शुर्पणखा बनबासी जीवन बिताइरहेका रामका भाइ लक्ष्मणबाट निकै प्रभावित भएर एकतर्फि प्रेम गर्न लागिन् । लक्ष्मणले कुरुप सुपर्णखालाई कुनै वास्ता नगरे पछि उनी आँफैले लक्ष्मणको अगाडी गएर प्रेम प्रस्ताव राखिन् । सन्की प्रकृतिका लक्ष्मणले सुपर्णखाको यो दुष्साहसलाई घोर गाली बेइज्जती गरेर नाक कान काटेर पठाइदिए । आफ्नो बहिनीको यो हविगत हेरेर रावण जस्तो शक्तिशाली बादशाह हेरेर बस्ने कुरै थिएन । यसकै बदला लिनका लागि रावणले सितालाई बन्धक बनाएर आफ्नो बहिनीसँग माफि माग्न वा युद्धमा आउन रामलाई चुनौती दिए । सीतालाई अपहरण गरेर लगे पनि रावणले उनी माथि कुनै दुव्र्यवहार गरेनन् बरु बन्धक सीतालाई राम्रा हेरचाह र खानपानको व्यवस्था गरे । बन्धक अबधीभर सीतालाई कुर्ने जिम्मा महिलालाई मात्र दिइएबाट पनि रावणको नियत माथि प्रश्न गर्ने ठाउँ थोरै मात्र बाँकी रहन्छ । सायद रावणबाट भन्दा बरु मुक्ति पछि अग्नीपरिक्षा गर्ने र पछि गर्भवति अवस्थामा जंगलमा छाड्ने रामले पो सीतालाई बढि दर्द दिएका थिए की ?

रावण पुजा
रावणलाई देवता कै स्वरुपमा पुजा गर्ने समुदाय पनि छ । रामायणमा उल्लेख गरिएजस्तै निच चरित्र र व्यवहारको शासक भएका भए यस्तो भक्ति सायदै सम्भव थियो । भारतको आन्द्र प्रदेश, मध्य प्रदेश, उत्तर प्रदेश, राजस्तान, जोधपुर, गुजरात, कानपुर, कर्नाटक लगायत श्रीलंका, थाइल्याण्ड आदी देशहरुमा रावणका मन्दिरहरु स्थापना भएका छन् । हरेक दशैंको दशमीको दिनमा यहाँ रावणको बदिलानको स्मृति गर्दै पुजा गर्ने गरिन्छ । रावणको कतिपय मन्दिरहरुमा रावणसँगै मन्दोदरी, कुम्भकर्ण र इन्द्रजीतको पनि पुजा गर्ने गरिएको पाइन्छ । दक्षिण श्रीलंकामा त आफ्नो ठाउँलाई रावणकालिन राजधानी मानेर रावणको पुजाआज र सम्झना गर्ने रावणपुर नामक ठाउँ नै छ । जहाँ रामलाई राक्षसको रुपमा र विभिषणलाई दुष्ट मान्छेको रुपमा परिभाषित गर्ने गरिन्छ ।

रामायणको असलियत यस्तो थियो कि ?
  • राम र रावण दुवै जना आ–आफ्नो क्षेत्रका महाशक्तिहरु थिए । यो रामायणमा वर्णन गरिए जस्तो सत् र असत्को लडाईं थिएन बरु दुई शक्तिशाली अहंकारहरुको टकराव थियो । तर रामसँगको युद्धमा पराजीत भएका कारण उनका पक्षधरहरुले रामलाई बढि नै देवत्वकरण र रावणको बढि नै दानविकरण गरेका हुन् । दुवै प्रकरणमा अनेक अलौकिक कथाहरु जोडेर रामलाई भगवान र रावणलाई दानवका रुपमा परिभाषित गरियो । सायद रावणले युद्ध जितेका भए उनी नै भगवान र राम दानव हुन्थे कि ?

  • रावण तत्कालिन अवस्थामा एक शक्तिशाली साम्राज्यका प्रतापी बादशाहका रुपमा स्थापित भइसकेका थिए । उनको राज्य आजको श्रीलंकाका भु–भाग मात्र नभई भारत, मलेसिया, इण्डोनेसिया र बर्मासम्मका क्षेत्रहरु ओगटेको जानकारहरुले लेखेका छन् । भन्नु नपर्ला एउटा साम्राज्य खडा गर्ने दौरान रावणले दुष्मनहरुको पनि राम्रै पल्टन कमाइसकेका थिए । तर जब उनको उमेर ढल्न थाल्यो, उनको साम्राज्यको अनेक दरारहरु आउन थाले र त्यही बेला सीता अपहरण काण्ड हुन गयो । रावणका दुष्मनहरु उनलाई पराजित गर्ने उचित मौकाको खोजीमा थिए र पराक्रमी धनुर्धर राम र लक्ष्मणलाई भरपुर सहयोग गरे । यो कुरा कसरी पनि पुष्टी हुन्छ भने रावणको मृत्यु पछि उनीहरुले रावणको उत्तराधिकारी, उनको भाइ तथा रामको सहयोगी विभिषणलाई सिंगो लंका साम्राज्यको बादशाह नबनाई लंका राज्यको मात्र राजाका रुपमा राज्याभीषेक गराए र एक पछि अर्काे गर्दै आफ्ना राज्यहरु बापस लिए ।

  • रावणलाई राक्षस गणको भान्जाका रुपमा पछि परिभाषित गरिएको हुन सक्छ । हार्नेहरुलाई ‘गोरु बेचेको’ साइनो लगाएर राक्षस बनाउने र जित्नेहरुलाई त्यही प्रणालीबाट देवता बनाउने हिन्दु सामन्ती परम्पराको निरन्तरतामा उनलाई पछि राक्षस वंशको रुपमा वर्णन गरिएको हुन सक्छ । सन्देह गर्ने ठाउँ कसरी पनि देखिन्छ भने रावणका बारेमा हिन्दु धर्म ग्रन्थ सबैले खराब चरित्रको मात्र ब्याख्या गरेका छन् तर राक्षसको रुपमा उनलाई पुष्टि गर्ने तर्क भने फरक फरक पाइन्छन् । रामायण र विष्णु पुराणले रावणको मावली वंश नै राक्षस गणको भएकोले उनका दुुष्टता जन्मजात भएको लेखेको छ तर उही कोखबाट जन्मेको विभिषण चाँही कसरी उनीहरुको परिभाषामा देवता जस्तो भए भन्ने बारे वाल्मीकि मौन छन् । उता पद्म पुराण र श्रीमद्भागवत पुराणमा भने रावण र कुम्भकर्ण हिरण्याक्ष र हिरण्यकशिपु नामका असुरहरुको नयाँ अवतारका रुपमा जन्मेको उल्लेख छ, जसरी रामले भगवन विष्णुको अवतारका रुपमा जन्म लिएका थिए ।

  • रामायणमा उल्लिखित केही प्रसंगहरुले पनि रावण वर्णन गरिए जस्तो दम्भी र दुष्ट थिएनन् भन्ने पुष्टि गर्दछन् । रामेश्वरम्मा रामले शिवलिंग स्थापना गरी शिवको भक्ति गर्ने कार्य शुरु गर्न लागेका थिए । जसमा उनलाई शिवभक्त विद्वान पण्डितको आवश्यकता परेको थियो । रावणले यो थाहा पाएर रामको त्यो कार्य सफल बनाइदिएका थिए । त्यो भन्दा पनि विशिष्ट उदाहरण अर्काे पनि छ । रावण र रामबीच युद्धको चरमोत्कर्ष छुँदै थियो र घाइते लक्ष्मणको मरणासन्न अवस्थामा उपचार भइरहेको थियो । यस्तो बेलामा पनि रावणले आफ्नै दुष्मनको उपचारका लागि आफ्ना नामुद आयुर्वेदाचार्य सुषेणलाई रामकोमा पठाएर मानवियता प्रदर्शन गरेका थिए ।

  • रावणलाई सबैभन्दा बढि घाटा आफ्नै भाइ विभिषण र अर्का राजा बलिका भाइ सुग्रिवबाट भएको हो । यी दुईको गठबन्धनले रामलाई रावणका कमजोरीहरुको सुराकी मात्र दिएनन् बरु रावणका दुष्मनहरुसँगको रामको सम्बन्ध स्थापित गर्न पनि सहयोग गरे । दाजुको सत्ता हत्याउन गरिएको यस्तो कार्यलाई षड्यन्त्र मान्ने कि सत्यका लागि संघर्ष ?

रावणको बारेमा खोज अनुसन्धान
हाल विश्वका विभिन्न कुनामा रावणको असलियतको खोजी तथा अनुसन्धान कार्य पनि शुरु भएको पाइन्छ । श्रीलंका सरकारले त सरकारी तहबाटै यसको शुरुवात गरेको पाइन्छ । रामायण लगायतका हिन्दु ग्रन्थमा गरिएको एकपाखे विश्लेषणलाई यिनै अनुसन्धानहरुले चुनौती दिएका छन् । रावणको जीवनगाथा र लंकापुरीको बारेमा आनन्द नीलकांतनले (Ashura, Tale of Vanquished, The Story of Ravana and his People) (असुर : पराजितहरुको कथा, रावण र उनका जनताहरुको कथा) नामक एक महाकाव्य नै तयार गरेका छन् । त्यसै गरी आचार्य चतुरसेनले ‘वयम् रक्षामः’ र पण्डीत मदन मोहन शर्मा शाहीले पनि तिन भागमा ‘लंकेश्वर’ नामक उपन्यास लेखेको पाइन्छ । भारतमा एक जना दलित अधिकारकर्मी रामास्वामी नायकरले रामायणको विरोधमा तथा रावणको समर्थनमा ‘रावणायण’ नै तयार पारेका छन् । रावण बारेका अनुसन्धानहरु भारत र श्रीलंकाका विभिन्न पत्र पत्रिकाहरु तथा वेभसाइटहरुमा पढ्न पाइन्छ ।



Email - subash.malla@gmail.com
Article published on 'Darshan' Smarika, Volume-4, 2071.
Download PDF 
Read more ...

कवितमा सिमान्तकृत धुन

Tuesday, May 13, 2014


पुस्तक ः बागी सारङ्गी
विधा ः कविता संग्रह
लेखक ः सरस्वती प्रतीक्षा
प्रकाशक ः सांग्रिला बुक्स, काठमाडौं
मूल्य ः रु १५०/–





अघिल्लो वर्ष श्रावण ६ गते झलकमान गन्धर्वको स्मृति दिवशका दिन पोखराको एक स्थानिय पत्रिकाका लागि मैले पोखरेली युवा साँस्कृतिक परिवारकी अध्यक्षका रुपमा सरस्वती प्रतीक्षालाई पोखरेली माटोमा जन्मेका श्रष्टाको स्मृति दिवश मनाउन चासो किन नदिएको भनेर सोधेको थिएँ । उनले संस्थाको व्यस्ततालाई कारणको रुपमा चित्रण गरेकी थिइन् । आज उनै सशक्त कविको नयाँ कविता संग्रहका रुपमा ‘बागी सारङ्गी’ पढिरहँदा लागेको छ, त्यस बेलाको उनी तिनै झलकमानहरुको सिमान्तकृत विम्वलाई कविताको भ्रुणमा रुपान्तरण गर्नमा व्यस्त रहिछन् । जसलाई उनले आठ महिना पछि जन्म दिएकी छिन्, तिनै झलकमानलाई समेटेर प्रथम कवितामा ः
हे बरै !
झलकमानका सारङ्गीहरुको
एउटा धुन
अँध्यारो पुस्तकालयभित्रका पुस्तकका धुलोहरु टक्टकाइरहेछ

तिथी मितिका क्यालेण्डरहरुलाई नै आधार मान्ने हो भने त सरस्वती प्रतीक्षा भर्खर तिन दशक पार गर्दैछिन् । तर अनुभवका क्यालेण्डरहरुमा, संवेदनाका क्यालेण्डरहरुमा अनि परिपक्वताका क्यालेण्डरहरुमा प्रतीक्षाले युुगौं पार गरिसकेको गतिलो प्रमाण हो ‘बागी सारङ्गी !’ आफ्ना कविताहरुमा समकालिन समयको तिख्खर विम्वहरुलाई टिपेर त्यसलाई कविताको क्यानभासमा निकै लोभलाग्दो गरी टाँसेकी छिन् प्रतिक्षाले प्रस्तुत कविता संग्रहमा ।
    ‘बागी सारङ्गी’लाई कवि प्रतिक्षाले चार खण्डमा बाँडेकी छिन् । प्रथम खण्ड ‘आधा क्यानभासमा देश’मा १६ वटा समसामयिक कविताहरु अटाएका छन् । दास्रो खण्डमा ७ वटा नारीवादी कविताहरुलाई स्थान दिएकी छिन् उनले, ‘सुत्केरी कविताहरु’ शिर्षकमा ! त्यसै गरी तेस्रो खण्ड प्रेमकविताहरुका लागि छुट्याएकी छिन् उनले, जहाँ ‘प्रेमाख्यान’ शिर्षकमा ५ वटा कविताले स्थान पाएका छन् । अन्त्यमा जीवन भोगाइ र विसंगतिहरुलाई उठान गर्ने १० वटा कविताहरु अटाएका छन् अन्तिम खण्डमा, ‘सम्बोधित आस्था’ शिर्षकमा ! यसरी जम्मा जम्मी ३९ वटा कविताहरुलाई फरक फरक स्वादमा पस्केकी छिन् कविले संग्रहमा ।
    कविता संग्रहमा ‘बागी सारङ्गी’ शिर्षात्मक एउटै पनि कविता पाठकले भेट्ने छैनन् । यद्यपी पाठकहरुले नेपालमा ठूल्ठूला स्वरहरुमा घन्कन थालेका रिमिक्स र ब्रायन एडम्सहरुसँगै कुना पस्न विवश सारङ्गीहरुको कथा व्याथा प्रशस्त भेट्न सक्ने छन् । हलियारामको माटोको अनुहार देखि भोक, तिर्खा, निद्रा सबै तातो हुने उँटहरुको देशमा काम गर्न विवशहरुको कथासँग साक्षात्कार गर्नेछन्, पाठकहरुले ! त्यस्तै समाचारपत्र, एफएम, रेडियो, मानवअधिकारवादी, नारीवादीहरु सबैबाट लुटिएर रित्तो हात भएकी सन्तली धामीदेखि चुनढुङ्गाका मालिकहरुसँग आफ्नो पसिनाको मूल्य माग्न सक्ने भएकी दिलसरा चेपाङसम्मको चित्र पढ्न पाउनेछन् । तपस्यारत सिद्धार्थ गौतम र सुजताको प्रेमकथादेखि प्रकृतिको कौमार्यको सुगन्ध बोकेको अर्गानिक मायाको स्वाद पनि यही कविता संग्रहले पदार्पण गर्नेछ । समग्रमा पहिले मादल र अहिले ड्रमसेटका कारण सबाल्टर्न बनाइएका सारङ्गीहरुको कलात्मक धुन सुन्न पनि यो पुस्तक पढ्नु अनिवार्य जस्तै छ ।
    कविताहरु सुलोलित छन्, जसरी श्रृतिमधुर छन् पोखराका छहरा, झरना र सेती नदी । ओझपूर्ण शब्दहरुको मिलन, पूर्विय देखि पश्चिमा मिथकहरुको समुचित तालमेल र विचारको तिव्रताले कविताको महिमा बढाइदिएको छ । तर कविताका नयाँ पाठकहरुलाई भने कविता क्लिष्ट बन्ने भय पनि उत्तिकै छ ।
    संग्रहका सबै कविताहरु दमदार हुँदा हुँदै पनि दोस्रो खण्डमा कवि अझ उत्कृष्ट ढंगले पोखिएकी छिन् । आफैँ पनि नारी हुनुका नाताले नारीवादी कविताहरुमा उनको स्वर अझ चर्काे सुनिनु स्वाभाविक पनि हो । पितृसत्तात्मक समाजमा नारीहरुलाई वस्तुसमान मान्ने र अनेक ढोंगहरुको खेती गर्ने परिपाटीलाई उनले आफ्ना कविताहरु मार्फत सख्त अस्विकार गरेकी छिन् । ‘अदालत’ र ‘प्रतिपक्षको मान्छे’ कविता मार्फत उनको रेडिकल फेमिनिस्ट सोँच अगाडी आइरहेको जो कोहीले महशुस गर्न पाउँछन् । त्यसो त ‘पैयुँ रुँदिन आजकल’को घोषणा पनि कम आँटिलो होइन ः
ओ, मेरो प्रियतम !
प्रेम त गर्छु म तिमीलाई
तर प्रेममा दासत्व अस्वीकार गर्छु
    यी सात थान कविताहरु मार्फत सरस्वती प्रतीक्षाले आफ्नो नारीवादी स्वरलाई समुच्च बनाइ राख्न सक्ने छिन् । यिनै कविताहरुलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरेर पढाउँदा पक्कै पनि विशेष प्रभाव पर्ने पंक्तिकारको विश्वास छ । तर कविताहरु गाली र प्रश्नका थुप्रो मात्रै हुनबाट जोगाउन भने कवि आगामी दिनमा सचेत हुन जरुरी पनि छ । यि कविता नारीहरु र अझ मानव समाजमा नै असन्तुष्टि र उकुसमुकुस ल्याउन त सक्षम होलान् तर त्यसपछि के ? कविले कम्तीमा विद्रोहको झण्डा पनि सँगसँगै उठाइदिएका भए तिनै असन्तुष्टि शक्तिमा रुपान्तरण हुने बाटो निर्माण हुन्थ्यो । नत्र कैयन् असन्तुष्टिहरु जस्तै यिनीहरुको पनि अन्त्य फगत तुषमा गएर नहोला भन्न सकिन्न ।
    संग्रहका केही छोटा र चार वटा अति छोटा कविताहरुले भूमि शेरचनको ‘घुम्ने मेच माथि अन्धो मान्छे’का छोटा कविताहरु सम्झाइदिन्छ । ‘विद्रुप’ शिर्षात्मक छोटो कवितालाई पाठकहरुले चिरकालसम्म पनि सम्झिरहनेछन् । यिनै कविताहरु जस्तै मिठा छन् सूर्य बराइलीको आवरण कला लगायतका भित्री स्केचहरु पनि । तर ‘स्पिक ओन्ली ह्वेन योर ओड्स आर मोर ब्युटिफुल देन साइलेन्स’ भन्ने भनाइ प्रियकर लाग्ने लेखकले आफ्नो भनाइ राख्नका लागि आधा दर्जन पृष्ठ खर्च गर्नुलाई तर्कसङ्गत मान्न सकिन्न । त्यसो त मौनता पछि धेरै बोल्न पाउनुलाई लेखकले आफ्नो हक मानेको पनि हुन सक्छ ।
    ‘एकाबिहानै शिर्षक’को कविता पनि निकै उत्कृष्ट ग्रामिण सिमान्तकृत विम्वहरुका साथ उभिएको छ । तर सिक्वेल फिल्म र उपन्यासहरुले सफलता हाँसिल गर्न नसके जस्तै एकाबिहानैको सिक्वेल कविताले शहरलाई विम्वात्मक वर्णन गर्न सकेझैँ लाग्दैन । ‘पिङ्गला ! ओ, पिङ्गला !!’ कवितामा पनि संग्रह कै अर्काे कविता ‘तथागत, मलाई उत्खनन गर’ र श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’को फ्लेवर आउँदा अलि खल्लो महशुस भएको छ ।
    यद्यपी सिमित कमजोरीहरुका बावजुद पुस्तक पठनिय र संग्रहणिय भएर आएको छ । यसले कविताको सुस्ताएको बजारलाई पक्कै टेवा पु¥याउने अपेक्षा गर्न सकिन्छ । अन्त्यमा यी पंक्तिहरु तयार पारी रहँदा झलकमान जयन्ती (वैशाख १२) ले हाम्रो धर्तिमा पाइलो टेकेको छ, तर झलकमानको गाउँमा उनको शालिक भने एक्लै उभिएको छ । कम्तीको त्यो बागी सारङ्गीलाई पनि कसैले सम्झने कि ?
(Published on Sourya National Daily on 2070 Baishakh 21, साैर्य दैनिकमा प्रकाशित समिक्षाको सम्पादित अंश)
Read more ...

एब्स्ट्रयाक्ट चिन्तन प्याज : ए युनिक क्याक्टस । सुवास मल्ल

Saturday, July 20, 2013

¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको मासिक श्रृंखलामा प्रस्तुत छलफल पत्र : २०६९/१०/२७

एब्स्ट्रयाक्ट चिन्तन प्याज : ए युनिक क्याक्टस



सुवास मल्ल



१. पृष्ठभूमि

    त्यसो त एकताका साहित्यकार शंकर लामिछानेले आफ्नो लागि साहित्य केवल शौखको विषय हो भनेर आफ्नो धारणा पेश गरेका थिए । तथापी उनले नेपाली साहित्यका प्रति पु¥याएको योगदानलाई उनको भनाईसँग राखेर तौलँदा हामी कुनै पनि अर्थमा सत्यको निकट पुग्न सक्दैनौं । उनी थिए नै यस्ता जटिल व्यक्तित्व, जसरी उत्तिकै जटिल रुपमा आएको छ उनको निबन्ध संग्रह एब्स्ट्रयाक्ट चिन्तन : प्याज ।
    शंकर लामिछाने के थिए भन्दा पनि के थिएनन् भनेर प्रश्न गर्दा उत्तरको सुची छोटो हुन सक्छ । बहुमुखी प्रतिभाका धनी लामिछानेले कति प्रतिभा अन्तस्करणबाट प्रस्फुटित गराए, कति रहरको पुल तर्दै आए, अरु कति ढोङ्गको जहाज चढेर आए अनि थुप्रै थुप्रै्र कति प्रतिभाहरु बाध्यताले जन्मिए, छुट्टै खोजको विषयवस्तु हुन सक्छ, तथापी उनले साहित्यका प्रति जे जति योगदान गरे, त्यो अविष्मरणिय छ । अझ बढि नेपाली साहित्यमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको निबन्धकारितालाई हाँक दिन सक्ने एक मात्र निबन्धकारका रुपमा पनि उनलाई समालोचकहरुले लिने गरेका छन् । धेरै समिक्षक, समालोचकहरुको नजरमा शंकर लामिछानेका निबन्धहरु आज पनि देवकोटा पछिका सबैभन्दा उत्कृष्ट मानिन्छन् र आजको पुस्ताको साहित्यलाई यहीँ नेर प्रश्न चिन्ह खडा हुन्छ–कतै चिल्ला गाता र मुलायम पानामा सजिने होडमा आजको साहित्यले गुणस्तरलाई बिर्सदैं त छैन ? अर्थात कतै ढोल पिटेर आकर्षक विज्ञापन र सजावटका साथ बजारमा भित्रने आजका पुस्तकहरु पनि जंक फुड जस्तै त छैनन् ? होइन भने शंकर लामिछानेको शौखलाई जित्नका लागि हाम्रो पुस्ताका होलटाइमर साहित्यकारहरुलाई किन हम्मे हम्मे परिरहेको छ त ?

२. जिन्दगीका मोडहरुमा शंकर लामिछाने

    राजधानी काठमाडौंका रैथाने परिवारमा वि. सं. १९८४ चैत्र ३ मा जन्मेका लामिछानेका पीता हरिहर प्रसाद लामिछाने राणाकालका शिक्षित, सम्पन्न तथा प्रभावशाली प्रशासक थिए । यद्यपी शंकर लामिछानेले यी सबै सम्पत्ति, वैभव र मान प्रतिष्ठा धेरै बेर प्राप्त गर्न सकेनन् । कारण उनी जन्मेको २ वर्ष नबित्दै गम्भिर आपसी मनमुटावको शिकार भई माता पीताको सम्बन्धमा विराम लाग्यो । काखमा सानो छोरो र गर्भमा अर्काे छोरो बोकेर माता यादवकुमारी मावली गाउँ वनारस तर्फको बाटो लागिन् । शिक्षित, स्वाभिमानी तथा विद्राही प्रकृतिकी नारीसँग शाही शान शौकतको टकराव हुनु स्वाभाविक पनि थियो । यो कुरा सत्य थियो कि शंकर लामिछानेले बाल्यकालका सुखद जीवन माता पीताको वैमनस्यका कारण अन्त्य भयो, तर अर्काे सत्य के पनि थियो भने बनारस बसाईंले नै हामीले चिनेको शंकर लामिछानेलाई जीवन, जगत र भावनाको गहिराई बुझ्न सक्ने गरी जग हालेको थियो ।
    आमा र बाबुको फरक पृष्ठभूमि, राजनीति र शिक्षाका क्षेत्रमा कहलिएका मामाहरु नगेन्द्र रेग्मी र बालचन्द्र शर्माको संगत, मामा घरमा पनि शिक्षिकाका रुपमा आत्म अभिमानको ‘स्व’ बोकेकी आमाको पालन पोषण, भाइको सानैमा मृत्यु र अन्ततः ८ वर्ष कै उमेरमा आमाको समेत देहान्त आदिका कारण उनमा सानै देखि फराकिलो चिन्तन तथा भावुक चेतनाले डेरा जमाएको थियो । यही डेरालाई घरको रुप दिन भने आमाको मृत्यु पछि काठमाडौं फर्केर शुरु भएको अध्ययन, प्रखर कवि गोपाल प्रसाद रिमालको गुरुत्व, विभिन्न व्यवहारिक झञ्झट तथा जवानीका असफल प्रेमका तिता घाउहरुले भूमिका खेलेको हुनु पर्छ । यिनै परिस्थीतिले फक्रन लागेको शंकरको साहित्यलाई लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समको साथले थप मलजल गरेको देखिन्छ । उता उनको औपचारिक शिक्षाको कुरा गर्नुपर्दा २००३ सालमा जुद्धोदय पब्लिक हाईस्कुलबाट एसएलसीको अध्ययन पुरा गरेका लामिछानेले त्रिचन्द्र कलेजमा आईएस्सीसम्मको अध्ययन गरेको देखिन्छ, तथापी उनले यो जुनीमा आईएस्सीको प्रमाणपत्र भने हात पार्न सकेनन् ।
    उमेरले एक बिसा नकाट्दै वि. सं. २००६ मा पीताको समेत स्वर्गारोहण भए पश्चात लामिछाने नराम्रोसँग व्यवहारिक जंजालमा फस्न पुगे । हात हालेको काममा आशातित सफलता हाँसिल गर्न नसक्नु र मूलतः एकै ठाउँमा अडिएर बस्न सक्ने खुविको विकास पनि गर्न नसक्नुका कारण लामिछाने जीवनभर पेशा विहिन जस्तै बने । त्यसै गरी विज्ञानको विद्यार्थी र साहित्यको शौखिन भएर पनि हुन सक्छ त्यो दिमागमा हलपल नयाँ प्रयोगको भूत सवार भइ रहेको हुन्थ्यो । यही आलोकमा उनी कहिले प्रथम नेपाली हाइकुकार बने त कहिले प्रथम नेपाली विज्ञान कथाकार । यसरी प्रेमपत्रबाट साहित्य शुरु गरेको भन्न नहिच्किचाउने लामिछाने, अरुको पुस्तकको भूमिका लेखेर पनि आफैं हावि हुन सक्ने लामिछाने र चोरीको आरोप लाग्दा सहर्ष स्विकार गर्दै लेखनबाटै सन्यास घोषणा गर्न हिम्मत राख्ने लामिछानेको साहित्यिक जीवनले यिनै पृष्ठभूमि हुँदै अगाडी बढेको पाइन्छ ।
२०१३ सालमा स्थापित काव्य प्रतिष्ठानका सदस्य सचिवको जिम्मेवारी सम्हालेका लामिछानेले यही जिम्मेवारीमा रहँदाको बखत भारतमा भएको एसियाली लेखक सम्मेलनमा नेपाली प्रतिनिधी मण्डललाई सहभागी गराएका थिए भने प्रतिष्ठानको मुखपत्रको सम्पादन पनि गरेका थिए । सबैलाई थाहा नहुन सक्छ, उनको लेखन सम्पादनमा नेपाली विषयको पाठ्य पुस्तक ‘नेपाली साहित्य’ को १ देखि ८ सम्मको श्रृंखला प्रकाशित छन् । सामान्य विषयवस्तुमा असामान्य निबन्ध लेख्ने हैसियत राख्ने नेपाली निबन्ध क्षेत्रमा औंलामा गन्न सकिने थोरै मध्येका यस्ता व्यक्ति लामिछानेले ४७ वर्ष १० महिना लामो जीवनयात्रा आजभन्दा ३७ वर्ष अगाडी माघ १० गतेका दिन विर अस्पतालको सघन उपचार कक्षमा टुङ्ग्याएका थिए । त्यो हिसाबले हामी उनको सर्वाेत्कृष्ट कृतिको परिचर्चा सँगसँगै उनको स्मृति महिना पनि मनाइरहेको यहाँहरुसँग निवेदन गर्न चाहन्छु ।

३. नेपाली निबन्धको सामान्य परिचय

    तत्सम शब्दका रुपमा नेपाली भाषामा प्रचलित ‘निबन्ध’ शब्द संस्कृत भाषाको ‘बन्ध’ धातुमा ‘नि’ उपसर्ग र ‘घञ्’ प्रत्यय लागेर निर्माण भएको हो, जसको अर्थ हुन जान्छ–बन्धन, बाँध्नु वा रोक्नु । नेपाली वृहत शब्दकोषमा कुनै विषयमा कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचनाका रुपमा निबन्धलाई लिइएको छ भने सुप्रसिद्ध हाँस्यव्यंग्य निबन्धकार भैरव अर्यालका अनुसार कुनै विषयमा आफूले जानेको, सोचेको र लागेको कुरा रसिलो पाराले प्रकट गर्ने छरितो गद्य नै निबन्ध हो ।
    पृथ्वी नारायण शाहको दिव्योपदेश(१८३१), भानुदत्तको हितोपदेश(१८३३), शक्तिबल्लभ अर्यालको हाँस्यकदम्ब(१८५५) आदिको बाटो हुँदै नेपाली निबन्ध अगाडी बढेको मान्नेहरु धेरै छन् । यद्यपी यी निबन्ध थिएनन्, तर नेपाली भाषामा गद्य साहित्यको विकाशमा यस्ता रचनाहरुको पनि महत्वपूर्ण योगदान थियो । माध्यमिक कालमा मोतिराम भट्टले लेखेको भानुभक्तको जीवन चरित्र(१९४८) ले छोडेको छाप होस् या गोरखापत्र, सुन्दरी, माधवी, चन्द्र, गोर्खाली आदि पत्रिकामा सूर्यविक्रम ज्ञवाली, पारसमणी प्रधान आदिका निबन्ध शैलीका लेखहरु, नेपाली निबन्ध फाँट यिनीहरुले नै देखाएको बाटो हिँडदै आफ्नै गोरेटो ठम्याउन सफल भएको हो । यसै क्रममा चन्द्रिका पत्रिकामा प्रकाशित शम्भुप्रसाद ढुङ्गेलको निबन्धलाई नै प्रथम आधुनिक निबन्ध मान्ने गरिएको छ । त्यस यता नेपाली निबन्ध फाँटले महाकवि देवकोटाको जादु र शंकर लामिछानेका प्रयोग हुँदै अगाडी बढ्ने सुअवसर पाएको छ, यद्यपी यि दुवै हस्ताक्षरहरु नेपाली साहित्यका अन्य विधामा पनि निकै कलम चलाएका स्रष्टाहरु हुन् । कम लेखिने, कम प्रकाशन हुने र कम पढिने विधा भएकाले पनि हुन सक्छ नेपाली निबन्ध फाँटले यिनै दुई स्रष्टाको अन्त्य सँगै लामो समय उल्लेखनिय प्रगति गर्न सकेन । यद्यपी शारदा, साहित्य स्रोत, युगवाणी, रुपरेखा जस्ता पत्रिकाहरु हुँदै आजको समयसम्म निबन्ध घचेटिँदै आइरहेको छ । आज विग मिडिया हाउसहरुले पनि आफ्ना प्रकाशन र प्रसारणमा साहित्यलाई एक हिस्सा बनाउन थाले पनि पुनः निबन्धको युग ब्युँझेको छ ।

४. शंकर लामिछानेको निबन्धकारिता

प्रखर क्रान्तिकारी कवि गोपाल प्रसाद रिमाललाई गुरु थापेर शिक्षा आर्जन गरेका तथा महाकवि लक्ष्मी प्रसाद देवकोटालाई निबन्धकारिताको गुरु मानेका लामिछानेको साहित्यिक जीवन बिसौं शताब्दीको अन्त्य तिर भएको मान्न सकिन्छ । आफ्नो लागि कम र अरुका लागि बढि लेखिएका प्रेमपत्रहरु नै आफ्नो साहित्यिक जिन्दगीको प्रवेशद्वार मान्ने लामिछानेले रिमालसँगको संगतका दिनहरु मै १९९८ तिरबाट कविता लेख्न थालिसकेका थिए । यद्यपी औपचारिक रुपमा वि. सं. २००३ मा हृदयचन्द्र सिंह प्रधानको सम्पादनमा प्रकाशित हुने साहित्यिक पत्रिका साहित्य स्रोतमा ‘हाम्रो समाजमा नारीको मूल्य’ शिर्षात्मक निबन्धको प्रकाशन मार्फत लामिछानेले नेपाली साहित्यको यात्रा थालेको पाइन्छ ।
लेखनको शैली, शिल्प तथा विषयवस्तुलाई ख्याल गर्दा लामिछानेको निबन्धकारितालाई मूलतः तिन चरणहरुमा बाँड्न सकिन्छ । प्रथम चरण(२००३–२०१९) मा उनले विशेषतः वर्णनात्मक तथा समिक्षात्मक निबन्ध लेखनमा आफ्नो समय खर्चेका थिए । यही चरणमा उनी नेपाली साहित्य, कला तथा अन्य क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरुको अन्तर्वाता लिएर शब्दचित्र उतार्ने काममा पनि लागेका थिए । तथापी लेखनका शुरुवातकालिन दिनहरुका हात बसिनसकेको अवस्था भने यी निबन्धहरुलाई पछिल्ला निबन्धहरुसँग दाँज्दा जो कोहीले अनुमान लगाउन सक्छ ।
त्यसै गरी दोस्रो चरण(२०१९–२०२४) मा उनको निबन्धकारिताले संख्यात्मक तथा गुणात्मक रुपमा उच्च गति लिएको पाइन्छ । आत्मपरक शैली, कविताजस्ता शुलोलित भाषा, बहुमुखी अध्ययन र अनुभवबाट आर्जित ज्ञानको समुच्च प्रयोग अनि नविन शैलीका कारण यो चरणमा उनको निबन्धकारिताले उचाँई छोएको मान्न सकिन्छ ।
उता तेस्रो चरण(२०२४–२०३२) मा उनले अघिल्लो चरणको उचाईंबाट विस्तारै ओलारो झर्न थालेको भान जो कोहीलाई हुन्छ । यद्यपी यो चरणमा प्रकाशित निबन्ध कमजोर थिए भन्ने अर्थमा नलिएर अघिल्लो चरणमा प्रकाशित एब्स्ट्रयाक चिन्तन : प्याजले बनाएको व्यक्तिगत किर्तिमान छुन नसके प्रसंग मात्र यहाँ पेश गर्न खोजिएको हो । विशेषतः चरम आर्थिक अभावपूर्तिका लागि शौखभन्दा माथि उठेर पेटका लागि लेख्नु परेको बाध्यतामा यस्तो भएको हुन पनि सक्छ । यो चरणमा प्रकाशित तिन वटा निबन्ध संग्रहहरु विम्ब प्रतिविम्ब, गोधुली संसार र शंकर लामिछान(आत्मकथा) पनि नेपाली निबन्ध फाँटका मानक कृतिहरु नै मान्ने गरिएको छ ।

५. एब्स्ट्रयाक्ट चिन्तन : प्याजका पत्र केलाउँदा

    शंकर लामिछानेको निबन्धकारिता कै सबै भन्दा चर्चित तथा २०२४ सालको मदन पुरस्कार समेत जित्न सफल कृति एब्स्ट्रयाक्ट चिन्तन ः प्याज भित्र दश वटा निबन्ध संग्रहित छन् । वि. सं. २०२४ मा नै प्रकाशित यो निबन्ध संग्रहका प्रस्तुत निबन्धहरुको गहिराईमा पुग्न यसका एक एक पत्र केलाउने प्रयास तल गरिएको छ ।

५.१ देवताको काम

    यो निबन्ध देवताको सन्दर्भमा दुई फरक सत्यहरुको टकरावको रुपमा आएको छ । आफ्नो क्युरियो पसलमा देवताको मूर्ति बेचेर गुजरा गर्नु पर्ने ‘म’ पात्रको सत्य र देवताको पुजा, आरती र दानमा असिम विश्वास राख्ने सानी छोरी पात्रको सत्यको बिचमा लेखकले मिठो द्वन्द्वको रचना गर्दै अन्त्यमा सत्यको सापेक्षताको पक्षमा आफ्नो मत जाहेर गरेका छन् । छोरीको उमेर र बाल्यावस्थाको सिमिततामा उनले मानेको अपरम्पार, सर्वशक्तिवान तथा अजर अमर देवता उनका पीताका लागि इञ्चमा, रंगमा र डिजाइनमा तौलिने र त्यस अनुसार बेचिने बस्तु मात्र हो । यद्यपी निबन्धको यो पंक्तिले निबन्धको मूल भाव बोल्दछ–
        ‘म जान्दछु मेरो छोरीले भनेको कुरामा उसले जानेसम्मको सत्य छ । र सत्य भनेको के भने तिमीले जानेसम्मको ज्ञान हो छोरी ।’(पृष्ठ २)


५.२ गोरेटोको खोजीमा

    यो निबन्धले साहित्यिक अभिव्यक्तिका दौरन साहित्यकार आफैंले ठिक बाटो पहिल्यान नसकेको अवस्थाको चित्रण गरेको छ । अभिव्यक्तिका लागि गोरेटोको खोजी गर्नमा तल्लिन निबन्धकारको बुझाइमा अक्षर चिन्ने क्रममा लेखिएको क, ख ग, प्रेमिका रिझाउन लेखिएको दर्जनौं पानाका प्रेमपत्र, आफु सिकिस्त हुँदा साहुले आफ्नो अगाडी तेस्र्याउने तमसुक, जागिरको आशामा लेखिएका निवेदनहरु अनि नाम कमाउने उद्देश्यबाट प्रेरित भइ लेखिएका कथाहरु सबै अभिव्यक्ति दिने सन्दर्भमा खोजिएका गोरेटोहरु हुन् । निबन्धकार आफैंले पनि सायद १५/१७ पानाका प्रेमपत्रमा पनि भनेर नसकिएको अभिव्यक्ति जब साहित्यमा रुपान्तरण हुन्छ, अनि त्यसले पाएका श्रद्धाबाट लेखनीको तिब्रताको महशुस गर्छन् । यसले निबन्धकारको आफ्नै साहित्यिक इतिहास आफैंले बोलेको अनुमान लगाउन खास गाह्रो पर्दैन । तर सँगसँगै अनेकौं प्रेरणा, प्रभाव र दर्शनबाट दिमागी पाठेघरमा जन्मिने यस्तो गारेटोको सन्दर्भ पनि उनले अत्यन्त उत्कृष्ट ढङ्गले निबन्धमा पेश गरेका छन्–
‘कहिले कसैको ओभम्–शैलीसँग कसैको स्पर्म–विचार जोल्टिन पुग्छ । कहिले कसैको स्पर्म–शैलीसँग अर्काको दर्शन ओभम् । यही गर्भको पाठेघर बीचमा म जन्मिने उपाय खोज्दैछु ।’

५.३ तारापुञ्ज : अन्धाको ब्रेल

    प्रस्तुत निबन्धमा साहित्य साधना र साहित्यकारको जीवनको निस्सारताको अभिव्यक्ति दिँदै लेखकले अचेलका साहित्यकारहरुको साहित्य भावनाहीन भएको भन्दै आफुँ र आफुँजस्तै साहित्यकारहरुलाई गतिलो झापड हानेका छन् । उनको अनुसार लेखक एउटा टाइपराइटर हो र लेखनी उसले गर्ने टङ्कण(टाइप) हो, जहाँ प्रेरक ज्ञानतन्त्रीरुपी औंलाहरुले भाव र स्फुरणरुपी किबोर्डलाई घचेटेर काम गरेको हुन्छ । तर अचेल लेखकहरु भाव र स्फुरणको अभावमा केवल कम्पोजिटर मात्र बनिरहेका छन्, जसको लेखनीको खास जीवन अर्थ छैन, शिवाय ज्ञानको भोग । उनका अनुसार वास्तविक साहित्य त ब्रेल लिपीजस्तो हुनु पर्छ, जसलाई छामेर एउटा अन्धाले पनि सारा तारापुञ्जको उज्यालो प्राप्त गर्दछ । यसरी यो निबन्धमा अहिलेका साहित्य भन्दा ब्रेल लिपीले बरु अक्षरको मर्म र जीवनको अनुभुति प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेको प्रसंगमा निबन्धकारले जोड दिएका छन् ।

५.४ एक पत्र सम्पादकलाई

    पत्रात्मक शैलीमा सम्पादकलाई पत्रिकाको विषयवस्तुको दिशाबोध गर्ने बहानामा आजको समयको जटिलतालाई पेश गरिएको प्रस्तुत निबन्धमा मानिसको जीवनको अनिश्चिततालाई चित्रण गरिएको छ । एउटा पियन, मगन्ते, स्कुले केटो, स्कुले केटी, कुकुर, बगरे र गाइजस्ता पात्रहरुको प्रयोग मार्फत आजको युगका मानिसको जीवनका विसंगतिहरुको बोध गराउन निबन्धले सफलता हाँसिल गरेको छ । अनेकौं खामहरुको पत्रले बनेको जीवनयात्रामा जीवन भोगाइ र अनुभूतिका एक पछि अर्काे खामहरु च्यातिँदै जान्छन् । तर कसैलाई थाहा हुँदैन कुन खामको भित्रपट्टी हाम्रो जीवनको समाप्ति लेखिएको छ । तर पनि अन्तिम खामको अघिल्लो सेकेण्डसम्म पनि आगामी सुखद सेकेण्डको परिकल्पनामा मानिसको जुनी बितिरहेको हुन्छ । तर हाम्रा पत्रिकाहरु भने यत्रा विसंगतिहरुलाई आँखा चिम्लेर फगत मृत्युको खबरले मात्र पत्रिका रंग्याइदिन्छन्, जसरी निबन्धमा वर्णित बगरेले दिनभर गरेको हत्याको रगत छोप्न हरेक साँझ अबिरले गणेशको मूर्ति रंग्याउने गर्छ । मृत्यु भित्रको निस्सारतामा यसरी आँखा चिम्लने र मृत्युको कारणलाई छाप्न नसक्ने/नखोज्ने सम्पादलाई लेखकको यस्तै प्रश्न छ –
    ‘तपाईं र म नमरिकन के खबर लायकका हुदैनौं ? हाम्रो आत्महत्याको प्रोसेस के यत्ति महत्वहीन छ, हामी स्वयम् त्यसबारे सोच्न लेख्न पनि चाहन्नौं ?’

५.५ एब्स्ट्रयाक्ट चिन्तन : प्याज

    कलाकार लैनसिंह वाङ्देलको अमूर्त(एब्स्ट्रयाक) साहित्य लेख्ने अनुरोधबाट शुरु भएको प्रस्तुत निबन्धले मानव जीवनलाई सारहीन र दुर्घन्धित प्याजसँग तुलना गर्दै मानव जीवन नै एब्स्ट्रयाक्ट भएकोले एब्स्ट्रयाक्ट निबन्ध लेख्न नसकिने निश्कर्ष निकाल्दै निबन्धकारले स्वयंमा एक एब्स्ट्रयाक्ट निबन्ध सिर्जना गरिदिएका छन् । उनको यो निबन्धलाई धेरैले सर्वाेत्कृष्ट निबन्ध संग्रहको सर्वाेत्कृष्ट निबन्धका रुपमा चित्रण गर्ने पनि गरेका छन् । साथै लेखक स्वयंले पनि सबैभन्दा मन पर्ने आफ्नो निबन्धको रोजाइमा यसैलाई चुनेबाट र त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको पाठ्यक्रममा समेत समावेश गरी अध्ययन अध्यापन गराइएबाट पनि यो निबन्धको महत्व थाहा हुन्छ ।
वाङ्देलको एब्स्ट्रयाक्ट कलाको मातले लेखकले पनि एब्स्ट्रयाक्ट साहित्य लेख्न विषयवस्तु खोज्दा समाज र मानव जीवनका हरेक प्रसंगहरु एब्स्ट्रयाक्ट देखेको अनुभूति निबन्धमा निबन्धकारले व्यक्त गरेका छन् । आजको मान्छेले कृष्णको जस्तो विराट रुप बाँच्नु पर्ने बाध्यतासँगै आफ्नै आस्था, आकांक्षा र अस्मितालाई बन्धकी राखेर मानिसहरु विश्रृंखलित चिन्तन र असंगत जीवन पनि सँगसँगै बाँचिरहेका छन् । त्यसैले आजका मान्छेहरु बाहिरबाट हेर्दा प्याजको डल्लो जस्तै सफा, सपाट र आकर्षक भए पनि यसका भित्री पत्र खोतल्दा शुन्य हात लाग्ने निस्सारता र अझ हरेक पत्रका भित्री तहमा अनैतिकता, व्याभिचार तथा अत्याचारले झनै कुहिएको गन्हाउने फोहोर जम्मा भएको भेटिने राय उनले यो निबन्धमा पेश गरेका छन् । उता विज्ञान तथा प्रविधिको प्रगतिले मानव जीवनमा सहजता थपिरहँदा पनि हामी हाम्रा पुराना खिया लागिसकेका कुरितीहरुलाई छाडेर जाने हिम्मत गर्न सकेका छैनौं । हामी अझै पनि मिथकका ईश्वर, क्राइस्ट, मोहम्मद र बुद्ध प्राप्तीका लागि वास्तविक संसारका मानिसहरु माथि अत्याचार गर्न अग्रसर छौं । फलतः हाम्रा उचाई, प्राप्ती, भोग तथा मूल्यहरु क्रमशः नाँसिदै जान थालेका छन् र मानव जीवन प्याजको पत्र भित्रको निस्सार र फोहोरीपना नै प्रवल हुँदै गएको छ भन्ने भाव यो निबन्धले अगाडी सारेको पाइन्छ । त्यसैले निबन्धकारले मान्छेका जीवनका अनेक पत्रहरु पल्टाउन थाल्नु भन्दा प्याजलाई सिंगै उपभोग गरेजस्तै जीवनका अनुभूतिहरुलाई समग्रतामा महशुस गर्न सुझाव पनि दिएको बुझ्न सकिन्छ ।


५.६ पेन्डुलम–अस्सिलेसन–पेन्डुलम

    मनिसको जीवन केवल एकतमास हल्लिरहने पेण्डुलम भन्दा बढि केही हुन नसकेको भाव प्रकट गर्दै प्रस्तुत निबन्धले यस्तो ओस्सिलेसन आजको जीवन र जगतमा मुलतः म र हामी बीच रहेको अगाडी प्रस्तुत गरेका छन् । व्यक्तिगत र साझा, आन्तरिक र बाह्य, मेरो र हाम्रो/तेरो, प्राप्य र अप्राप्य आदिको बाटो हुँदै यस्ता ओस्सिलेसन अन्ततः कालचक्रमा वर्तमान र विगत, धर्ममा हिन्दु र क्राइस्ट, संस्कारमा आध्यात्मवाद र भौतिकवाद, मूर्तिमा देवत्व र कला आदिसम्म पुगेको लेखकको ठम्याइ छ । यद्यपी यस्तै ओस्सिलेसनको राप र तापका बिचमा हल्लिन पाउँदा नै मानिसले आफ्नो जीवन गतिशिल बनेको ठानेर आफ्नो वर्तमान र भविष्यको आँकलन गर्ने गरेको कुरालाई निबन्धले मूल रुपमा उठाएको पाइन्छ । यद्यपी वास्तविकतामा भने त्यो गतिशिलता नभइ केवल अस्थिरता मात्र हो भन्ने कुरा मानिसले अलि पछि मात्र महशुस गर्ने गरेको प्रसंगमा निबन्धकारले जोड दिन्छन् । वैज्ञानिक छाप छाड्न सफल पेण्डुलमलाई बिम्ब बनाएर रचना गरिएको प्रस्तुत निबन्धले पनि कलात्मक शैलीमा मानव जीवनको निस्सारतालाई नै प्रस्तुत गरेको पाइन्छ ।


५.७ साहित्य–आलुबखडा कि आऊँ ?

    प्रस्तुत निबन्ध वर्तमानको साहित्यको विद्रुप रुपको चर्चा गरेर लेखिएको छ । एउटा व्यक्ति विशुद्ध साहित्य सृजनामा मात्र तल्लिन रहन कठिन यो अवस्थामा एक साथ अनेक अवतार लिएर बाँच्नु एउटा साहित्यकारको कथा व्याथा नै मान्नु पर्छ । आफैं बिसौं(त्यस बेला बिसौं शताब्दी नै थियो) शताब्दीका अनेक चक्रहरुले थिचिएको, चिथोरिएको र घायल भएको साहित्यकारले त्यसको चोटबाट उठ्न नपाउँदै अनेक वादको जञ्जालमा रहेर सिर्जना गरेको साहित्यको प्रभाव आलुबखडाको कारण पेट काटेर हुने आउँ भन्दा कम हुँदैन भन्ने कुरा प्रस्तुत निबन्धमा लामिछानेले बताएका छन् । वास्तवमा आफ्नो व्याकुलतालाई शान्त पार्न रचना गरिएका यस्ता साहित्यले लेखक र पाठक दुवैलाई धोका दिएको हुन्छ भन्दै लामिछाने निबन्धमा अगाडी तर्क पेश गर्छन् –
‘लेखकले आजसम्म आफूलाई र पाठकलाई धोका दिइरह्यो । जस्तै भर्खर प्रेम परेकाहरु आफ्ना जीवनका राम्रो पक्ष मात्र प्रेमिकालाई प्रस्तुत गर्छन्, उसै गरी लेखक आफ्ना तत्कालिन अनुभवको असल रुप मात्र प्रस्तुत गर्ने प्रयास गर्छ ।’

५.८ सम्झनाको लयमा विलिन हुँदै

    विषयको विविधतालाई ग्रहण गर्ने क्रममा निबन्धकारले यो निबन्ध संगितको विषयवस्तुलाई आधारभूमि बनाएर संगित कै महत्व दर्शाउन सांगितिक शैलीमा नै यो निबन्ध लेखेको मान्न सकिन्छ । निबन्धमा प्रेम जोडी निर्मल र लिन्को प्रस्तुती मार्फत संगित र प्रेमको समकक्षतालाई दाँज्ने प्रयास गरिएको छ । कलेजकी सहपाठीसँगको प्रेम र प्रेमिल स्वर्गिय सहवासको आनन्द, संगितको मधुर ध्वनी र भित्तामा टाँगिएको अमूर्त पेन्टिङ्गसँगको मिलनबाट प्राप्त हुने सुख उस्तै भएको प्रसंगलाई निबन्धमा बडो सावधानी पूर्वक देखाउने प्रयास गरिएको छ । एउटा मान्छेलाई अनेक सम्झनाहरुले हरपल सताइ रहेको हुन्छ र अझ बढि संगितका झङ्कारहरुसँगै मान्छेका मनमा प्रेम र यौनका अनेक मूर्त तथा अमूर्त भावहरु पनि यिनै सम्झनाका अनेक तरेलीहरुसँगै उद्वेलित भइरहेको हुन्छ । यसरी कला र संगितको उपभोगबाट अन्तर्मुखी मानिसले समेत स्वर्गिय सुखभोग गर्न सक्छ भन्ने केन्द्रिय भाव प्रस्तुत निबन्धले सञ्चार गरेको पाइन्छ ।

५.९ हामी पाइताला हौं : फगत पाइताला

    प्रस्तुत निबन्धको शिर्षक हेर्दा नेपाली गद्य कविताका मानक कवि तथा निबन्धकार लामिछानेका सहृदयी मित्र भूपि शेरचनको कविता ‘हामी’ को एक पंक्तिलाई पुष्टि गर्न लिइएको जस्तो लागे पनि वास्तवमा यो निबन्धले निकै गहन अर्थबोध गरेको हामी निबन्ध पढ्दा थाहा पाउन सक्छौं । हाम्रो इतिहास हाम्रै पाइतालाको क्रिया (पदचाप) र प्रतिक्रिया (गोरेटो) को गठजोडबाट निर्माण भएको निबन्धकारको बुझाइ छ । आजका सिमारेखाहरु कोर्न र हाम्रो इतिहासको गोरेटोहरुलाई आज पर्यन्त जोगाइ राख्न हाम्रा यिनै पाइताहरुको त्याग, बलिदान र संघर्षको ठूलो योगदान रहिआएको छ । तर इतिहासको अर्काे कालखण्डमा हाम्रा यिनै पाइतालाहरुको योगदानलाई नजरअन्दाज गर्ने काम भएका छन् । हामी आफैं पनि यत्रा सिमारेखाहरु कोर्ने तथा मेटाउने ल्याकत राख्नेहरु कहिँ कतै हत्केलाका हस्तरेखाहरुमा अल्झँदै अनिश्चित भविष्यको पीडाबाट बढि नै आक्रान्त भइ रहेका छौं । जसले गर्दा इतिहासको सिमारेखा बनाउन हिम्मत गर्ने पाइतालाहरु नै बिस्तारै आफ्नो अस्तित्वलाई भुलेर अर्काेको दासत्वमा रमाउने, हाम्रो इतिहास अरु कसैको पाइतालाको धुलो बन्दा पनि नबुझ्ने र कतिपय अवस्थामा त तिनीहरु कै पाइतालाको धुलो चाट्न पुग्ने जस्तो पो भइरहेका छौं । यसैका कारण हामी जंगली पाषण युगबाट आजको युगसम्मको यात्रा गर्न सक्षम हुँदा हुँदै पनि त्यसभन्दा अगाडी बढ्न र हामी मानव हुनु कै विशेषता कायम राख्न समेत विस्तारै असफल हुन थालेको प्रतित हुने गरेको छ । हाम्रो जीवनको कार्यव्यापारको यही कुरुप चित्रलाई पेश गर्दै निबन्धले सबैमा इतिहासको रेखा कोर्न सक्ने हामी पाइतालाहरुलाई आफ्नो गोरेटोहरु पनि आफैं निर्माण गर्नुपर्ने आवश्यकता माथि पनि प्रकाश पारेको पाइन्छ ।

५.१० औपन्यासिक पात्र–जीवनको पृष्ठभूमिमा

    प्रस्तुत निबन्धले विभिन्न पात्रहरुको प्रयोग मार्फत हरेक साना भन्दा साना घटना र पात्रहरुको पनि सुक्ष्म अध्ययन गर्दा भेटिने वृहत रुपको चर्चा गर्नमा आफ्ना शब्दहरु खर्चेको छ । हरेक साना भन्दा साना घटनाहरु पनि सिंगो उपन्यास जत्तिकै प्रवल वेग र आयातनका साथ उभिएको हुन्छ भन्ने देखाउन लामिछानेले आकर्षक भाषा शैली र सान्दर्भिक जीवन दर्शनको प्रयोग गरेका छन् । माग्न बसेकी अन्धी आइमाई र त्यसको बच्चो, जसलाई लेखकले पाँच पैसाको ढ्याक दान गर्दा तिनीहरुको मुहार उही पाँच पैसाको ढ्याक जत्तिकै प्रतिक्रियाविहिन र चिसो छ, ‘म’ पात्रको छोराको जस्तै स्कुल ड्रेस लगाएको एउटा स्कुले बालक, जसले म पात्रको क्युरियो पसलमा सामान किनेर म पात्रको नजरमा कृतज्ञताको पात्र बनेको महशुस गर्दछ, लेखकको एक जना कवि मित्र, जो कविता लेख्न छाडेर पेटको तृप्तीका लागि मास्टरी गर्न थालेको छ अनि एक जना फुच्ची केटी, जो पानी परेको बखत निबन्धको ‘म’ पात्रलाई आफ्नो वास्तै नगरी आफुँले ओडिरहेको छाता दिन खोजिरहेकी थिई लाई देखाएर निबन्धकारले हरेक साना भन्दा साना घटनाहरुको विशिष्ट रुपको चर्चा गरेका छन् । यसरी हेर्दा मानिसको जीवनका हरेक घटनाहरु र जीवनसँग जोडिएका हरेक पात्रहरु अनि हाम्रो जीवनको पृष्ठभूमि स्वयंमा उपन्यासका विविध पाटोहरु हुन् भन्दै लेखकले सबै घटनाहरुलाई यसको विराट रुप देखाउन अपेक्षित सफलता हात पारेको पाइन्छ । सायद निबन्धकारले हाम्रो जिन्दगीका हरेक घटनाहरुलाई उपन्यास करार गरेर हाम्रो जिन्दगीलाई इन्साइक्लोपेडिया पो भन्न खोजेका थिए कि ?

६. कृतिका विशेषताहरु

    उत्कृष्ट लेखकको सर्वाेत्कृष्ट निबन्ध संग्रह हुनुका नाताले कृतिले जरुर केही नयाँपन र नौलो स्वाद दिएको छ । एब्स्ट्रयाक्ट चिन्तन प्याजलाई काटेर समालोचनाको तेलमा फुराउँदा निम्न बमोजिम विशेषताहरुको सुगन्ध प्राप्त हुन आएको छ ।

६.१ नविन शैली

    प्रस्तुत निबन्ध संग्रहका निबन्धहरुमा वस्तु, शिल्प, चिन्तन र प्रस्तुतिकरणको आलोकमा नविनता प्रत्यक्ष महशुस गर्न पाइन्छ । जटिल जस्ता लाग्ने विषयवस्तुलाई घटना प्रसंगसँग निकै सहजता पूर्वक जोडेर मोहक शैलीमा प्रस्तु गर्ने निबन्धकारको खुबी प्रशंसनिय नै मान्नु पर्छ । हरेक प्रसंगमा कत्ति पनि नहडबडाइकन आफ्नै गतिमा निबन्ध बगेको देखिनु र नविन शिल्पको आविष्कार गर्न सक्षमता प्रदर्शन गर्नुले नै उनका निबन्धहरु आजसम्म बाँचिरहेका हुन् । कविता जस्तो सलल बगेको भाषाको मिठास, आवश्यक ठाउँमा कवितांश र भनाईहरुको समुचित मिलन र ठिक ठाउँमा ठिक शब्द, विम्ब तथा प्रतिकको प्रयोग आदिले पनि प्रस्तुत कृतिको गरिमा उचोँ बनाउन थप भूमिका खेलेको छ ।

६.२ आत्मपरक लेखनी

    शंकर लामिछाने मुलतः आत्मपरक निबन्ध लेख्न रुचाउने स्रष्टा हुन् । जीवनको पूर्वाद्ध  र उत्तरार्धमा केही बस्तुपरक निबन्धमा हात हाले पनि उनको क्षमता आत्मपरक निबन्धमा नै छर्लङ्ग हुने गरेको छ । ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’को प्रकाशन उनको निबन्धकारिताको मध्य विन्दु र सर्वाधिक सफल समय भएका नाताले पनि हामी उनका निबन्धहरुमा लेखकको उपस्थिती कहिँ न कहिँ खोजी गरिरहेका हुन्छौं । आफ्नो अनुभव र अध्ययनको कसीमा राखेर कुनै पनि विषयवस्तुमा स्पष्ट प्रहार गर्नमा उनका निबन्ध सर्वाधिक सफल मानिन्छन् ।

६.३ शिर्षकको सार्थकता

    शिर्षक चयन धेरै साहित्यकारहरुका लागि टाउको दुखाई कै विषयवस्तु हुने गरेको छ । शिर्षक छनौट कलाको विकास गर्न नसक्दा एकथरि विषयवस्तुमा लेखिएको रचनाका पाठकहरुले शिर्षक पढेरै विकर्षित हुने मनोरोगबाट शंकर लामिछानेका निबन्धहरु जोगिएका छन् । उनका अधिकांश निबन्धका शिर्षकहरु निबन्धको शैली जस्तै नविन र लोभ्याउने पाराका छन् तर त्यसले निबन्धलाई भने कुनै पनि कोणबाट अन्याय गरेको छैन । बरु निबन्धलाई कसिलो डोरीले बाँधेर राखेका जस्ता शिर्षकहरु जुराउन लामिछानेले सफलता नै हाँसिल गरेका छन् ।

६.४ विषयवस्तुको गहिराई तथा विविधता

    अध्ययनशिल तथा चिन्तनशिल व्यक्तित्व, सानै देखि विद्वान व्यक्तित्वहरुसँगको सरसंगत र जिन्दगीका अनेक आरोह अवरोहहरुका कारण शंकर लामिछानेले जुनसुकै विषयवस्तुमा पनि निबन्ध निसङ्कोच लेख्न सक्छ र त्यो निबन्धले विषयवस्तुको गहिराईसम्म पुगेकै हुन्छ भन्ने मान्यता हाल उनका प्रशंसकहरुलाई परिसेको हुनुपर्छ । होइन भने जीवनदर्शनदेखि साहित्य विकृतिसम्म, संगितको शक्तिदेखि देउताको भक्तिसम्म र वैज्ञानिक खोजका विषयवस्तुदेखि कलाका विविध पाटोसम्मलाई एउटै निबन्धकारले एउटै कालखण्डमा लेखेर एउटै संग्रहमा समावेश गर्ने हिम्मतलाई कसरी कम आँक्न सकिन्छ र ?

६.५ पात्र, संवाद तथा वातावरणको उत्कृष्ट मेल

    अधिकांश निबन्धहरुमा पात्र, संवाद र यी पात्रहरु खेल्ने यथोचित वातावरणको निर्माण गर्नमा माहिर मानिन्छन्, शंकर लामिछाने । त्यसो त यस्ता कुरा गर्दा कथा वा उपन्यासमा जस्तो किन यी तत्वहरुको आवश्यकता परेको होला भन्ने पनि प्रश्न आउन सक्छ, तर अन्य निबन्धभन्दा लामिछानेको निबन्ध यही अर्थमा फरक हो भन्ने पनि बुझ्न जरुरी छ । प्रस्तुत निबन्ध संग्रहमा पनि अधिकांश निबन्ध संग्रहमा ‘म’ पात्र, एक पात्र, जोडी पात्र वा बहुपात्रको प्रयोग गरिएको छ । केही निबन्धको शुरुवात नै संवादबाट गरिएको छ भने केही निबन्धलाई संवादले अगाडी धकेलेको छ । साथ साथै यि पात्रहरुको उपस्थिती महशुस गराउने उपयुक्त वातावरण पनि लेखकले बनाइदिएका छन्, जसले गर्दा पाठकले निबन्धलाई सहजतापूर्वक लिन सक्छन् ।

७. संग्रहका सिमितताहरु

    विभिन्न कोणबाट हेर्दा प्रस्तुत निबन्ध संग्रह सुनकै मुकुट लगाएको जस्तो गरी टल्किए पनि वास्तविकता त्यो भन्दा फरक रुपमा पनि आउन सक्छ । वास्तवमा यो संग्रह निम्न कारणले स्लो पोइजन(मन्द विष) बन्ने खतरा पनि उत्तिकै छ ।

७.१ निस्सारतावादी चिन्तन

    निबन्ध संग्रह भित्रका अधिकांश निबन्धहरुले मानिसको जीवनको र जगतको सारहीनता र विशेषतः अध्याँरा पाटोलाई मात्र खोतलेको छ । समाज, देश र जीवनदेखि विरक्त भएर लेखिएको सुसाइड नोटको झल्को आउने यी निबन्धहरु पढेर कसैले के प्राप्त गर्ला भन्ने प्रश्नलाई हामी कुनै पनि कोणबाट नाजायज मान्न सक्दैनौं । समाजको एकपाखे चिन्तनले हामीलाई ठिक ठाउँमा पु¥याउँदैन, त्यसकारण यी निबन्धहरु जति रसिला छन्,  त्यति भरिला भने अवश्य पनि हुन सकेका छैनन् ।


७.२ अहम्तावादी लेखनी

    आत्मपरक निबन्धकारका रुपमा शंकर लामिछानेका निबन्धहरुमा ‘म’ पात्रको प्रधानता हुनु अस्वाभाविक त होइन तर उनका निबन्धमा उनको ‘स्व’ ले सिमा नै नाघेर ‘अहम्’ तर्फ पनि अगाडी बढेको भान पाठकहरुलाई नपर्ला भन्न सकिन्न । यस अर्थमा उनको लेखनीका आधारमा उनलाई घमण्डी, एकलकाँटे र जिद्दी भन्ने आरोप नलाग्ला भनेर भन्न सकिन्न ।


७.३ क्लिष्ट भाषा र भाव

त्यसो त विविध विषयवस्तुको ज्ञान हुनुका नाताले शंकर लामिछाने ति सबै विषयवस्तुमा लेखनी गर्न सक्नु उनको खुबीको कुरा हुन सक्छ र उनी आफैंले आफु आजको मान्छे नभइ अबको हजार वर्ष पछाडी जन्मने मान्छे भनेर पनि ‘एब्स्ट्रयाक चिन्तन : प्याज’ निबन्ध मार्फत घोषणा पनि गरेका पनि थिए । तर पाठकहरुको खुबी त्यस अनुरुप विकास नभएको पनि हुन सक्छ भन्ने कुरा भने लामिछानेले बुझ्न जरुरी छ । उनका निबन्धहरुमा प्रयोग हुने क्लिष्ट शब्दहरु र शैलीलाई बुझ्नु आम पाठकका लागि फलामको चिउरा चपाउनु सरह हुन सक्ने सम्भावनको प्रवलता पनि अत्याधिक छ । उनको निबन्ध विश्वविद्यालय प्राध्यापकहरु र विदेशी भाषाका अनुवाद पाठकहरुका लागि मात्र हो कि नेपाली आम पाठकहरुका लागि पनि हो भन्ने प्रश्न जरुर उठ्ने छ । एउटै निबन्धमा विज्ञान, दर्शन, कला, साहित्य, समाज आदिका गैरबोध्य शब्दहरुको प्रयोग तथा अंग्रेजी शब्दहरुको सहज प्रयोगले पाठकलाई भने असहजता थपेको प्रष्ट छ ।

८. निश्कर्ष

    शंकर लामिछाने यो निबन्ध संग्रह मार्फत नेपाली निबन्ध साहित्यमा नौलो कथ्य र शैलीका साथ उदाए र त्यसले अत्याधिक सफलता पनि प्राप्त ग¥यो । यो नौलो प्रयोगमा असफलताको पनि उत्तिकै खतरा थियो तर पनि यो खतरा मोल्ने जुन सहास उनले गरे, त्यसलाई पनि सलाम गर्नै पर्छ । साथ साथै उनको निबन्ध र विशेषतः यही संग्रहमा संग्रहित निबन्धहरु आज साँढे चार दशक पछाडीसम्म पनि मानक निबन्धका रुपमा रहनु पनि यो निबन्ध संग्रहको सफलता नै मान्नुपर्छ । तथापी कलात्मक तथा सुन्दर सुलोलित भाषा, शैली तथा शिल्पको प्रयोग गर्दा गर्दै पनि विषयवस्तको चयनमा भने लामिछानेलाई हामीले पुनर्विचार गर्नै पर्छ । उनका निबन्धहरुहरुले कतै हामीलाई स्लो पोइजन दिँदै आत्महत्या तर्फ प्रेरित त गर्दै छैन भन्ने प्रसंगलाई पनि नकार्न सकिन्न । त्यसकारण यो निबन्ध संग्रहलाई पाठकिय मूल्यांकन गर्दा सुन्दर फूल फुलेको मरुभूमिको हरियो सिउँडीको रुपमा मैले पाएको छु, जसले मरुभूमिका बिचमा आफ्नो अलग पहिचान र शितलता त प्रदान गरिरहेको त छ तर त्यसको शरिर भरि फैलिएका काँडाहरुका कारण मरुभूमिको प्यास मेटाउन त्यसको प्रयोग गर्ने चातुर्यता भने जान्ने पर्ने हुन्छ । होइन भने मरुभूमिमा सुन्दर फूल टिप्ने वा लागेको प्यास मेट्ने बहानामा आफ्नै क्षति बढि पनि हुन सक्छ ।

प्रतिक्रियाका लागिः

subash.malla@gmail.com

सन्दर्भ सामाग्रीहरु:

शेरचन, रोशन– शंकर रिभिजिटेड, नेपाल, २०६९ भाद्र १०(अंक ५१०)
गौतम, ध्रुवचन्द्र– अभिभावक शंकर दाइ, नेपाल, २०६९ मंसिर २४(अंक ५२३)
काफ्ले, चुडामणि– एब्स्ट्रायक्ट चिन्तन प्याजको अमूर्ततामा लामिछाने, मधुपर्क, २०६६ जेठ
कुँवर, उत्तम– संघर्ष मेरो जीवन.....: शकर लामिछाने, स्रष्टा र साहित्य, उत्तम कुँवर स्मारक पुरस्कार गुठी, पृ. २०५–२१७
एटम, नेत्र– निबन्धमा शंकर लामिछानेको विम्ब, मधुपर्क, २०६७ जेठ
गिरी, महेन्द्रप्रसाद– साहित्यकार शंकर लामिछानेको जीवन र व्यक्तित्वको अध्ययन(अप्रकाशित स्नातकोत्तर शोध पत्र, त्रिविवि), २०३५
दिक्षित, कमलमणि– शंकरको हाँसो, अन्नपूर्ण पोष्ट, २०६८ माघ ७
नेपाल, डा. शैलेन्द्र प्रकाश– नेपाली आत्मपरक निबन्धको विश्लेषण, मधुपर्क, २०६७ जेठ
ओझा, डा. रामनाथ– शंकर लामिछानेको निबन्धकारिता, पालुवा प्रकाशन प्रा. ली. , २०६४, काठमाडौं
दाहाल, लक्ष्मण– एब्स्ट्रयाक्ट चिन्तन : प्याज निबन्ध संग्रहको कृतिपरक अध्ययन(अप्रकाशित स्नातकोत्तर शोध पत्र, त्रिविवि), २०६०
सुकुम, शर्मा– नेपाली निबन्धमा आत्मपरकताको सन्दर्भ, मधुपर्क, २०६७ जेठ
सुवेदी, राजेन्द्र– केही समीक्षण केही विश्लेषण, साझा प्रकाशन, २०४९, ललितपुर
सुवेदी, राजेन्द्र (सं)– आधुनिक नेपाली निबन्ध र अन्य विधा(भाग १), साझा प्रकाशन, २०६७, ललितपुर
सायमी, प्रकाश– शंकर लामिछाने व्यक्ति र अतीत, गरिमा, २०६२ चैत्र
सायमी, प्रकाश– शंकर : आत्मगाथाको प्रतिध्वनि, मधुपर्क, २०६७ जेठ
सायमी, प्रकाश– शंकर : आत्मकथाको प्रतिध्वनि, बर्सादी दिनहरु(दो. सं.), रत्न पुस्तक भण्डार, काठमाडौं(पृ ७९–९०)
प्रकाश सायमीका फेसबुक वाल पोष्टहरु
http://www.samakalinsahitya.com/
http://shankarsmriti.blogspot.com/
http://wikipedia.com/
Read more ...