नेपाली माटोका हो चि मिन्ह - एकदेव आले | Subash Malla

Tuesday, May 20, 2014
भियतनामी क्रान्तिका पिता साधु नेता हो चि मिन्हले क्रान्तिकारी नैतिकताको बारेमा लेखेका थिए,“.....(क्रान्तिकारीहरुले) अरुले भन्दा पहिले कामको चिन्ता गर्नु र अरुले भन्दा पछि आनन्दको पर्वाह गर्नु ।” यो कुरा उनले कोरा सिद्धान्तको रुपमा मात्र लेखेनन्, बरु साम्राज्यवादीहरुको क्रुर पञ्जाबाट भियतनामी जनतालाई मुक्ति दिनका खातिर आफ्नो लामो जीवन क्रान्तिमा बिताउने क्रममा व्यवहारमा उतारेरै देखाए । त्यसैले त भियतनाम एक पछि अर्काे गर्दै फ्रान्सेली, जापानी र अमेरिकी साम्राज्यवादको चिहान खन्न सक्षम भयो । आफूलाई विश्व महाशक्ति ठान्ने अमेरिकाको निधारमा भियतनामी युद्ध लज्जास्पद पराजयको कालो टिका बनेर आजपर्यन्त रहिरहेको छ । अमेरिकी साम्राज्यवादले खर्च गरेको २०० अर्ब डलर र ६७ लाख टन बमको बदलामा उसले आफ्नो ७५ हजार Dirty Yankees (डर्टी यांकिज, अमेरिकी सेनालाई घृणाको भाषामा गरिने सम्बोधन) लाई चिहान बनाएर भियतनाम छाड्न बाध्य भयो, जबकी उसले दोस्रो विश्वयुद्धमा जर्मनीको भूमिमा गरिएको बमवर्षाको तुलनामा (२७ टन) त्यो करिब तिन गुणा बढि थियो । त्यसैले त स्वतन्त्र भियतनामको मुहार देख्न नपाई कमरेड हो चि मिन्हको निधन भए पनि आजपर्यन्त उनी भियतनामी जनताको बिच मायालु काका होको रुपमा जीवित छन् । 

काका हो कै समाकालिन कालमा नेपालले साम्राज्यवादी पराधिनता त स्विकार गर्नु परेन, यद्दपी नेपालीहरुले एक पछि अर्काे सामन्ती पराधिनता र उत्पीडनको लामो श्रृङ्खला सामना गरे, जसको अवशेषहरु हाम्रो भूमीमा आजपर्यन्त बाँकी छन् । यो सामन्ती तथा अर्ध औपनिवेशिक जालोलाई च्यात्ने अविरल मुक्ति संघर्षमा आफु बाँचुञ्जेलको समय लगानी गर्ने नेपाली क्रान्तीका अथक योद्धाको नाम हो कमरेड एकदेव आले ।

एकदेव आले नेपाली क्रान्तिका संघर्षमय दिनहरुमा पातलो ज्यान र बाक्लो साहस लिएर जीवनभर लडेको योद्धाको नाम हो । त्यस्तै एकदेव आले चमात्कारिक उपन्यासको पात्रले जस्तै असम्भवलाई सम्भव बनाउने नायकको नाम पनि हो । तर सँगसँगै यो विडम्बनालाई पनि भुल्न सकिन्न कि एकदेव आले नेपाली राजनैतिक इतिहासको त्यो पात्रको नाम पनि हो, जो आफ्नो संघर्षका कथाहरुलाई सत्ता र भत्ताको एटिएम कार्डको रुपमा प्रयोग गर्ने उनका समाकालिन तथा अनुज नेताहरुको सम्झनाबाट हराइरहेका छन् । 

तर इतिहास एकादुई मान्छेले बिर्सेर कहाँ मेटिन्छ ? कमरेड एकदेव आले आज पनि जिउँदै छन् गण्डकी प्रदेशका जनताहरुको मुटुमा, जहाँ उनले सामन्ती कालरात्रीमा स्वतन्त्रताको सलाई कोरेका थिए । न त बिर्सेका छन्, उनका समाकालिन भारतका प्रवासी नेपालीहरुले, जसलाई उनले बाँच्नुको साँचो अर्थ र औचित्य सिकाएका थिए । आज अन्धकार कालरात्रीमा कोरिएको त्यही सलाई नेपाली जनक्रान्तिको मशाल बनेर उभिएको छ, जसको जगमा लोकतान्त्रिक गणतन्त्र नेपालको दीपावली गर्न सम्भव भएको छ ।

जन्म र प्रारम्भिक जीवन
कमरेड एकदेव आलेको जन्म तनहुँ जिल्लाको मानौँको डाँडामा वि. सं. १९८० मा एक गरिब किसान परिवारमा भएको थियो । उनको बाल्यकाल गाईबस्तु चराउँदै र खेतबारीमा काम गर्दैमा बित्यो । मगर परिवारको पुरुष हुनुका नाताले किशोरकालमा उनी पनि अंग्रेज गोर्खा भौजमा भर्ति भएर भारत गोरखपुर पुगे । त्यसबेला दोस्रो विश्वयुद्धको कालो बादलले विश्व ढाकेको थियो, जहाँ आफ्नो कलिलो उमेरलाई होम्न उनी बाध्य भए । यद्दपी उनी नेताजी सुभाषचन्द्र बोसको हिन्द आजाद फौजबाट प्रभावित भई अंग्रेज साम्राज्यवादको खिलाफ जागिर र ज्यानको पर्वाह नगरी मोर्चा कस्न थाले । दास्रो विश्वयुद्ध सकियो र भारत पनि स्वतन्त्र भयो । भारतमा स्वतन्त्रताको पाठ पढेर आएका उनी नेपाल आमालाई पनि राणा शासनको निरङ्कुशताको जञ्जिरबाट मुक्त गर्ने अभियानमा आफुलाई होम्ने प्रण सहित नेपाल फर्के ।

राणाविरोधी मोर्चाको अग्रपंक्तिमा
नेपाल फर्केर उनी नेपाली कांग्रेसको मुक्ति सेनामा सामेल भए र विरगञ्ज मोर्चा सम्हाले । विरगञ्ज आक्रमणको सफलता पछि उनी तुरुन्तै आफ्नो जन्मभूमिलाई स्वतन्त्रता दिलाउन तनहुँ आए र तत्कालिन सदरमुकाम बन्दिपुरमा आफ्नै नेतृत्वमा धुवाँदार आक्रमण गरे । तनहुँ कब्जा गरिसके पछि उनी राजधानी केन्द्रित मोर्चा सम्हाल्न काठमाडौँ हान्निए तर नेपाली काँग्रेसका नेताहरुले राणा र राजासँग दिल्लीमा जनघाती दिल्ली सम्झौता गरे । मुक्ति सेनालाई निशस्त्र बनाउने र कथित प्रजातन्त्रको घोषणा गर्ने निरस नाटक मञ्चन गरियो । देशभरका मुक्ति सेना र जनताका पक्षपातीहरुले यसलाई अस्विकार गर्दै जनक्रान्ति जारी राखे । कथित प्रजातन्त्रको विरुद्ध डा. के. आई. सिंहले नेतृत्व गरेको रक्षादलमा उनी सामेल भए । तर सिंह पक्राउ परेकाले रक्षा दलको संयोजन गर्दै उनले संघर्ष जारी राखे । सिंहदरबारमा बन्दी बनाइएका रक्षा दलका नेता डा. सिंह लगायतलाई आलेले २००८ माघमा देशको शासन सत्ताको मुकाम सिंहदरबारमा नै आक्रमण गरी मुक्त गराए । तर डा. सिंह यो आन्दोलनलाई थप अगाडी बढाउनुका साटो संघर्षको मैदान छाडेर त्यही रात तिब्बत भागे । यसरी जनताको विद्रोहको एउटा अध्यायको दुःखद अन्त्य भयो । 

प्रथम जेल जीवन 
आन्दोलनको नेताले संघर्षको मैदान छाडे पछि रक्षा दल तथा तत्कालिन सरकार विरोधीहरु माथि व्यापक दमन शुरु भयो । त्यसको शुरुवात एकदेव आले लगायतका नेताहरुको गिरफ्तारीबाट भयो । एकदेव आले आफ्ना ५० जना कार्यकर्ताहरु सहित धादिङ्गबाट पक्राउ परे र केन्द्रिय कारागार काठमाडौँमा कैद गरिए । केन्द्रिय कारागारमा नै उनी सर्वप्रथम कम्युनिष्टहरुको सम्पर्कमा आए र गरिखाने वर्गको दर्शनबाट आकर्षित भई आफ्नो बाँकी जीवन कम्युनिष्ट विचारधाराबाट अगाडी बढाउने प्रण गरे । 

किसान आन्दोलनहरुको नेतृत्व गर्दै
जेलबाट रिहा भए पछि उनले नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा गई सदस्यता लिए । पार्टीले उनलाई गण्डकी अञ्चलमा किसान आन्दोलनलाई संगठित गर्ने अभिभारा सुम्पेर गृह जिल्ला पठायो । २००९ मा तनहुँकै मानौँ फाँटबाट सर्वप्रथम किसान आन्दोलनको उठान गर्ने उद्देश्य सहित त्यहाँको सामन्तहरुले घोडा चराउन प्रयोग गरिरहेको १५०० रोपनी बाँझो जग्गा उनको नेतृत्वमा अखिल नेपाल किसान संघले कब्जा गरेर किसानहरुलाई बाँड्ने काम ग¥यो । त्यो जग्गामा मकै छर्ने क्रममा २०१० मा किसान र सामन्तहरु बिच भिषण झडप भयो र किसानहरुले सामन्तका गुण्डाहरुलाई परास्त गरेर आफ्नो भूमि रक्षा गरे । त्यस पछि प्रहरीले त्यहाँ व्यापक धरपकड ग¥यो र आले सहित ११ जना किसान नेताहरुलाई तिन महिना निर्मम यातना सहित जेल हालियो । जेलभित्र पनि भूमिहिन किसानहरुको भूमि माथिको अधिकारलाई सुनिश्चित गर्नु पर्ने सहितको १६ सुत्रिय मागहरु राखेर उनले आमरण अनशन शुरु गरे । यही आन्दोलनबाट तर्सिएर सरकार मानौँ बेनी पाटनको जग्गा किसानको नाममा गर्न र उनलाई बिना शर्त रिहा गर्न राजी भयो ।

यो आन्दोलनको सफलतासँगै देशभर किसान आन्दोलनले उचाईं प्राप्त ग¥यो । तनहुँको बन्दीपुर, चोक चिसापनी, बैरेनी, डडुवा लगायतका स्थानहरुमा किसानहरुले सामन्तको जग्गा कब्जा गर्ने, जाली तम्सुक पोल्ने तथा किसानहरुलाई मुक्त गर्ने अभियान नै थाले । यो अभियानका क्रममा आलेले कास्की र पाल्पामा समेत किसान आन्दोलनहरुको नेतृत्व गरे ।

किसान आन्दोलनकै क्रममा सरकारले २०१५ सालमा संविधान सभाको निर्वाचन गर्नुको साटो आमनिर्वाचन घोषणा ग¥यो । उनी नेकपाको तर्फबाट तनहुँ क्षेत्र नं. १ को उमेद्वार भए तर नेपाली काँग्रेसका श्रीभद्र शर्मासँग झिनो मतको अन्तरले पराजीत भए ।

पोखरा जेलमा तहल्का
आन्दोलनकै मोर्चामा अग्रपंक्तिमा रहने क्रममा २०१७ सालमा राजा महेन्द्रले निर्दलिय पञ्चायती शासनको सुत्रपात गरे र राजनैतिक दलका नेताहरुलाई पक्राउ गरी जेल हाल्न थाले । कमरेड आले पनि २०१८ वैशाखमा पक्राउ परे र पोखरा जेलमा नजरबन्दमा राखिए । पोखरा जेलमा पनि त्यहाँको अमानविय अवस्थाबाट असन्तुष्ट आलेले जेलका कैदिहरुलाई सरकारका विरुद्ध संगठित गर्न थाले । त्यही समय जेल भित्र एक कम्युनिष्ट क्रान्तिकारी बन्दी कमरेड कृष्णलाल प्रधानको विरामी अवस्थामा उपचार गर्ने तर्फ जेल प्रशासन बेखवर देखियो । जेलको खराब अवस्थामा मृत्युसँग अन्तिम लडाईं लडिरहेको प्रधानको जीवन रक्षाको माग गर्दै जेलभित्र आन्दोलन शुरु भयो । पहिले त जेल प्रशासनले यसलाई पनि खासै वास्ता गरेन तर जब विरामीको अवस्था दिनानुदिन नराम्रो हुन थाल्यो र आन्दोलनले बिस्तारै सरकार विरोधी रुप लिन थाल्यो, तब स्थानिय प्रशासन समेत तात्न थाल्यो । यो आन्दोलनको खबर जब बाहिरसम्म आयो र पत्रपत्रिकासम्म समाचार छापिन थाल्यो, त्यसले पोखरामा एक प्रकारको असन्तोषको परिस्थिती सिर्जना गर्न थाल्यो । जेलभित्रको यही आन्दोलनले गर्दा प्रधानले अन्तिम अवस्थामा उपचार पाए र सम्भावित भिषण आन्दोलनबाट तत्कालिन सत्ताले तत्कालका लागि राहत पायो । 

पाल्पा जेल ब्रेक
पोखरा जेल विद्रोहको नाईके कमरेड एकदेव आले नै भएको ठहर गर्दै प्रशासन उनलाई त्यहाँबाट जेल सरुवा गर्नु पर्ने निश्कर्षमा पुग्यो । कमरेड आलेलाई त्यसको केही महिना पछि पाल्पा जेल सारियो । पाल्पा जेलमा भने उनले नयाँ रणनीति अख्तियार गरे । उनी जेल प्रशासनको माझ छिट्टै लोकप्रिय भई तिनीहरुको विश्वास जित्दै जेलमा आफ्नो प्रभुत्व निर्माण गर्न थाले । यही विश्वासलाई प्रयोग गरी उनी जेल ब्रेकको योजनामा गुप्त रुपमा लागे । २०१८ माघमा आठ ग्रह एक ठाउँ भई ब्रह्मण्ड ध्वस्त हने व्यापक हल्ला भएको मौका पारी उनले भोजको आयोजना गरे र दिउँसो ४ बजे तिर पाल्पा जेल ब्रेक गरी आफ्ना कार्यकर्ताहरुको साथ जंगल पसे । 

नेकपाको तेस्रो महाधिवेशन र विभाजनको श्रृङ्खलाको सुत्रपात
उनी सरासर पार्टीको आधार ईलाकामा गए र पार्टीसँग एकाकार भए । त्यसबेला नेपाल कम्युनिष्ट पार्टी आफ्नो तेस्रो महाधिवेशनको तयारी गर्दै थियो र देश भित्र राजनैतिक गतिबिधीमा प्रतिबन्ध लगाइएकाले सबै नेताहरु बनारसमा जुट्दै थिए । उनी पनि २ महिना पछि बनारस पुगे र महाधिवेशनलाई सम्पन्न गराउन अहोरात्र खटिए । यही महाधिवेशनले कमरेड आलेलाई पार्टीको केन्द्रिय कार्यसमितीमा सर्वसम्मत निर्वाचित ग¥यो । तर विडम्बना यही महाधिवेशन देखिका असन्तुष्टिहरुले गर्दा बिस्तारै पार्टीमा विभाजनका रेखाहरु कोरिन थाले । त्यसको शुरुवात मोहन विक्रम सिंहहरुले पार्टी विभाजन गराएर गरे । विस्तारै पुष्पलाल खेमा र मोहन विक्रम खेमामा पनि एक पछि अर्काे गर्दै विभाजनको अटुट श्रृङ्खला प्रारम्भ भयो, जुन आज उप्रान्त रोकिएको छैन ।

प्रवासी नेपालीहरुको आवाज
टुटफुटको यो क्रममा एकदेव आले पुष्पलालको नेकपामा अडिग भएर बसिरहे र तल्लो तप्काका सुकुम्बासी, मजदुर तथा किसानहरुलाई समेट्दै उनीहरुको सुख दुःखमा हातेमालो गर्दै अगाडी बढिरहे । तेस्रो महाधिवेशन पछि एकदेव आलेले किसान फाँटबाट बिदा लिई गोरखपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर प्रवासी नेपालीहरु माझ पार्टीलाई पु¥याउन थाले । गोरखपुर बसाईको क्रममा उनी प्रवासी नेपालीहरुको पीडालाई समाधानको बाटो दिन तत्पर थिए । उनी कहिले बिरामी प्रवासीको उपचार गराउदैँ हुन्थे त कहिले आफन्त नभएका मृतकहरुको दाहसंस्कार ! सिमानामा लुटिएका नेपालीहरुलाई बाटो खर्च दिएर घर फिर्ता गराउनु वा विद्यार्थीहरुको समस्यालाई समाधान गर्नु, यही उनको दिनचर्या भएको थियो । सँगसँगै ति समयहरुमा पार्टीको आर्थिक स्रोत व्यवस्थापन गर्न गोरखपुरको विशेष भूमिका रहिआएको थियो । यसै बिच २०२५ मा सम्पन्न पार्टीको तेस्रो राष्ट्रिय सम्मेलनले पुनः उनलाई केन्द्रिय समितीमा निर्वाचित ग¥यो ।

प्रेरक व्यक्तित्व
कमरेड एकदेव आलेलाई नजिकबाट चिन्ने र संगत गर्नेहरु उनीबाट अत्यन्त प्रभावित भएको पाइन्छ । काममा अथक क्रियाशिलता, विचारमा अडिग निष्ठा तथा सिद्धान्तमा अविचल आस्था उनको व्यक्तित्वका पर्यायवाची गुणहरु थिए । उनी बिहान सबेरै उठ्थे र श्रमको सम्मान गर्थे । अध्ययन प्रतिको उनको लगावले गर्दा नै एक सामान्य परिवारको अनपढ ठिटो माक्र्सवादको कुशल प्रचारक बन्न सकेका थिए । उनी कम्युनिष्ट भएदेखि बल्ल अध्ययनको महत्व थाहा पाएर कखरा सिक्न थालेका थिए । तर छिटै नेपाली, हिन्दी तथा अंग्रेजी लेख्न र पढ्न सक्षम भइसकेका थिए । उनी माक्र्सवादको सिद्धान्तका ज्ञाता मात्र नभई समाजको खुला पुस्तकको समेत ज्ञाता भएका नाताले उनले दिएको प्रशिक्षणलाई हरेक पुस्ता र तप्काका मानिसहरुले सहजै बुझ्न सक्थे ।

अन्तिम दिनहरु
निरन्तर क्रियाशिलता, असन्तुलित खानपान र अत्यन्त व्यस्त जीवनशैलीका कारण आलेको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रँदै जान थाल्यो । अन्ततः पेटको क्यान्सरका कारण ४५ बर्षको अल्पायु मै भारतको दरभंगा मेडिकल कलेजमा २०२५ माघ १२ गते उपचारको क्रममा उनको दुःखद निधन भयो । क्यान्सरले थलिएर अस्पतालको बेडमा छटपटाइरहेका आलेलाई भेट्न पुगेका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाललाई उनले ‘आफु विदेशी अस्पतालमा होइन स्वदेशी माटोमा लड्दै मर्न चाहेको’ बताएको पुष्पलालले आफ्नो लेखमा उल्लेख गरेका छन् । उनको निधन भएको दिन माघ १२ (जनवरी २६) लाई क. एकदेव आले स्मृति दिवसको रुपमा हरेक वर्ष मनाउने निर्णय नेकपाले गरेको थियो ।

उपसंहार
कमरेड आलेको मृत्युमा नेकपाको केन्द्रिय कार्यालयले विज्ञप्ती प्रकाशित गरी लेखेको थियो, “क. आलेको निधन त्यस समय भयो, जब उहाँको सबैभन्दा बढि आवश्यकता थियो ।” पञ्चायती कालरात्रीको विरुद्ध अथक योद्धाको निधनले पक्कै पनि नेपाली जनताको मुक्तिसंघर्षको अभियानमा गम्भिर क्षति पुगेको थियो । अनौठो संयोग नै मान्नु पर्छ, नेपालमा कमरेड आलेको मृत्युको अर्काे वर्ष भियतनामी जनताले पनि आफ्नो प्रिय काका होलाई गुमाए । यो दुवै क्षणहरु तत् तत् देशका जनताहरुलाई छातिमा विशाल पहाडले किचे जत्तिकै पीडादायक थियो । यद्दपी “हामी साम्राज्यवादको विरुद्ध हजार वर्षसम्म लड्यौँ र आवश्यक परे अझै हजार वर्षसम्म लड्न तयार छौँ” भन्ने काका होको शिक्षालाई ग्रहण गर्दै, शोकलाई शक्तिमा बदलेर भियतनाम काका होको मृत्युको करिब १५ वर्ष पछि सन् १९७५ मा अमेरिकालाई आफ्नो भूमिबाट धपाउन सक्षम भयो । नेपाली जनताहरुले पनि कमरेड आलेको निधनको करिब २१ वर्ष पछि पञ्चायती जनविरोधी सत्तालाई निर्मुल पार्ने उनको ‘जुनुन’ पुरा गरी छाडे । तर उनको समतामुलक समृद्ध समाज निर्माणको सपना हामीले अझै पुरा गर्न सकेका छैनौँ, जुन जिम्मेवारी पुरा गर्ने अभिभारा हाम्रो काँधमा आजसम्म कायम छ ।

राजनैतिक नेतृत्वलाई मात्र दोष दिनुको कुनै अर्थ छैन, कमरेड आलेलाई आजको हाम्रो पुस्ताले समेत बिर्सिरहेको छ र यो उनको योगदान प्रति सबैभन्दा ठूलो अपमान हो । पुष्पलाल स्मृति प्रतिष्ठानले हरेक वर्ष उनको स्मृति दिवश मनाइरहेको छ र उनको तिसौँ स्मृति दिवशमा उनको जीवनी र सम्झनाहरु समेटेर एउटा ग्रन्थ समेत प्रकाशित गरेको छ । ‘जनवादी आन्दोलनका महान सेनानी’ नामक यो ग्रन्थमा आलेको जीवनीबारे संक्षिप्त चर्चा पाउन सकिए पनि एउटा लेख अर्काेसँग बाँझिने खालको भएकाले पाठकहरुमा झनै दुविधा हुन सक्छ । उनको गृह जिल्ला तनहुँको सदरमुकाम दमौलीमा अखिल नेपाल किसान संघले उनको अर्धकदको शालिक सहितको पार्क निर्माण गरेको छ । सरकारले हालै उनको तस्विर अंकित हुलाक टिकट समेत प्रकाशित गरेको छ भने तनहुँमा नै स्थानिय स्तरमा उनको नाममा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान स्थापना गरिएको छ । यद्दपी आर्थिक अभावमा यसको आफ्नै भविष्यका बारेमा कसले चिन्तन गरिदिनु पर्ने हो भन्ने अवस्थामा प्रतिष्ठान पुगेको छ । तनहुँ जिविसको नाममा रहेको सरकारी जग्गा कब्जा गरेर कार्यालय भवन बनाउन थाले पछि प्रतिष्ठान झनै विवादित बनेको छ । कमरेड आलेको नाममा सरकारी स्तरबाटै प्रतिष्ठान स्थापना गरी उनको जीवनी र दर्शनको खोजी गरेर जनसमक्ष पु¥याउनु पर्ने आवश्यकता महशुस गरिएको छ । त्यो भन्दा बढि उनले देखाएको दृढ आस्थाको बाटोमा अडिग भएर समतामुलक समृद्ध समाज निर्माणमा लाग्नु नै उनी प्रतिको सच्चा श्रृद्धाञ्जली हुनेछ ।

subash.malla@gmail.com
Published on 12th Magh, 2071, Bhangyang(भञ्ज्याङ) National Daily, Damaulai.

No comments:

Post a Comment