रक्सी, राबत र रापिला गजल

Wednesday, June 22, 2011
रक्सी, राबत र रापिला गजल
सुवास मल्ल
पुस्तक चर्चा

कसैले भनेको सुनेथेँ,‘गजलको जन्म सुरा र सुन्दरीबाट हुन्छ ।’ मलाई अब यो मान्यता पुरानो भइसक्यो भन्ने लाग्थ्यो । कारण साहित्यलाई सुरा र सुन्दरी कै वरिपरी घमाउने हो भने त त्यसमा समाजको चित्रण कसरी गर्न सकिन्छ र ? साहित्य त समाजको ऐना भएर पो आउनुपर्छ । सुरा र सुन्दरी मात्र त हाम्रो समाज पक्कै होइन ।
तर जब गजलकार राबतको प्रथम एकल गजल संग्रह ‘यस्तो बेलामा’ हात पर्छ, ति सबै मान्यताहरु भत्कन्छन् । यो गजल संग्रहले सहज जवाफ दिन्छ की गजल नै त्यस्तो चिज हो, जसमा एक साथ सुरा, सुन्दरी र समाज अटाउन सक्छ ।

खै, कसरी सेतालाई काला बनाइदिए
कानुनी रै छन्, लौरोलाई भाला बनाइदिए

रातविरात हिँड्ने जड्याहाको पहिचान गर्न
सरकारले ठाउँठाउँमा नाला बनाइदिए

त्यसो त गजलको शुरुवात ताका यो अरबी दरबारहरुमा राजा महाराजाहरुको मन बहलाउने माध्यमका रुपमा चिनिन्थ्यो । भारत भित्रिँदासम्म यो राजा महाराजाहरुबाट जमिनदार सेँठहरुसम्म झरेको हो । तर नेपालको माटोमा चालिसको दशकमा गजलको पुनर्जागरण हुँदासम्म यो सडक र झुपडीसम्मको आवाज बोल्ने भएको छ । पहिले राजा महाराजाको स्तुतीगान, मद्यपान र सुन्दरीको स्तनमा सीमित गजल अचेल सत्ताको ज्यादती र सुन्दरीको धोकाधडीमा सबैभन्दा बढी लेखिन थालेको छ । जसको निरन्तरताको रुपमा आएको छ, राबतको नयाँ गजल संग्रह ‘यस्तो बेलामा !’

समस्या छ समाधान हुँदैन
यतातिर कसैको ध्यान हुँदैन

ढुड्डगा नहानेसम्म सुन्दै नसुन्ने
लाग्छ सरकारको कान हुँदैन

राबत अर्थात रामबहादुर तामाड्ड, जो जन्मले बर्दियाका हुन्, पालनपोषणले कपिलवस्तुका हुन् अनि साहित्य कर्म तथा अध्ययनको मेलोले गर्दा हाल राजधानीका हुन् । उनी र उनको गजलमण्डली नेपाली गजलमा उदाएदेखी नेपाली गजल नै अर्काे दिशा तर्फ कुदिरहेको छ । गजलकार मनोज न्यौपानेले भनेजस्तै उनका गजलहरुमा अपरम्परित काफियाहरुको सहज र सरल प्रयोगले गजलहरु धारिला बन्न पुगेको छ । उनका गजलहरुमा यो समाजको अव्यवस्था, बेथिती र असमानताको उत्कृष्ट चित्रण छ । आजको यो युगले हामीलाई दिएको शोषण, दमन र उत्पीडनको उपहारले पीडित जनताको भावनाको प्रतिबिम्बका रुपमा उनका गजलहरु देखिएका छन् । शासक र शासितबिचको अन्तरविरोधलाई सुन्दर ढड्डले उनले आफ्ना गजलहरुमा प्रस्तुत गरेका छन् । जनताको हरेक पुस्ता आन्दोलनमा होमिँदा समेत जनताले महसुश गर्न नपाएको परिवर्तनको आशाको बारेमा उनका स्वरहरु मुखरित भएका छन् । तर यी बेथितीको मुकदर्शक मात्र नबनी एक पाइला अगाडी बढेर यिनीहरुको निवारणको लागि समेत आफ्ना शेरहरुलाई खर्चेनु पर्ने आवश्यकता भने संग्रहभरि नै खट्किनै रहन्छ ।

समयले यस्तो–यस्तो चित्र देखाइदियो
नकाब खोली हेर्दा आफ्नै मित्र देखाइदियो
- – -
नुन माग्न आएथेँ सिंहदरबारसँग
सट्टामा ठूल्ठूलो योजना दियो
- – -
सधैँ चीसोमा हुर्किएको बच्चा
आफ्नै घर जलेको देख्दा रमाएछ
- – -
परिवर्तन आयो भन्छन्, खै मैले त–
वर्तमान र विगत छुट्याउन सकिनँ

गजलसंग्रह बाहिरबाट हेर्दा झकिझकाउ छैन । र पनि एकता बुढाथोकीको आवरणकलालाई दोष लगाउने ठाउँ देखिँदैन । पुस्तकमा कुल एकाउन्न थान गजलहरु पढ्न पाइन्छन् र त्यस अनुसार पचहत्तर रुपैँया मूल्य सन्तोषजनक नै मान्नुपर्छ । केही केही ठाउँमा बाहेक व्याकरणीय दृष्टिले पनि खासै कुनै खोट देखिँदैन । सबैभन्दा उत्कृष्ट त यसमा संग्रहित नौलो शैलीका उत्कृष्ट स्वरुपका गजलहरु नै हुन् ।
यद्यपि उनी थुप्रै गजलहरुमा एक पियक्कड जड्याँहाको रुपमा प्रस्तुत भएका छन् । रक्सी, मात, बोतल, भट्टी उनका गजलमा कुनै न कुनै रुपमा घुसेकै छन् । यस्तो लाग्छ उनको गजलको केन्द्रीय पात्र रक्सी हो र रक्सी मात्र हो ।

सरकारले मेरो घरको तलासी लिँदा
एउटा कलम र एउटा बोत्तल पाएछ
- – -
मन्दिर, मस्जिद र गुम्बामा खोजेर हुन्छ !
त्यता तिर हुन्छ ‘राबत’ भट्टी जता छ
- – -
एक्लैले सिड्डै भट्टी रित्याएर गएछ
त्यस्तो मान्छे को थियो ? अनुमान गर्नुहोस्

तर प्रश्न यहीँ नेर उठ्छ, के मानिसको जीवन मातको मात्र हो ? उनका गजलको धेरै जसो अन्त्य मातमा गएर भएको छ । यसले गर्दा उनको शेरहरुले उठाएका गम्भिर प्रसंगहरु पनि पाठकको नजरमा केवल जड्याहाँको बकपत्रजस्तो मात्र हुने भय छ । त्यसै पनि मेडिकल साइन्ससँग नजिक स्रष्टाले मातको पक्ष भन्दा विपक्षमा मत राख्नुपर्ने हो । सँगसँगै यस मामलामा सजग गराउनु पर्नेमा उनको मातपूर्ण गजल कै बढि गुणगान गर्ने अग्रज गजलकार वियोगी बूढाथोकी र उनको यो हर्कतमा मौन बस्ने नेपाली गजलका अभिभावक ज्ञानुबाकर पौडेलले पनि दोषको धेरथोर भागी हुनै पर्ने हो की ?

पुस्तक–यस्तो बेलामा
लेखक–राबत
विधा–गजल
प्रकाशक–साहित्य परिवार, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल,काठमाडौ
मूल्य–रु ७५।–
subash.malla@gmail.com
Published @ Vision Nepal Monthly
http://pallawa.com.np/?p=11595

No comments:

Post a Comment